खाँडादेवीमा कर्मचारी भर्ना प्रकरण: चोरबाटोबाट कर्मचारी भर्ना गर्नेलाई कारबाही हुने सामान्य प्रशासन मन्त्री पण्डीतको चेतावनी

 बिहिबार, माघ १०, २०७५ | onlinenews
Share this

रामेछाप- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चोरबाटोबाट कर्मचारी भर्ना गर्नेलाई कारबाही गरिने बताए ।
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा अध्यक्ष प्रेमबहादुर तमाङका छोरी, भाइ र परिवारका सदस्य गरी २१ जना बिनाप्रतिस्पर्धा कर्मचारीका रुपमा नियुक्ति भएको समाचार सार्वजनिक भएको विषयमा मन्त्री पण्डितले चोरबाटोबाट कसैले पनि कर्मचारी भर्ना गर्न नपाउने र त्यसो गर्नेहरुलाई दण्डित गरेरै छाड्ने चेतावनी दिएका हुन् ।
रामेछापको निगरानी समूहसँग कुराकानी गर्दै मन्त्री पण्डितले भने–चोरबाटोबाट कसैले पनि कर्मचारी भर्ना गर्न पाइँदैन । गर्नेहरु दण्डित हुन्छन् । मन्त्री पण्डितले गलत प्रक्रियाबाट कर्मचारी भर्ना गर्ने अधिकारीले नै यसको जिम्मेवारी लिनुपर्ने र यस्ता अधिकारीलाई सरकारले कारबाही गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
उनले नियुक्त गरेका कर्मचारीको तलब भत्ता समेत फिर्ता गरिने दाबी गर्दै सरकारले सम्पूर्ण लगानी भर्ना गर्ने व्यक्तिबाट असुलउपर गर्ने चेतावनी समेत दिए ।
सरकारले सम्पूर्ण लगानी भर्ना गर्ने व्यक्तिबाट असुल उपर गर्छ, मन्त्री पण्डीतले भने– प्राविधिक कर्मचारी भर्ना गर्दा अनिवार्य प्रतिस्पर्धा गराउनुपर्ने सरकारको बाध्यात्मक निर्देशन रहेको छ ।
यस विषयमा मन्त्रालयले विज्ञप्ति नै जारी गरिसकेको जानकारी समेत मन्त्री पण्डीतले दिए । रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङका आफ्नै छोरी रमिता तामाङ, भाइ अर्जुन तामाङ, भतिज देवकुमार तामाङ, बहिनीज्वाई श्याम लामा सहित २१ जना कर्मचारी गाउँपालिकामा बिना प्रतिस्पर्धा नियुक्त भएका थिए ।
गाउँपालिकाले भने गाउँपालिकामा नियुक्त भएका कर्मचारीको सबै पदमा एक जना भन्दा बढीको आवेदन नपरेको तर प्रतिस्पर्धाबाट नै कर्मचारी छनौट गरिएको भनि लाज पचाएर आपूm पारदर्शी भएको नाटक गर्दै आएको छ ।
कर्मचारीको लागि आवेदन माग गर्दा एक पदमा एकजनाले मात्रै निवेदन दिएमा ३ पटकसम्म सूचना प्रकाशित गर्नुपर्ने ब्यवस्था भए पनि खाँडादेवि गाउँपालिकाले एक पटक मात्रै कर्मचारी माग गरेको सूचना प्रकाशित गरेको थियो ।
यस विषयमा रामेछापको निगरानी समूहले उत्पादन गरेको समाचार रामेछापका अधिकांश विद्युतीय सञ्चार माध्यम, पत्रपत्रिका र अनलाइनले महत्वका साथ प्रशारण र प्रकाशन गरेपछि खाँडादेवी गाउँपालिकाले गरेको कर्मचारी नियुक्ति शंकाको घेरामा परेको हो ।

(यो समाचार रामेछापको निगरानी समूहले उत्पादन गरेको हो ।)

Share this

प्रतिकृया

Add