सुनकोशी नदीमा निर्माण गरिएको अवैध कल्भर्ट बन्द गर्न माग गर्दै पर्यटन मन्त्रालयमा उजुरी

खाँडादेवि गाउँपालिकाकै समन्वयमा बनेको हो कल्भर्ट

 सोमवार, माघ ७, २०७५ | onlinenews
Share this

रामेछाप- जिल्लाको खाँडादेवी गाउँपालिका–१ कोथवे र सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकाको मझुवामा पर्ने सुनकोशी नदी थुनि अवैध रुपमा निर्माण गरिएको कल्र्भट बन्द गर्न माग गर्दै स्थानीयहरुले संस्कृति पर्यटन मन्त्रालयमा उजुरी दर्ता गराएका छन् ।
सुनकोसी नदीमा कल्भर्ट निर्माण गरि नदीजन्य बस्तुको दोहन भइरहेको र अवैध रुपमा बालुवा, ढुङ्गा र गिट्टी निकासी गर्ने उद्देश्यले सुनकोशी नदीको धारनै परिवर्तन गराएको स्थानीयको आरोप छ ।
नदीमा अवैध रुपमा हिमपाइप विच्छाई नदीनै थुनेर कल्र्भट निर्माण गरि बालुवा, ढुङ्गा र गिट्टी अवैध रुपमा चोरी निकासी भइरहेको भन्दै स्थानीयले पर्यटन मन्त्रालयमा उजुरी दिएका हुन् ।
यस विषयमा पटक–पटक जानकारी गराउँदा पनि स्थानीय प्रशासनले कुनै चासो नदेखाएकोले मन्त्रालयमा उजुरी दिनुपरेको जल पर्यटन व्यवसायि रमेश योञ्जनले बताए ।
कल्भर्टको कारण काभ्रेपलाञ्चोकको दोलालघाट हुँदै जलयात्रामा निस्कने आन्तरिक तथा बाह्य पर्यटकहरुको यात्रामा समेत अवरोध पुगेको उनले बताए ।
काभ्रेको दोलालघाटबाट सनुकोशी नदी हुँदै आउँने जल पर्यटकहरु कल्भर्ट भएको स्थानमा झरी जल पर्यटनका सामग्रीहरु बोकेर आधा घण्टा पैदल यात्रा गर्नुपर्दा समस्या भएको जल पर्यटकको गुनासो छ ।
“सुनकोशी खाँडादेवी बालुवा प्रशोधन उद्योग”बाट उत्पादीत बालुवा, ढुङ्गा र गिट्टी अन्यत्र लैजाने उद्देश्यले सुनकोशी नदीमा अवैध रुपमा कल्भर्ट निर्माण गरिएको हो ।
नदीको बहाव नै परिवर्तन गरि अप्राकृतिक रुपले नदीको दोहन गर्ने गराउने कार्यमा संलग्नलाई कारबाही गर्नुपर्ने स्थानीयको माग छ ।
सुनकोशी नदीमा रहेको सो कल्भर्ट खाँडादेवि गाउँपालिकाको समन्वयमा निर्माण गरिएको हो । कल्भर्ट एक महिना अघि खाँडादेवि गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले उद्घाटन गरेका थिए ।
कल्भर्ट उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तामाङले कल्भर्टले खाँडादेवि गाउँपालिकाको विकासमा सहयोग पु¥याउने बताउँदै दीगो बनाउन गाउँपालिकाले आर्थिक सहयोग गर्ने बचन दिएका थिए ।
उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष तामाङले कल्भर्ट निर्माण गर्ने भूवन घिमिरेको खुलेर प्रशंसा समेत गरेका थिए । घिमिरेले पनि गाउँपालिका प्रमुखकै समन्वयमा कल्भर्ट निर्माण गरिएको बताएका थिए ।
प्राकृतिक रुपमा बगिरहेको नदीलाई थुनेर हिमपाइप हाल्ने र कल्र्भट निर्माण गर्ने जोसुकै भए पनि कारबाही हुने रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताएका छन् ।
कानुन भन्दामाथि कोही छैन्, कानूनलाई मिच्ने काम कसैले पनि गर्नुहुँदैन कानून विपरीत काम गर्नेलाई कारबाही हुन्छ प्रजिअ शर्माले भने ।
सुनकोशी नदीमा कोसीनै थुनेर अस्थायी कल्भर्ट निर्माण गरिएको भनि केही स्थानीय ब्यक्तिले मौखिक रुपमा जानकारी गराएको पनि प्रजिअ शर्माले बताए ।
प्रजिअ शर्माले अनुगमन गरि नियम विपरीत कल्भर्ट निर्माण गरिएको पाइएमा हटाउने पनि बताएका छन् ।

(समाचार उत्पादक निगरानी समूह)

Share this

प्रतिकृया

Add