हात्तीपाइलेको औषधी नखानेलाई वडाको सेवाबाट बञ्चित गरिने

 मङ्लबार, फाल्गुन १४, २०७५ | onlinenews

बाँके– बाँकेको होलियामा हात्तीपाइले रोग नियन्त्रणका लागि आगामी फागुन १५ गतेदेखि अभियान सुरु गरिने भएको छ । होलिया स्वास्थ्य चौकीले ९ केन्द्रबाट औषधि सेवनको कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
नवौं चरणमा खुवाउन लागिएको औषधि यसपटक स्वास्थ्यकर्मीले नै खुवाउने होलिया स्वास्थ्य चौकीका इन्चार्ज प्रेम सोमाइले बताए । १५ गते तोकिएको स्थानमा औषधि खुवाइनेछ भने १६ गतेदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने सिअहेब रणबहादुर चन्दले जानकारी दिए ।
विगतमा महिला स्वास्थ्य स्वयमसेविकाबाट औषधि खुवाउने गरिएकोमा अभियानलाई थप प्रभावकारी बनाउन यसपटक स्वास्थ्यकर्मीबाटै औषधि खुवाउने कार्यक्रम बनाइएको हो ।
होलिया स्वाथ्य चौकीले गरेको अन्तरक्रियामा सहभागिहरुले गाँउमा अझै चेतना पुग्न नसकेकोले औषधी खुवाउन समस्या उत्पन्न हुन सक्ने बताएका छन् ।
वडा नं. १ का वडा अध्यक्ष पटेश्वर कुर्मीको अध्यक्षतामा सञ्चालन गरिएको अन्तरक्रिया कार्यक्रममा प्रहरी चौकी होलियका इञ्चार्ज कबिन्द्र कठायतले सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै हात्तीपाइले रोग विरुद्ध औषधि नखाइदिंदा रोग निवारणमा चुनौती बढेको बताए । जनप्रतिनिधिहरुलाई अभियानको अवधीभरी स्वास्थ्यकर्मीसँगै रहेर औषधी खुवाउने कार्यमा सहयोग गरिदिन पनि उनले सुझाव दिए ।
वडा सदस्य शुष्मा यादवले, जान्ने बुझ्नेले नै औषधि नखाइदिंदा रोगको पूर्ण रोकथाममा समस्या भएको बताउदै स्वास्थ्यकर्मी र वडाका प्रतिनिधिहरुको रोहबरमा औषधी खुवाउने बताइन । उनले औषधि खान अटेर गर्नेहरुको नामावली तयार गरी ३ महिनाका लागि वडाबाट प्रदान गर्ने सेवाबाट बन्चीत गर्ने बताइन ।
बाँकेमा ५ लाख ८८ हजार २ सय ७८ जनालाई औषधि खुवाउन ३ सय ६८ स्वास्थ्यकर्मी खटिने सिअहेब जयलाल उपाध्यायले बताए । सोही अनुरुप होलियामा कर्मचारी खटाउने तयारी पुरा भएको पनि उनले बताए ।
होलिया स्वास्थ्य चौकीका इञ्चार्ज सोमाइले हात्तीपाइले रोग लागेमा हातखुट्टा र ग्रन्थी सुन्निने, हाइड्रोसिल हुने, स्तनमा गिर्खा देखिने लगायत समस्या देखिने र समयमै उपचार हुन नसकेमा मानिसमा अपाङ्गता हुने खतरा रहेकोले औषध खान सुझाव दिए ।
वडा अध्यक्ष पटेश्वर कुर्मीले स्वास्थ्यकर्मीबाटै औषधि खुवाउँदा स्थानीयहरु विश्वस्त हुने भएकोले यो अभियान सफल हुने बताए । कार्यक्रममा औषधि खाँदा हुने रियाक्सन औषधिका कारण नभई किटाणुका कारण हुने भएकोले नडराउन अपिल समेत गरिएको छ ।
दीर्घरोगी, गर्भवती तथा ७ दिनको सुत्केरी महिला र २ वर्षमुनिका बालबालिकाबाहेक सबैले यो औषधि सेवन गर्न सकिने बताइएको छ ।

प्रतिकृया

Add