प्रथम रामेछाप महोत्सवबाट नयाँ पाठ सिकेका छौं : रोका

 मङ्लबार, चैत्र १२, २०७५ | onlinenews

रामेछाप जिल्लाको प्रथम कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको बिषयमा सहआयोजक संस्थाका अध्यक्ष सोनु रोकासँग मेलाको बिषयमा गरिएको कुराकानीको सम्पादीत अंशः

प्रश्नः मन्थली नगरपालिकाको आयोजना र तपाईको संस्थाको सहआयोजनामा मन्थलीमा प्रथम रामेछाप कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला चलिरहेको छ । कस्तो हुदैछ मेला ?

हामीले जिल्लामा नै प्रथम पटक आयोजना गरेको १२ दिने व्यापार मेलाको आज आठौं दिन चलिरहेको छ । निश्चय पनि हाम्रो यो जिल्लाकै पहिलो अभ्यास हो । हामीलाई सुरुमा मेला सञ्चालनको लागि अनुभव नभएको कारण केहि प्राविधिक समस्याहरु सिर्जना भएकै हुन् । त्यसको बावजुद पनि हामीले रामेछापको मेला सञ्चालन भएको ८ औं दिन बितिसक्दा पनि सभ्य र भव्यताका साथ सम्पन्न गरिरहेका छौं । हामीलाई मेला सञ्चालनको लागि आवश्यक ज्ञान र अनुभव पनि थिएन । यद्यपि हामीले आयोजना गरेको रामेछापको यस मेलालाई कमीकमजोरी सुधारेर भव्यताका साथ सु–सम्पन्न गर्न लागिरहेकै छौं ।

 हाल मन्थलीमा चलिरहेको ब्यापार मेलाको माहौल समग्रमा कस्तो बन्दै गइरहेको छ ?

मेलाको माहौल दिनप्रतिदिन हामीले सोचेभन्दा राम्रो बन्दै गइरहेको छ । महोत्सवमा हामीले स्थानीय प्रतिभालाई दर्शकमाझ ल्याउन सकेका छौं । त्यस्तै महोत्सबका लागि हामीले राष्ट्रिय स्तरका कलाकारहरुलाई झिकाउन सकेका छौं । रामेछापमा एकपटक पनि आइनपुगेका कलाकारहरुलाई महोत्सवले स्थान दिएको छ । रामेछापले राष्ट्रिय स्तरका कलाकारहरुलाई सम्मान गर्न पाएको छ । कलाकार लगायत रामेछाप महोत्सवको माहौलले दिन प्रतिदिन दर्शकहरुलाई आकर्षित गर्दै गइरहेको छ ।

यहाँहरुले जुन उद्देश्यका साथ रामेछापमा प्रथम पटक महोत्सबको आयोजना गर्नुभएको छ, के महोत्सवले यहाँहरुको उद्देश्य पूरा गरेको छ ?

हाम्रो पनि पहिलो प्रयास भएको कारण महोत्सवले जुन उद्देश्य राखेको थियो, सतप्रतिशत हाम्रो उद्देश्य पूरा भएको छैन । हामीले यस महोत्सवमा “कृषि, पर्यटन प्रर्बद्धन हाम्रो शान; कला संकृतिको जगेर्ना रामेछापको पहिचान” भन्ने मूल नाराका साथ सञ्चालन गरिरहेका छौं । सोचे अनुरुप मेलाको व्यवस्थापन गर्न नसकिए पनि प्रथम पटकको अभ्यास भएका कारण हामीले यसलाई सन्तोषजनक रुपमा लिएका छौं । तर आगामी बर्षहरुमा सञ्चालन गरिने मेलामा हामी यस मेलाबाट पाठ सिकेर सबै क्षेत्रलाई समेटेर सञ्चालन गर्नेछौं ।

मन्थलीमा सञ्चालित मेलाको मुख्य आकर्षण के हो ? मेलामा आउने दर्शकले के हेर्न र मनोरञ्जन लिन सक्छन् ?

यो मेलाका थुप्रै आकर्षणहरु छन् । यस मेलामा मरुभूमिमा मात्र पाईने ऊँटको चामत्कारिक नृत्य, बाल मनोरञ्जनका सामाग्रीहरु छन् । रोटे पिंङ्ग, मौतका कुवा (काठको भित्तामा मोटरसाईकल कुदाउने) जस्ता साहसिक खेल पनि अवलोकन गर्न सकिने छ । जादू खेलको अलवा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति पनि यस मेलाको मुख्य आकर्षण रुपमा रहेका छन् । यसमा पनि हामीले स्थानीय स्तरका कलाकारहरुको कलालाई उच्च प्राथमिकताको साथ स्थान दिएका छौं ।

मेलाको स्टलमा यहाँहरुले स्थानीय उत्पादनहरु राख्नु भएको छ ?

स्थानीय उत्पादनलाई स्टलमा राख्नका लागि हामीले आवश्यक प्रचार प्रसार गरेका छौं । स्थानीय कृषि उत्पादनको लागि प्रतिकूल सिजन भएका कारण हामीले सोचे अनुरुप कृषि उपजहरु स्टलमा राख्न सकेनौं । हामीले किवि तथा जुनार उत्पादन गर्ने कृषकहरुलाई पनि मेलामा उपस्थित हुनको लागि आह्वान गरेका थियौं । तर किविको लागि उपयुक्त सिजन नभएको कारण हामीले स्टलमा राख्न सकेनौं । तर जुनार जसले रामेछापको चिनारी बोकेको छ, हामीले स्टलमा राख्ने व्यवस्था मिलाएका छौं । तर स्टलमा जति कृषकको उत्पादन हुनुपर्ने हो, त्यो मात्रामा हामीले राख्न सकेका छैनौं ।

त्यसो हो भने, जुन उद्देश्यका साथ मेलाको आयोजना गर्नुभएको हो, त्यसै अनुरुप मेला चलिरहेको छ ?

उद्देश्य अनुसार नै मेला चलिरहेको छ । तर हामीले जति दर्शकको अपेक्षा राखेका थियांै । अनुमान गरे अनुरुप दर्शक पाउन सकिरहेका छैनौं । छोटो समयमा हामीले मेला आयोजना गर्ने निर्णय लिएका थियौं । अहिले बल्ल गाउँगाउँमा सुचना पुग्दै छ । मेला अझै पनि ५ दिन चल्ने छ । सोचे अनुरुप दर्शक सहभागि नभए पनि मेलामा दर्शक उपस्थित हुने अपेक्षा लिएका छौं । गाउँगाउँबाट मेलाका लागि दर्शकहरु आउनु पर्ने भएकाले पनि हामीले सोचे अनुरुप नआउनु भएको हो कि? भन्ने लागिरहेको छ ।

 मेला अझै पनि पाँचदिन बाँकी छ, मेला बाँकी हुँदा रामेछाप तथा छिमेकी जिल्लाबासीलाई के भन्न चाहनुहुन्छ ?

जिल्लाबासी तथा छिमेकी जिल्लाबासी सबैलाई म हृदयदेखि नै नमन गर्न चाहन्छु । अहिले रामेछाप जिल्लामा आयोजना गरिएको प्रथम कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा सहभागी बन्नको लागि अपिल गर्न चाहन्छु ।

हामीले रामेछापमा पहिलो सुरुवात गरेका छौं मेलामा सहभागि बनिदिनुस भन्न चाहन्छु । रामेछाप लगायत छिमेकी जिल्ला सिन्धुली र दोलखा जिल्लाबासीलाई पनि मेलामा सहभागी भएर रामेछापको शान बढाइदिनुहोला भन्न चाहन्छु । त्यस्तै रामेछाप जिल्लाको उत्तरी भेकका आम सर्वसाधारणलाई पनि रामेछापको मेलामा सहभागी बनिदिनुहोला भनेर अपिल गर्न चाहन्छु । जानकारीको लागि हामीले सिन्धुली, दोलखा र रामेछापका रेडियोहरुबाट समेत सूचना प्रशारण गरिरहेका छौं । मेला अझै पनि केहि दिन बाँकी भएकोले मेलामा सहभागी भइदिनुहुनको लागि अनुरोध गर्न चाहन्छु ।

  यो औद्योगिक व्यापार मेला कहिले सुरु भयो र कहिले समापन हुँदैछ ?

प्रथम रामेछाप कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला यहि चैत्र महिनाको ५ गते सुरु ग¥र्यौं । सञ्चालित मेला हामी १७ गते समापन गर्नेछौं ।

तपाईहरुले दिनदिनै फरक फरक राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरु झिकाएर प्रस्तुती दिन लगाउनु भएको छ ? कलाकारकै कारण दर्शकहरु मेलामा आउने क्रम बढेको वा घटेको के पाउनु भएको छ ?

कलाकारको कारणले दर्शक बढ्ने घट्ने सामान्यतः त्यसको प्रभाव छँदैछ । त्यो भन्दा बाहेक चाँही सार्वजनिक बिदाको दिन मेलामा आउने दर्शकको संख्या बढेको छ । कार्यक्रममा आउने राष्ट्रिय स्तरका अतिथि कलाकारको नाम हेरेर पनि मेलामा दर्शक आउने गरेका छन् । समग्रमा मेलामा सोचेअनुरुपको संख्यामा दर्शक सहभागि नभए पनि हामीले संख्यात्मक हिसावमा सन्तोषजनक उपस्थिति पाएका छौं ।

आयोजित यस मेलामा यहाँहरुले कति दर्शकको अपेक्षा गर्नुभएको थियो, हाल कतिले मेला अवलोकन गरे ?

हामीले कार्यक्रमको प्रस्तावपत्र तयार गर्दा जिल्लाभित्र तथा बाहिरका गरी १ लाख दर्शक भित्राउँछौं भन्ने अपेक्षा लिएका थियौं । प्रतिकूल समयको बावजुद पनि हालसम्म १८ देखि २० हजार दर्शकले मेलाको अवलोकन गर्नुभएको छ । मेला अझै पनि ५ दिन चल्ने हुँदा २० हजार जति दर्शक अझै मेलाको अवलोकनका लागि आउनु हुनेछ भन्ने अपेक्षा गरेका छौं । अझै पनि राष्ट्रिय स्तरका कलाकारहरु पशुपति शर्मा, ज्योति मगर लगायत रामेछापकै माटोमा जन्मिएका राष्ट्रिय कलाकारहरु आउनै बाँकी छ । त्यसैले अझै पनि ठूलो संख्यामा दर्शकहरुको उपस्थिति हुनेछ भन्नेमा हामी आशावादी छौं ।

आयोजकको हिसाबले यो मेलामा कति खर्च हुने अनुमान गर्नुभएको छ ?

प्रारम्भमा हामीले यस मेलामा साँढे ३६ लाख खर्च हुने अनुमान गरेका थियौं । तर मेला सञ्चालन हुँदै गर्दा साँढे ५६ लाख खर्च हुन सक्ने अनुमान गरेका छौं । तर हामीले मेलाको लागि आवश्यक रकमको उचित व्यवस्थापन गर्न सकिरहेका छैनौं । जिल्लामा पहिलो पटक तामाकोशी नदिमा ¥याफ्टींङ्ग पनि महोत्सवको एउटा आकर्षणको रुपमा सञ्चालन गरेका थियौं । मेलाको पाँचदिनसम्म हामीले ¥याफ्टींङ्ग सञ्चालन ग¥यौं । तर त्यसमा पनि हामीलाई आवश्यक ज्ञान नभएको कारण घाटा ब्यहोर्नु प¥र्यो । तर जस्तोसुकै परिस्थितिको सामना गरेर भए पनि हामीले रामेछापमा महोत्सबको सुरुवात गर्न सकेका छौं । आगामी दिनमा पनि हामी यस प्रकारका कार्यक्रमहरुको आयोजना गर्नेछौं । हाम्रो संस्था लगायत संस्थाको परिवार मेला व्यवस्थापनको लागि हरतरहले लागिरहेका छौं ।

 मेला व्यवस्थापनको लागि आर्थिक स्रोत कसरी व्यवस्थापन गर्नुभएको छ ?

हामीले मेला तयारी गर्दै गर्दा स्रोतको विषयमा पनि छलफल गरेका थियौं। हाम्रो संस्था पनि भर्खरै मात्र बामे सर्दै गरेको संस्था भएको कारण पर्याप्त रकम खर्च गर्न सक्ने अवस्था पनि छैन । यद्यपि हामी संस्थाका पदाधिकारीले समेत मेला सञ्चालनको लागि व्यक्तिगत रकम जुटाएका छौं । मेलामा आउने दर्शकको लागि थोरै पवेश शूल्क समेत राखेका छौं । तर टिकट वापत संकलन भएको रकमले कलाकारलाई समेत दिन पुगेको अवस्था छैन । अहिले कलाकारको लागि दिनुपर्ने रकम समेत हामी आफ्नै खल्तीबाट दिएका छौं । अहिलेसम्म मेला सञ्चालनको लागि कतैबाट पनि आर्थिक संकलन गरेका छैनौं । तर हामीले मन्थली बजारका व्यापारी तथा व्यवसायिलाई आपूmले सकेको सहयोग गर्नको लागि अपिल गरेका छौं । उहाँहरुले दिएको आर्थिक सहयोग धेरथोर नभनीकनै हामीले हात थापेका छौं । तर कसैलाई पनि शर्त राखेर जबरजस्ती गरिएको छैन ।

 प्रदेश सरकार र स्थानीय सरकारबाट मेला सञ्चालनको लागि कति रकम अपेक्षा गर्नु भएको छ ?

हामीले मेलाको लागि आवश्यक लागत सहितको प्रस्तावपत्र प्रदेश सरकारलाई पनि पठाएका छौं । तर प्रदेशबाट हामीले लागत व्यवस्थापनको लागि कुनै पनि आश्वासन पाएका छैनौं । उहाँहरुले मात्र पहिला महोत्सव सकेर आउनुस भन्नु भएको छ । स्थानीय सरकारमा पनि मन्थली नगरपालिकासँग हाम्रो विषेश अपेक्षा रहेको छ । तर रामेछाप जिल्लाका २ वटा नगरपालिका र ६ वटै गाउँपालिकाका अध्यक्ष ज्यूहरुलाई भेटेर हामीले प्रस्तावपत्र पेश गरेका छौं । उहाँहरुले पनि महोत्सवको लागि साझेदारी गर्ने रकमको बिषयमा कुनै पनि जानकारी आएको छैन । हामीले गाउँपालिकाबाट पनि आशा गरेका छौं । निश्चय पनि उहाँहरुले जिल्लामा गरेको प्रथम महोत्सवको लागि आर्थिक साझेदारी गर्नुहुनेछ । रामेछापमा प्रथम पटक यो महोत्सबको आयोजना गरिएको छ । यो जिल्ला कै पहिलो शान हो । हामीले मेलाको लागि लाग्ने अनुमानित लागतमा पनि मन्थलीको स्थानीय व्यापारी, व्यवसायी तथा स्थानीय सरकारबाट १५ देखि २० लाख रुपैंया जुटाउन सकिन्छ कि भन्ने अपेक्षा लिएका छौं ।

आर्थिक स्रोतबिना नै हिम्मतका साथ मेला सञ्चालन गर्नुभएको रहेछ, अव कसरी खर्च व्यवस्थापन गर्नुहुन्छ ?

मैले अघि पनि भनिसँकें, आर्थिक रुपमा हामी अझै पनि घाटामा छौं । तर पनि रामेछापमा पहिलो हिम्मत हामीले गरेका छौं । यसबाट हामीले धेरै सिक्ने अवसर पाएका छौं । मेला सञ्चालनको अवधिमा आयोजकको तर्फबाट धेरै कमी कमजोरी पनि भए होलान । तर हामी आगामी दिनमा यसलाई सुधारेर थप राम्रो गर्ने कोसिस भने निश्चय पनि गर्नेछौं । मेला व्यवस्थापनमा कमी कमाजोरी भएका रहेछन् भने यहाँहरु समक्ष माफी माग्न चाहन्छु र मेलालाई भव्य र सभ्य बनाउन हरेक तह तप्काबाट सहयोग गर्नुहुने सबैप्रति आभार प्रकट गर्न चाहान्छु ।

मेला सञ्चालनमा मुख्य समस्या के हुनेरहेछ ?

मेला सञ्चालन गरिरहँदा स्थानीयहरुलाई फ्रिमा मेलामा जान पाए हुन्थ्यो भन्ने चाहना हुनु स्वभाविक हो । तर त्यसैको कारणले बेला बेलामा झमेला हुने गरेको छ । रामेछाप महोत्सव नै जिल्लामा पहिलो पटक आयोजना गरिएको र मेला व्यवस्थापनमा अभ्यस्त नहुँदा अन्य धेरै समस्याहरु पनि सिर्जजना भए । मन्थलीको हाटेचौरमा सञ्चालन गरिएको मेलामा स्थानीयको लागि फ्रिमा पास मिलाइदिनु पर्छ भन्ने दवाव पनि आयो । हामीले स्थानीयको माग अनुरुप नभई सिमित पासको व्यवस्था पनि मिलाइदिएका छौं । पासकै बिषयमा स्थानीयबाट केहि समस्याहरु आए पनि हामीले त्यो किसिमको समस्यालाई सम्बोधन गरेर मेलालाई भव्य बनाउँदै लगेका छौं ।

 विषेशतः यस प्रकारका कार्यक्रमको आयोजना गर्दा मुख्य समस्या चाँही के हुनेरहेछन् ?

मेला व्यवस्थापनको लागि बिषेशगरी स्थानीय स्तरमा सबै पक्षसँग सम्पर्क र समन्वय हुन जरुरी हुनेरहेछ । त्यस्तै कार्यक्रम स्थलको उचित छनौट पनि प्रमुख बिषय हो । त्यस्तै महोत्सव सञ्चालन गर्ने स्थानमा बिजुली, पानी र उचित पूर्वाधारको उपलब्धता हुनु जरुरी हुने भएकाले यसमा ध्यान पु¥याउन जरुरी हुनेरहेछ । त्यस्तै मेला सञ्चालनको लागि स्थानीय व्यक्ति, संघसंस्था लगायतको भूमिका अग्रणी हुने भएकोले त्यसमा पनि सुक्ष्म तरिकाले ध्यान दिन जरुरी देखियो । त्यस्तै मेला सम्वन्धि सहि सूचना र जानकारी मेला सञ्चालन पूर्व नै सबै क्षेत्रमा पुग्न आवश्यक देखियो । सबैभन्दा महत्वपूर्ण कुरा मेला सञ्चालन गर्ने समय पनि उपयुक्त हुनु जरुरी रहेछ । आगामी बर्षमा पनि महोत्सव सञ्चालन गर्न हामीले प्रस्ताव पत्र तयार गरेका छौं । मैले माथि पनि भेनेको छु । आगामी बर्षका कार्यक्रमका लागि यो बर्ष सञ्चालन गरिएको महोत्सवबाट सिक्दै कमी कमजोरी नदोहो¥याउने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु ।

प्रतिकृया

Add