तीन सरकारी कार्यालयको पाँच वटा भवन एकसाथ हस्तान्तरण

 शुक्रबार, जेष्ठ १०, २०७६ | onlinenews
Share this

रामेछापः रामेछापको सदरमुकाम मन्थलीमा निर्माण गरिएको ३ वटा सरकारी कार्यालयको भवन एकैसाथ हस्तान्तरण गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमकोबीच शहरी विकास डिभिजन कार्यालयको दुई वटा भवन, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको दुई वटा र प्रमुख जिल्ला अधिकारीको निवास सहित ५ वटा भवन एकसाथ हस्तान्तरण गरिएको हो ।
२०७२ सालको भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सरकारी कार्यालय पुनःनिर्माण कार्यक्रम अन्तर्गत कर्मचारी निवास, बैठक कक्ष, पुरुष, महिला छुट्टाछुट्टै र अपाङ्गमैत्री शौचालय साथै रुफटफ गार्डेन सहितको सुविधा सम्पन्न भवन निर्माण गरिएको हो ।
आर्थिक वर्ष २०७२÷७३ मा ठेक्का लागेको भवन गत वैशाख महिनामा सम्पन्न भएको थियो । १३ करोड, ८ लाख ५७ हजार ६ सय ४४ रुपैयाँ ८१ पैसामा सम्झौता भएको पाँच वटा भवन भ्याट बाहेक १२ करोड ६८ लाख ७१ हजार ८ सय ३१ रुपैयाँ ९१ पैसा, सम्झौता भएको भन्दा कम लागतमा सम्पन्न भएको हो ।
सो भवन निर्माणको जिम्मा सुनकोशी, खानी, थोदुङ जेभी काठमाडौंले पाएको थियो ।

Share this

प्रतिकृया

Add