खाँडादेवि गाउँपालिकामा सुशासन र पारदर्शीता सहितको सरकार छः तामाङ

 मङ्लबार, पुस ३, २०७५ | onlinenews

खाँडादेवि गाउँपालिका अध्यक्ष प्रेम तामाङसँग गरिएको कुराकानीको सम्पादीत अंश

 खाँडादेवि गाउँपालिकाले आफ्नो गतिविधिलाई कसरी अघि बढाइरहेको छ ?

गएको वर्षमा हामीले स्थानीय सरकार सञ्चालनको लागि पालिकाको कानून, नीति नियम बनायौं । आर्थिक बर्ष २०७५÷०७६ मा जनताको आवश्यकतालाई परिपूर्ति गर्न गाउँसभाले पारित गरेको कार्यक्रमहरु कार्यान्वयनको क्रममा छौं । संघीय सरकारबाट गाउँपालिकाको विकासका लागि चालू आर्थिक बर्षमा ३२ करोड १८ लाख बजेट प्राप्त भएको छ । केन्द्रबाट प्राप्त भएको बजेट र गाउँपालिकाको आफ्नो बजेट सहित चालू आर्थिक बर्षको लागि हामीले ४१ करोड बजेट बिनियोजन गरेका छौं । विनियोजित बजेटको कार्यान्वयनमा गाउँपालिका अगाडि बढेको छ । गाउँपालिकाले निर्माण गरेको योजनाहरुको कार्यान्वयनको लागि गाउँपालिका निरन्तर रुपमा लागिरहेको छ ।

यो त गाउँपालिकाको समग्र कार्यक्रम भयो, वडा स्तरबाट चाँहि के–कस्ता योजनाहरु सञ्चालन भएका छन् ?

गाउँपालिकाको कार्यक्रम पनि वडाको कार्यक्रम हो । वडाको छुट्टै कार्यक्रम छैन । पहिलेको संरचना गाउँ विकास सिमिति, वडा हुँदा छुट्टाछुट्टै कार्यक्रम हुन्थ्यो । अहिले नयाँ संरचना अनुसारको गाउँकार्यपालिका अन्र्तगत कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका यी तीन वटै निकाय गाउँपालिकाको संरचना भित्र पर्दछन् । हामी सिंहदरबारको अधिकार गाउँगाउँमा भनिरहेका छौं । त्यो भनेको हिजो शिंहदरबारबाट गरिने कामहरु आज गाउँपालि, नगरपालिकाबाटै गर्नु हो । हामी त्यही कार्यक्रम कार्यान्वयन गरिरहेका छौं । त्यसकारण गाउँपालिकामा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका छ । सोही अनुरुप हाम्रा कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । अहिले हामी महिनामा ३ पटकसम्म बैठक बस्छौं । बैठकबाट गरेको निर्णयलाई कार्यान्वयन गर्ने भएकाले गाउँपालिका र वडाको कार्यक्रममा खासै फरक छैन । गाउँपालिकामा जे निर्णय भएको छ, त्यो निर्णय वडा तहमा कार्यान्वयन गर्ने हो ।

आन्तरिक करलाई कसरी व्यवस्थापन गर्नुभएको छ ? यस बर्ष र गत बर्षको करको अनुपात के छ ?

गत बर्ष हामीसँग कर सम्वन्धि कानून थिएन । जिल्लाभित्रको सबै कर जिल्ला समन्वय समिति मार्फत् नै लिइन्थ्यो । गाउँपालिकाले कर लिने व्यवस्था थिएन । गत बर्ष प्रदेशको ऐन, कानुन पनि बनिसकेको अवस्था थिएन । स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भए अनुसार प्रदेशको कानून आइसकेपछि मात्रै गाउँपालिकाले कर उठाउन पाउनुपर्ने व्यवस्था थियो । अहिले प्रदेशले ऐन बनाएर हामीलाई पठाएको छ । राजपत्रमा प्रकाशित भएको छ । त्यसकै आधारमा गाउँपालिकाले उठाउनु पाउँने करहरु उठाइरहेका छौं । त्यसकारण गत बर्षको तुलनामा यो बर्ष कर वापत प्राप्त आम्दानीको रकममा समेत बृद्धि छ । र, आन्तरिक कोष पनि राम्रो छ । विशेषगरी तामाकोशी र सुनकोशीेको गिटी, बालुवा र ढुंगा खाँडादेवि गाउँपालिकाको आम्दानीको मुख्य श्रोत हो । चालू आर्थिक बर्षमा त्यस क्षेत्रको गिटी, बालुवा र ढुंगाको लागि ३ करोडको टेण्डर आह्वान भई हाल सम्झौताको प्रक्रियामा छ ।

तपाई गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि नयाँ काम के गर्नुभयो ?

चुनावको बेला जनतासँग तीन वटा कुराको प्रतिबद्धता गरेको थिएँ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकास गरी जनताको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्नेछु । त्यसमा पनि पहिलो प्राथमिकता शिक्षा, दोस्रो स्वास्थ्य र तेस्रोमा कृषि क्षेत्रको विकास गरी गाउँपालिका भित्रको जनताको जीवनस्तर सुधार गर्छु भनि प्रतिबद्धता गरेको थिएँ । हाम्रो चुनावी घोषण–पत्रमा पनि यही बिषय समावेश गरेका थियौं । प्रतिबद्धता अनुसार अहिले शिक्षाको सुधारको नीति, ऐन र नियमावली बनाएर आधारभूत र माध्यमिक तह गाउँपालिका अन्र्तगत सञ्चालन हुने व्यवस्था छ । त्यहि आधारमा शिक्षालाई आधुनिकीकरण गरी गुणस्तरीय शिक्षाको लागि २ वटा मापदण्ड समेत तयार गरेका छौं । धनीले निजी विद्यालयमा पढ्ने र गरीबले सामुदायिक विद्यालयमा पढ्ने दुई खालको शिक्षा प्रणाली छ । त्यसलाई परिवर्तन गरि गाउँपालिकाभित्र एकै खालको शिक्षा प्रणालीको विकास गर्न लागेका छौं । यो १८ महिनाको अवधिमा शिक्षाको गुणस्तरमा केहि परिवर्तन समेत आएको छ । हिजो निजी विद्यालयमा पढ्ने विद्यार्थीहरु आज सामुदायिक विद्यालयमा आउने क्रम बढेको छ । त्यसलाई हामीले शिक्षाको गुणस्तरमा सुधार आएको मानेका छौं । दोस्रो स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्नको लागि प्रत्येक वडाको स्वास्थ्य चौकीलाई आवश्यक बजेट व्यवस्थापन गरेका छौं । कतिपय अपुग कर्मचारी भएको स्वास्थ्य चौकीमा गाउँपालिकाले कर्मचारी थप गरी पठाउने काम भएको छ । मानव स्वास्थ्य सेवामा जनताको कुनै पनि गुनासो छैन । यसलाई हामीले स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति भएको मानेका छौं । त्यस्तै गाउँपालिकामा हामीले अस्पतालको परिकल्पना गरेका छौं । हामीले कृषिलाई व्यवसायिकरण गर्ने, कृषिमा यान्त्रिकीकरण गर्ने, योजना सहित अगाडि बढेका छौं । अहिले कृषिमा पनि केहि विकास भएको छ । यो बर्ष किसानहरुले उत्पादन गरेको वस्तु बिक्री नभएको गुनासो गर्न थालेका छन् । किसानले बिक्री गर्न नसकेको वस्तु गाउँपालिकाले बजारसम्म पु¥याउन सहयोग गर्ने छ । कृषले उत्पादन गरेको बस्तु गाउँपालिकाले बजारसम्म पु¥याउने योजना ल्याएपछि कृषि क्षेत्रमा पनि केहि सुधार आएको छ । अर्को विषय सडक, कच्ची र धुले सडकको कारण गाउँपालिकाभित्र यातायात सञ्चालन गर्न निकै कष्ट थियो । अहिले सडकको स्तरोन्नती गरि निर्धक्क साथ यात्रा गर्न सकिने अवस्थामा पु¥याइएको छ । त्यस्तै उज्यालो खाँडादेवि शीर्षकमा हामीले बजेट बिनियोजन गरेका छौं । यो योजना अन्तर्गत आगामी एक बर्षभित्र गाउँपालिकाको सबै वडाहरुमा बिजुली बत्ति बालिने छ । र, खाँडादेविबासी अध्यारोबाट मुक्त हुनेछन् । सोही योजना अनुरुप अहिले गाउँपालिकाका वडाहरुमा विद्युतिकरणको काम तीब्र गतिमा भइरहेको छ । यसलाई पनि गाउँपालिकाको प्रगति मान्न सकिन्छ ।

विकास निर्माणको काम गर्नका लागि गाउँपालिकाको चुनौति के हो ?

अहिले राज्यको संरचना परिवर्तन भएको छ । नयाँ संविधान अनुसार भूगोल र कानुन पनि हेरफेर भएको छ । तर, हाम्रो सोचमा परिवर्तन आएको छैन । विकास हुनको लागि सोचमा परिवर्तन आउनु अनिवार्य छ । त्यही सोचमा परिवर्तन नआएको कारण विकास निर्माणमा पनि केहि कठिनाई भइरहेको छ । किनभने, हिजो सिंहदरबारबाट हुने काम, कर्तब्य र अधिकार अहिले स्थानीय तहमा आएको छ । संविधानको अधिनमा रहेर गाउँपालिकालाई आवश्यक पर्ने ऐन, कानुनहरु निर्माण गरी जारी गर्न पाइन्छ । तर, हाम्रो सोचमा परिवर्तन नआएको कारण स्थानीय तहमा योजना पार्नका लागि संघका मन्त्रीहरुलाई गुहार्नुपर्छ, केन्द्रका ठूला मान्छेलाई भनेपछि मात्रै योजना पर्छ भन्ने हामीमा कमजोर मानसिकता भएको कारण केही बाधा पुगेको छ । पछिल्लो १८ महिनामा सिंहदरबार यहि रहेछ, हाम्रा आवश्यकता गाउँपालिकाबाटै परिपूर्ति हुने रैछ, भन्ने जनतामा चेतनाको विकास भएको छ । र, योजना माग्नको लागि गाउँपालिकाको कार्यालय र वडा कार्यालयमा जनताहरु योजना सहित आउन थालेका छन् ।

 विकास निर्माण प्रकृयामा जनताको सहभागिता चाँहि कस्तो छ ?

विकास निर्माणको प्रकृयामा सिंगो गाउँपालिका, वडा र स्थानीय जनता एकताबद्ध छन् । खाँडादेवि गाउँपालिकामा ९ वटा वडाहरु छन् । वडा अध्यक्षहरु राजनीतिक रुपबाटै अघि बढिरहेको व्यक्तिहरु भएकाले विकास निर्माणको कामलाई केन्द्रमा राखी योजना निर्माण गरिरहनु भएको छ । जनताको आवश्यकता परिपूर्ति गर्नको लागि चुनावको घोषणा–पत्र अनुसार जनतासँग गरेको प्रतिबद्धता पूरा गर्नेगरी योजना बनाएर वडा अध्यक्ष ज्यूहरु पनि अगाडि बढिरहनु भएको छ । त्यसकारण खाँडादेवि गाउँपालिकाको विकास निर्माणको काम होस् या कार्यपालिकाको निर्णय गाउँसभामा लैजाने क्रममा होस्, वडा अध्यक्षहरुको सहयोगमा सहज रुपमा पारित भई योजना कार्यान्वयनमा समेत सहज भएको छ ।

अहिले सिंहदरबारको अधिकार स्थानीय तहमा आयो भनिन्छ । स्थानीय तहमा सिंहदरबारको अधिकार व्यवहारमा नै आएको हो कि ? नितिमा मात्रै सीमित छ ?

सिंहदरबारको अधिकार स्थानीय तहमा व्यवहारमा नै आएको हो । यो नीतिमा मात्र सिमित छैन । सिंह आयो तर दरबार आएन भन्ने केहि टिप्पणी पनि हुने गरेको छ । स्थानीय तहमा आउने सिंहदरबार भनेको जनताको अधिकार हो । सिंहदरबार भनेकै गाउँपाकिालमा आएको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको अधिकार हो । यो अधिकार स्थानीय तहमा आएको छ ।

गाउँपालिकाले गर्ने विकास निर्माण कार्यको पारदर्शिताको अनुगमन गर्ने कुनै संरचना बनाउनु भएको छ ?

लामो समय स्थानीय निकाय जनप्रतिनीधि बिहीन हुँदा जनताले धेरै दुःख पाएका थिए । राज्य पुनःसंरचनासँगै निर्माण भएको स्थानीय तहमा जनप्रतिनिधि आएको १८ महिना भएको छ । म गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर आइसकेपछि १८ महिनाको अवधिमा जनतालाई खसी बनाउन सकेको छु । जनताले पनि मलाई साथ सहयोग दिनु भएको छ । त्यसमा म पनि खुसी छु । सुशासन सहितको सरकार सञ्चालन गर्न खाँडादेवि गाउँपालिका सफल भएको छ । हिजो राजनीति गर्दा पनि सुशासनको अभियान नै चलाएको व्यक्ति हुँ पनि । गाउँपालिकाको प्रत्येक वडामा सुशासन र पारदर्शिताका कायम गर्नको लागि सबै वडा अध्यक्षहरुलाई मैले निर्देशन दिएको छु । विकास निर्माण र कार्यक्रमको पारदर्शीताको लागि प्रत्येक वडाहरुमा सार्वजनिक सुनुवाई भएको छ । हाम्रो गाउँपालिकाको टिम र ९ वटै वडाका अध्यक्षहरु जवाफदेहि रुपमा प्रस्तुत हुनुभएको छ । यो गाउँपालिकाको महत्वपूर्ण कुरा हो । गाउँपालिकाले वेभसाइट निर्माण गरेको छ । गाउँपालिकाको समग्र गतिविधिलाई वेभसाईटमा हेर्न सकिने व्यवस्था मिलाइएको कुरा पनि म यहाँलाई जानकारी गराउन चाहन्छु । गाउँपालिकाले गर्ने सबै निर्णयहरु हाम्रो वेभसाइट मार्फत सार्वजनिक गर्ने गरेका हुन्छौं । र, जनतालाई पनि हामीले सुनाउने गरेका छौं । हामीले काम गर्दा सूचना बोर्ड राखेर गर्ने गरेका छौं । साथै रेडियो र पत्रपत्रिका मार्फत पनि गाउँपालिकाको योजनाहरु सार्वजनिक गर्ने गरेका छौं । त्यसकारण गाउँपालिकामा सुशासन सहितको सरकार र पारदर्शीता छ भन्ने कुरालाई म दावीका साथ भन्न सक्छु ।

विकास निर्माणको कामका लागि उपभोक्ता समिति गठन गर्दा आफन्तहरुलाई राख्ने र बजेट हिनामिना गर्ने गरेको भन्ने गुनासो धेरै ठाउँबाट आउने गरेको छ । खाँडादेविमा चाँहि के छ ?

जनतासँग अहिले पनि हामी प्रत्येक्ष जोडिएर काम गरिरहेका छौं । हाम्रो गाउँपालिकामा नागरिक बडापत्र छ । प्रत्येक वडाहरुमा पनि जनताले प्रत्यक्ष देख्ने गरी नागरिक बडा पत्र राखेका छौं । स्थानीय सरकारलाई सबल र पारदर्शी बनाउनु पर्छ भन्ने पक्षमा हामी पनि लागेका छौं । उपभोक्ता समिति गठन गर्दा आफन्तलाई राख्ने र मिलेमतोमा बजेट हिनामिना गर्ने जिल्ला विकास समिति हुँदा त्यस्तो भएको थियो । तर अहिले त्यसको अन्त्य भएको छ । जिल्ला विकास समिति र गाँउ विकास समितिको संरचना हुँदा उपभोक्ता समिति गठन भएको र योजना सम्पन्न भएको समेत जनताले थाहा पाउँदैन थिए । त्यो कुराको अहिले अन्त्य भएको छ । हामी सूचना टाँस्छौं । रेडियो र पत्रपत्रिकाबाट पनि सूचना प्रसारण र प्रकाशन गर्छौं । आम भेलाबाट उपभोक्ता समिति गठन गर्छौ । र, विकास निर्माणको काम जनताकै सहभागितामा हुने गरेको छ । त्यसकारण अरुको त म जिम्मा लिन सक्दिन, खाँडादेवि गाउँपालिकामा भने विकास निर्माण र योजनाहरु पारदर्शी रुपमा सञ्चालन भइरहेका छन् ।
त्यसैगरी विशेष कार्यक्रम बनाएर उच्च शिक्षासम्म निःशूल्क गर्नको लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छ । यो बर्ष तालिमहरु गर्ने गरि बजेट विनियोजन भएकोे छ । शिक्षक, प्र.अ र ब्यवस्थापन समितिको अध्यक्षहरुलाई कार्यशाला गोष्ठिका साथै तालिम दिन्छौ । सामुदायिक विद्यालयको पढाईलाई गुणस्तरीय बनाउनको लागि पाठ्यक्रममा सुधार गर्ने, अंगे्रजी माध्यमबाट पढाई सञ्चालन गर्ने र गाउँपालिकामा नमूना विद्यालय सञ्चालको लागि बजेट विनियोजन गरिएको छ । राम्रो पढने विद्यार्थी र राम्रो पढाउने शिक्षकलाई पुरस्कृत गर्नका लागि पनि बजेट विनियोजन गरिएको छ । गुणस्तरीय शिक्षाविना विकास नहुँने भएकाले सुन्दर सभ्य गाउँपालिका बनाउने अभियान सञ्चालन गरेका छौ । शिक्षाविना विकासको अभियानले पूर्णता नपाउँने भएकाले हामीले शिक्षामा बढी जोड दिएका छौं ।

शिक्षालाई गुणस्तरीय बनाउन शैक्षिक ब्यवस्थापनका चौतिकहरु पनि होला, खाँडादेवि गाउँपालिकामा देखिएका शैक्षिक चुनौतीहरु के छन् ?

स्थानीय सरकार सञ्चालन ऐनमा ब्यवस्था भए अनुसार शिक्षा ऐन निमावली बनाएर गाउँसभाबाट पारीत गरेका छौं । निमावलीमा उल्लेख भएअनुसार निर्णय गरेका छांै । शिक्षा ऐनले दिएको अधिकारको आधारमा हामीले गाउँपालिकाको शिक्षा नियम बनाएका छौं । खाडाँदेवि गाउँपालिकामा ६४ वटा विद्यालयहरु छन् । जसमा १२ वटा माध्यमिक र अरु आधारभूत विद्यालय छन् । कसरी गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्छ, त्यसको जिम्मेवारी शिक्षकहरुको काँधमा छ । खाडाँदेवि गाउँपालिकामा २ सय ७५ जना शिक्षक कार्यरत हुनुहुन्छ । शिक्षक सरहरु पनि शिक्षालाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भनेर लाग्नु भएको छ । शिक्षक, अभिभावक ब्यवस्थापन समितिका अध्यक्षहरु वडा र गाउँपालिका मिलेर शिक्षा क्षेत्रमा परिवर्तन ल्याउनका लागि एक मत भए अगाडि बढेका छौं ।

प्रतिकृया

Add