गोकुलगंगा गाउँपालिकाको पहिलो प्राथमिकता कृषिमा

 शनिबार, कार्तिक १७, २०७५ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले पाँच वर्षमा गोकुलगंगा गाउँपालिकालाई समृद्ध बनाउने बताएका छन् ।
गाउँपालिकालाई समृद्ध बनाउनको लागि गाउँपालिकाले सञ्चालन गर्ने कार्यक्रमहरुलाई पद्धतिमा ल्याएर विकास निर्माणको कामलाई दु्रत गतिमा आगाडि बढाउने अध्यक्ष सुनुवारको भनाई छ ।
गाउँपालिकाले १७ वटा कानूनहरु निर्माण गर्नुका साथै पाँच वर्षे परिकल्पना सहितको योजना निर्माण गरिसकेको छ । पाँच वर्षे परिकल्पना सहितको योजना गाउँ कार्यपालिकाले पास गरेर सोही अनुरुपको काम भइरहेको पनि अध्यक्ष सुनुवारले बताए ।
पाँच वर्षमा सम्पन्न गर्ने गरि गाउँपालिकाले पाँच वर्षे योजना अन्तर्गत शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि आयोजना, पर्यटन लगायतका योजनाहरुलाई स्पष्ट रुपमा लिपिबद्ध गरेर काम थालनी गरिसकिएको पनि सुनुवारले बताए ।
गोकुलगंगा गाउँपालिकाले निर्माण गरेको पाँच वर्षे रणनीतिक योजना अन्तर्गत ९ वटा सडक स्तर उन्नति गर्ने, सबै वडा कार्यालयको सुविधा सम्पन्न भवनहरु निर्माण गर्ने, गोकुलगंगा गाउँपालिकामा अस्पताल स्थानपना गर्ने योजना रहेका छन् ।
त्यसैगरी कृषि क्रान्तिमार्फत गाउँपालिकालाई समृद्ध बनाउने उद्देश्यले १८ वटा कृषि योजनाहरु निर्माण गरि काम सुरु भइरहेको पनि अध्यक्ष सुनुवारको भनाई छ ।
विकास निर्माणको काम अन्तर्गत ७ मिटर चौडाई रहने २३ र २५ किलोमिटरको दुईवटा सडक डिपीआर गरेर बोलपत्र आह्वान गरी सडक निर्माणको काम सुरु भइसकेको अध्यक्ष सुनुवारले बताए ।
गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेको पनि उनले बताए । कृषिलाई आधुनिकीकरण गर्न गाउँपालिका लागिपरेको सुनुवारको भनाई छ । चालू आर्थिक वर्षमा १५ हजार किबीको बिरुवा खरिद गरी रोप्ने योजना सहित सूचना गाउँपालिकाले निकालेको छ ।

प्रतिकृया

Add