अभिभावक दिवसमा विद्यार्थीलाई पुरस्कार शिक्षकलाई सम्मान

 आइतवार, चैत्र ३, २०७५ | onlinenews
Share this

रामेछाप: जिल्लाको गोकुलगंगा गाउँपालिका–६ स्थित श्री मध्यमिक विद्यालय फर्पुले विविध कार्यक्रम गरी पाँचौ अभिभावक दिवस भब्यताका मनाएको छ ।
बर्षेनी दिवस मनाउँदै आएको त्यस विद्यालयले यस वर्ष साँस्कृतिक कार्यक्रम सहित विद्यार्थीहरुलाई पुरस्कृत र शिक्षकलाई सम्मानित गरि दिवस मनाएको हो ।
विद्यालयले शैक्षिक सत्र २०७४ मा कक्षागत रुपमा प्रथम, द्धितीय र तृतीय हुने, अनुशासीत एवं विद्यालयमा बढी दिनहाजिर हुने विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
यसैगरी विद्यालयमा बढी हाजिर हुने शिक्षक, एस.ई.ई परीक्षामा बढी सिकाई उपलब्धी गराउने शिक्षक र एस.ई.ई परीक्षामा विद्यालकै सर्वोकृष्ट अंक ३.५५ जी.पी.ए प्राप्त गर्ने विद्यार्थीलाई समेत विद्यालयले प्रसंसा पत्रद्धारा सम्मान गरेको छ ।
सम्मानित हुने शिक्षकद्धय नवराज सुनुवार, शेरमान सुनुवार र विद्यार्थी दिपक खड्का रहेका छन् ।
दिवसकै अवसरमा आफ्ना स्वर्गीय हजुरबुवाको नामबाट विद्यालयलाई नगद सहयोग गर्ने ६ नं. वडा स्वास्थ्य चौकी इञ्चार्ज साजन के.सी समेत सम्मानित भएका छन् ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले शिक्षाको विकास विना आर्थिक, सामाजिक विकास अधुरो हुने हुँदा शिक्षा क्षेत्रमा गाउँपालिकाले विशेष जोड दिने बताए ।
गुणस्तरीय शिक्षाको लागि विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, शिक्षक विद्यार्थी, अभिभावक र जनप्रतिनिधिको सोचमा सुधार आउनुपर्ने पनि उनले बताए ।
यसैगरी विद्यालयका प्रधानाध्यापक राजकुमार खड्काले पहिले ढुंगामाटोको गाह्रोमा पानी चुहिने जस्ताको छानोमुनी बसेर पुराना काठको फर्निचरमा विद्यार्थीलाई पढाएको सम्झँदै अहिले ४ वटा आर.सी.सी विल्डिङमा विज्ञान प्रयोगशाला, सी.सी क्यामेराको निगरानीमा इन्टरनेट सहितको कम्प्युटर कक्षा सञ्चालन गर्ने अवस्थामा विद्यालय पुगेको भन्दै खुसी व्यक्त गरे ।
वि.स २०२२ सालमा स्थापना भई २०५४ सालमा नि.मा.वि र २०६५ सालमा माध्यमिक तह सञ्चालनको अनुमती पाएको सो विद्यालयले २०७० सालको एस.एल.सी को परीक्षाफल निल भएको थियो ।
यो दुःखद घटनाबाट पाठ सिक्दै २०७४ सालसम्म आइपुग्दा एस.ई.ई परीक्षामा एग्रेडसम्म ल्याउन विद्यालय सफल भएको थियो । सोहि वर्ष गाउँपालिकाले कक्षा ८ को परीक्षा लिदा पालिकाकै सवैभन्दा बढी ८६.२० प्रतिशत विद्यार्थी फर्पु माविका पास भएका थिए । यसैगरी कक्षा ५ को वार्षिक परीक्षामा ९२.७ प्रतिशत अंक ल्याई सोहि विद्यालयका अनिश कार्की गाउँपालिकाकै सर्वोकृष्ट भएका थिए ।
विद्यालयलाई यो अवस्थामा ल्याउन सहयोग गर्ने तत्कालिन राजनैतिक दल, अहिलेका जनप्रनिधि, सहयोग गर्ने संघसंस्था, अभिभावक, सहयात्री शिक्षकलाई धन्यवाद दिँदै प्र.अ खड्काले विद्यालयलाई अझै प्रविधिमैत्री बनाई समय सापेक्ष पठनपाठन गरी शिक्षाको गुणस्तरमा वृद्धि गर्दै लैजाने अठोट गरेका छन् ।
विद्यालयमा ३ निमावि, १ जना मा.वि तहको गरी ४ जना राहत र ३ जना प्रा.वि दरबन्दी रहेकोमा हाल विद्यालयमा स्थायी १ जना पनि नहुँदा निजी श्रोतबाट शिक्षक राख्न वाध्य भएको भएको भन्दै निमावि तहमा १ जना र मावि तहमा ४ जना गरी ५ जना शिक्षक अझै अपुग रहेको बताए ।
६ नं. वडा अध्यक्ष चन्द्रबहादुर सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाका निर्वाचित जनप्रतिनिधि, वडाका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, पत्रकार, अन्य विद्यालयका प्र.अ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी एवं अभिभावकको उपस्थिति रहेको थियो ।

Share this

प्रतिकृया

Add