तपाई एक्लैले पाँच जनाको जीवन बचाउन सक्नु हुन्छ: डा.पन्थी

 आइतवार, माघ २७, २०७५ | onlinenews
Share this

रामेछाप- हामीसँग स्वास्थ्य सम्वन्धि सामान्य पनि ज्ञान नहुँदा कहिलेकहि अकालमा नै ज्यान गुमाउनु परेका घटनाहरु प्रसस्तै छन् ।
स्वास्थ्य सम्बन्धि प्राथमिक उपचारको ज्ञान भएमा एक जना ब्यक्तिले पाँच जनासम्मलाई बचाउन सकिन्छ । घरेलु उपचारबाटै पनि ज्यान बचाउन सकिने उपाय अपनाउन नजान्दा दिनानुदिन अकालमै ज्यान गुमाउनेको संख्या बढिरहेको बेला हातेमालो अभियान नेपालले एक जनाले पाँच जनालाई बचाउने अभियान सञ्चालन गरिरहेको छ ।


कहिलेकहि खाना खाँदै गर्दा घाटीमा अड्कने, पानी वा झोलिलो पदार्थ पिउँदा सर्केर पनि मानिसले ज्यान गुमाउनु परेको छ । त्यसैगरी हृदयघातको संकेत पाउँदा, चोट लागेर रगत बग्दा, बेहोस हुँदा र अन्तिम चरणको हृदयघात जस्ता आपतकालिन अवस्थामा हामीले सावधानी पूर्वक प्राथमिक उपचार बिधि अपनाउन सकेमा ज्यान बचाउन सकिने चिकित्सकको भनाई छ ।
सोहि कुरालाई मध्यनजर गरी हातेमालो अभियानकी अध्यक्ष तथा तामाकोशी सहकारी अस्पतालमा सेवारत डा.लक्ष्मी पन्थीले रामेछापको सदरमुकाम मन्थलीमा १७ जना ट्राफिक तथा प्रहरी र तीन जना सर्वसाधारणलाई यससम्वन्धि तालिम दिएकी छन् । सामान्य भन्दा सामान्य कारणले मानिसले अकालमा नै ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले आफूले हातेमालो अभियान सञ्चालन गरेको डा.पन्थीको भनाई छ ।
प्रहरी समुदायसँग प्रत्यक्ष जोडिएको सांगठनिक संरचना भएकाले यस्ता तालिम प्रहरीलाई दिंदा प्रभावकारी हुने हुँदा प्रहरीलाई लक्षित गरी तालिम सञ्चालन गरिएको डा.पन्थीले बताइन् ।
डा.पन्थीले तालिमसँगै आपतकालिन अवस्थामा प्राथमिक उपचारको लागि आवश्यक पर्ने १५ हजार रुपैयाँ बराबरको औषधी पनि तालिममा सहभागी प्रहरीलाई वितरण गरेकी छन् ।
तालिममा सहभागी प्रहरी तथा ट्राफिकले प्राथमिक उपचारको बारेमा आवश्यक ज्ञान नहुँदा आफ्नै आँखा अघि ज्यान गुमाएको घटनाको स्मरण गर्दै आगामी दिनमा यस्तो घटना आइपरेमा आपतमा परेका व्यक्तिको ज्यान बचाउन सकिने आशा जागेको तालिममा सहभागी प्रहरीको भनाई छ ।
‘तपाई पाँच जनाको जीवन बचाउन सक्नुहुन्छ’ भन्ने नाराका साथ सञ्चालन गरिएको अभियानले यस अघि पनि रामेछाप लगायतका विभिन्न जिल्लामा तालिम सञ्चालन गरिसकेको डा. पन्थीले बताइन् । यो अभियान निरन्तर जारी रहने पनि डा. पन्थीको भनाई छ ।

Share this

प्रतिकृया

Add