आगलागी नियन्त्रण गर्न सचेतना कार्यक्रम

 शनिबार, कार्तिक १७, २०७५ | onlinenews

गम्भीर वि.क.


काठमाडौं–काठमाडौं महानगरपालिकाले आगलागी नियन्त्रण गर्ने उद्देश्यले साप्ताहिक अग्नी विपद् न्यूनिकरण सचेतना कार्यक्रम सुरु गरेको छ ।
काठमाडौं महानगरपालिकामा रहेको जुद्ध वारुण यन्त्र कार्यालयले अग्नि विपद् न्यूनिकरण सचेतना सप्ताहव्यापी कार्यक्रम सुरु गरेको हो ।
अन्य समयमा भन्दा तिहारको बेला आगो तथा बिजुलीको प्रयोग बढी हुने भएकाले विपद्को घटना घट्न सक्ने सम्भावनालाई ध्यानमा राखि सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
सचेतना कार्यक्रमको उद्घाटन समारोहलाई संवोधन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जुनसुकै बेला आगलागी हुनसक्ने भएकाले सधैं सचेत रहनुपर्ने बताए । आगलागीको विपद् बाजा बजाएर आउने होइन, जतिखेर पनि घटना हुन सक्छ शाक्यले भने ।
तिहारको बेला मठमन्दिरमा बालिएका दियोबाट हुलमूलका कारण आगलागी हुन सक्ने भएकाले प्रत्येक वडा र टोलमा आगो नियन्त्रण सचेतना कार्यक्रम गर्नुपर्ने पनि मेयर शाक्यले बताए ।
चाडपर्वका बेला आगो लाग्ने सम्भावना बढी भएकाले सचेतना कार्यक्रम सञ्चालन गरिएको जुद्ध वारुण यन्त्र कार्यालयका संयोजक निलकाजी शाक्यले बताए । ‘बालबालिकाबाटै धेरै आगालागी हुने गरेको उनको भनाई छ । अभिभावकले समेत आफ्नो बालबालिकालाई आगलागी नियन्त्रणका लागि सचेत बनाउनुपर्ने संयोजक शाक्यको भनाई छ ।
तीन वर्षको अवधिमा राजधानीमा आगलागीका ३ सय ७७ वटा घटना भएको पनि उनले बताए । गत वर्ष कार्तिक महिनामात्र आगलागीका २८ घटना भएका थिए ।

प्रतिकृया

Add