युवाहरुलाई रोजगारी दिने नाउँमा ठगी धन्दा

 सोमवार, चैत्र १८, २०७५ | onlinenews
Share this

रामेछाप: हाम्रो हात नेपाल प्रा.लि नामक संस्थाले रोजगारीको ग्यारेन्टि गरिदिने भनेर रामेछाप जिल्लाका १७ जना युवाहरुलाई ठगेको छ । प्रा.लि.ले युवाहरुको क्षमता हेरेर मासिक २८ हजारदेखि ३० हजार रुपैयाँसम्मको जागिर ग्यारेन्टि गरिदने भन्दै रामेछापका १७ जना युवाहरुसँग प्रति ब्यक्ति १० हजार रुपैयाँका दरले पैसा उठाएर ठगी गरेको हो ।
युवाहरुले रोजेको विषयमा १५ दिने तालिम दिने र तालिमसँगै रोजगारीको पनि ग्यारेन्टि गरिदिने, यदि रोजगारी नभएमा संस्थाले लिएको पैसा फिर्ता दिने शर्तमा युवाहरुसँग रकम असुली गरेको थियो । तर संस्थाले आफूले चाहेको जस्तो तालिम पनि नदिएको र रोजगारी पनि नदिएको ठगीमा परेका युवा खिलबहादुर थापाले बताए ।
कृषि, बन, इन्स्योरेन्स, बैंक, सञ्चार, होटल ब्यवसाय, ब्यापार लगायतका ९ वटा क्षेत्रमा युवाहरुले रोजे अनुसारको तालिम दिने र सोही अनुसारको रोजगारी दिने आश्वासन दिएर आफूहरुसँग पैसा उठाएको थापाले बताए ।
‘तालिमको लागि भनेर काठमाडौंमा बोलाई काम गर्नको लागि बोल्न सिक्नुपर्छ भन्दै हेलो, नमस्ते, केछ ? यी तीन शब्द साथीहरुको अगाडि उभिएर बोल्न लगाए, केही दिनपछि तालिम सकियो भनेर पठाए उनले भने ।’
शर्तअनुसारको रोजगारीको ग्यारेन्टि गर्नुपर्ने माग गर्दै आपूmहरुले नियुक्ति पत्र समेत मागेपछि चितवनको एक कृषि फर्ममा लगेर अलपत्र छोडिदिएको उनले बताए ।


चितवनको आर्दश एग्रो प्लान्टेशन कम्पनीमा पु¥यार अलपत्र छोडिदिएपछि आफूहरु घर फर्किएको उनले बताए । चितवन पुगेका १७ जना मध्य घर आउदा लाग्ने गाडी भाडा र खाना खर्चको लागि घरबाट पैसा मगाएर ६ जना घर फर्किए पनि अन्य साथीहरुसँग गाडी भाडा समेत नभएको कारण अझै उतै रहेको उनको भनाई छ ।
रोजगारीको लागि भन्दै चितवन जिल्ला पु¥याए हाम्रो हात नेपाल प्रा.लि.रामेछापका संयोजक साम्देन शेर्पा युवाहरुलाई चितवनको एक प्राइभेट फार्ममा छोडेर रातारात फरार भएको अर्का युवा प्रदीप श्रेष्ठले बताए ।
चितवनको आर्दश एग्रो प्लान्टेशन कम्पनीमा अलपत्र छोडिदिएर संस्थाको आधिकारीक ब्यक्ति फरार भएपछि आपूmहरु ठगीमा परेको कुरा थाहा पाएको उनले बताए । हाम्रो हात नेपाल प्रा.लि ले १७ जनालाई नियुक्त पत्र पनि दिएको छ ।


तर नियुक्ति पत्रमा के काम गर्ने भनि उल्लेख गरिएको छैन । दुई वटा नियुक्ति पत्र दिएको छ, एउटा नियुक्त पत्रमा सामाजिक सञ्जाल मार्फत कर्मचारी माग भएअनुसार भनेर लेखिएको छ, काम र तलब उल्लेख गरिएको छैन । अर्को नियुक्ति पत्रमा १४ हजार रुपैयाँ तलब तोकिएको भए पनि काम उल्लेख छैन । नव प्रवद्र्धन सेवा समाज नामक संस्थाको नामबाट दिइएको नियुक्ति पत्रमा हाम्रो हात नेपाल प्रा.लि.का केन्द्रीय अध्यक्ष मेघनाथ गिरीले हस्ताक्षर गरेका छन् ।
चितवनमा मासिक १३ हजार ७ सय रुपैयाँ तलब र दैनिक एक सय रुपैयाँ भत्ताको ब्यवस्था हुने साथै खाने बस्ने ब्यवस्था पनि रोजगारदाता कम्पनीले ब्यहोर्ने आश्वासन दिएर आफूहरुलाई चितवन लगिएको प्रदीप श्रेष्ठले बताए । तर चितवन पु¥याएर संस्थाका संयोजक फरार भएपछि घर आउनको लागि समेत पैसा नभएर घरबाट पैसा मगाएर आएको उनको भनाई छ ।

युवाहरुलाई झुक्याउनु गल्ती भयोः शेर्पा

हाम्रो हात नेपाल प्रा.लि. रामेछाप शाखाका संयोजक साम्देन शेर्पाले युवाहरुलाई झुक्याउनु आफूहरुको गल्ती भएको स्वीकार गरेका छन् । आफूले केन्द्रको निर्देशन अनुसार काम गरेको पनि उनले बताए । संस्थाको केन्द्रीय अध्यक्ष मेघनाथ गिरीले युवाहरुको लागि रोजगारीको ग्यारेन्टि हुन्छ भनेपछि आफूले युवासँग पैसा संकलन गरि पठाएको शेर्पाले बताए ।
यसमा धेरै दोष केन्द्रीय अध्यक्षको भएको उनको भनाई छ । जिल्ला शाखाको तर्फबाट आपूmले पनि गल्ती गरेको स्वीकार गर्दै आपूmले गरेको गल्तीप्रति माफि दिन रामेछाप शाखाका संयोजक समेत रहेका शेर्पाले युवाहरुसँग अनुरोध गरेका छन् ।

Share this

प्रतिकृया

Add