बालुवा उत्खनन् गर्दा खानेपानीको मुहान सुक्यो

 बुधबार, फाल्गुन १५, २०७५ | onlinenews
Share this

रामेछाप– जिल्लाको खाँडादेवि गाउँपालिका–३ डप्खास्थित सुनकोशी नदीको किनारमा बालुवा उत्खनन् गरिएको कारण १ हजार २ सय उपभोक्ताले उपभोग गर्दै आएको खानेपानीको मुहान नै सुकेको छ ।
बालुवा उत्खननको कारण पकरबास भिरपानी पम्पिङ्ग खानेपानी आयोजनाकोे स्टिम नम्बर २ को इनारको पानी सुकेको हो । इनार क्षेत्रमा बालुका उत्खनन गरिएपछि दिनदिनै इनारको पानी सुक्दै गएको पकरबास भिरपानी पम्पिङ्ग खानेपानी आयोजना स्टिम नम्बर २ का अध्यक्ष नेत्र केसीले बताए ।


खानेपानी विभागको सुख्खाग्रस्त क्षेत्र आयोजना अन्तर्गत २२ करोडको लागतमा निर्माण गरिएको सो खानेपानी आयोजना अन्तर्गत खाँड़ादेवी गाउँपालिकाको वड़ा नम्बर ३, ५,र ६ का १ हजार २ सय घरधुरी उपभोक्ताले खानेपानी उपभोग गर्दै आएका थिए ।
बालुवा उत्खनन्को कारण इनारको पानी सुक्दै गएको कुरालाई खाँड़ादेवी गाउँपालिकाको कार्यालय र सम्बन्धित वडा कार्यालयमा जानकारी गराउँदा पनि बेवास्ता गरिएको खानेपानी आयोजना स्टिम नम्बर २ का अध्यक्ष नेत्र केसीले गुनासो गरे ।
्गाउँपालिकाले खानेपानी आयोजनाको बारेमा ख्यालै नगरि बालुका उल्खननेको लागि टेण्डर गरेको उपभोक्ताको भनाई छ । खानेपानीको इनार भएको क्षेत्रमा बालुका उत्खनन् गर्ने कार्य तत्काल रोक्न पनि स्थानीयले गाउँपालिकालाई आग्रह गरेको छ ।
सुनकोशी नदीको सित्खादेखि बेनीसम्मको बालुवा उत्खनन् गर्ने ठेक्का शिवम निर्माण सेवाले पाएको थियो । खानेपानीको इनार क्षेत्रमा बालुवा उत्खनन् गर्दा पानीको स्रोतमा समस्या भएको खाँडादेवि गाउँपालिकाले पनि स्वीकार गरेको छ ।
ठेकेदारले इनार भएको क्षेत्रमा बालुवा निकाल्दा खानेपानीको स्रोतमा समस्या भएकाले समस्या समाधानको लागि गाउँपालिकाले छिट्टै निर्णय लिने खाँडादेवि गाउँपालिकाका प्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

Share this

प्रतिकृया

Add