गन्धर्व गीति अभियान, गीतले भन्छ सीप नसिकी बिदेश नजानु

 शनिबार, जेष्ठ ३२, २०७६ | onlinenews

रामेछापः बैदेशिक रोजगारीको बारेमा जनचेतना फैलाउने उद्देश्यले अहिले रामेछाप जिल्लामा गन्दर्भ गीति यात्रा सञ्चालन भइरहेको छ ।
कतार गए, साउदी गए, गए लाहुर भोट, कहि पनि भेटिएन धन फल्ने बोट, ए आमा मिठो खाने राम्रो लाउने आशले……बोलको गीतले अहिले रामेछापका बस्तीबस्ती तताइरहेको छ । बैदेशिक रोजगारीमा जान लागेका युवा, बैदेशिक रोजगारीमा गएकाहरुका परिवारलाई सचेतना दिने उद्देश्यले गीति अभियान संञ्चालन गरिएको हो ।
द भ्वाईस अफ नेपालका स्टार तथा सारंगी बादक तेजिन्द्र गन्धर्व र उनका भाई हिमालसागर गन्धर्वले रामेछाप जिल्लाको उत्तरी क्षेत्र उमाकुण्ड १, गुम्देलबाट गीति कार्यक्रमको थालनी गरेका छन् ।


गीति कार्यक्रमले वैदेशिक रोजगारीको बारेमा सचेतना ल्याउन समुदायमा राम्रो प्रभाव पारेकाले वडाबाट समेत बजेट बिनियोजन गरी कार्यक्रम सञ्चालन गर्ने उमाकुण्ड–१ का अध्यक्ष नोर्बु शेर्पाले प्रतिबद्धता जनाए ।
बैदेशिक रोजगारी जाने सम्भावित युवाको रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले रामेछाप जिल्लामा गन्धर्व गीति अभियान कार्यक्रम सञ्चालन गरिएको हो । रामेछाप जिल्लामा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत स्थानीय तहको आर्थिक साझेदारी र चारघरे सेवा समितिको सहजिकरणमा गन्धर्व गीति अभियान कार्यक्रम संञ्चालन गरिएको हो ।
रामेछाप जिल्लामा चालु आर्थिक वर्ष २०७५÷०७६ मा सामी÷हेल्भेटासको प्राविधिक सहयोग तथा मन्थली नगरपालिका, दोरम्बा गाउँपालिका, उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिाकाको ६÷६ लाख रुपैयाँको आर्थिक साझेदारीतामा चारघरे सेवा समितिले सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन गरिरहेको छ ।


गीति कार्यक्रममा नबुझी बिदेश जानु हुँदैन, बिदेश जादा तयार गरिएको कागजपत्रको प्रतिलिपि घरपरिवारमा छोडेर जानुपर्छ भन्ने कुरालाई जोड गरिएको छ । त्यस्तै बिदेशमा धन फल्ने बोट नहुने हुँदा स्वदेशमा नै रोजगारी गर्नको लागि प्रोत्साहित गरिएको सुरक्षित आप्रवासन कार्यक्रमका कार्यक्रम संयोजक सागरबिक्रम बस्नेतले बताए ।
जेठ २९ गते गुम्देलबाट सुरु भएको अभियान बाम्ती, कुभुकास्थली, प्रिती, गुप्तेश्वर, भुजी, चुचुरे, ठोसे, रस्नालु, बेताली, नामाडी, फर्पू, मन्थली नगरपालिकाको गेलु, फुलासी, चनखु, भलुवाजोर र दोरम्बा गाउँपालिकाको वडाहरुमा समेत गरी असार २५ गतेसम्म सञ्चालन हुने कार्यक्रम संयोजक बस्नेतले जानकारी दिए ।

विद्यालयका विद्यार्थीलाई अभिमुखिकरण

गीति कार्यक्रमसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि विद्यालय अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा ८ को पेशा व्यवसाय र कक्षा १० को सामाजिक विषयको पाठ्या पुस्तकमा समाबेश गरिएको बैदेशिक रोजगारी भन्ने पाठ अनुसार विद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको छ । उमाकुण्ड गाउँपालिका १, गुम्देलको महालंगुर मा.विको कक्षा ८, ९ र १० मा अध्ययन गर्ने ६२ जना छात्रछात्रालाई अभिमुखिकरण गरिएको छ ।
अभिमुखिकरण कार्यक्रममा आप्रवासी स्रोत केन्द्र मार्फत दिईने सेवा, निःशूल्क सीप तालिमजस्ता बिषय समाबेश गरिएको छ । विद्यालय अभिमुखिकरण कार्यक्रम उमाकुण्ड गाउँपालिकाको महालंगुर, सिद्धेश्वर मा.वि बाम्ती, गोकुलगंगा गाउँपालिकाको शारदा माध्यमिक विद्यालय र गोकुलगंगा माध्यमिक विद्यालयमा सञ्चालन गरिने कार्यक्रम संयोजक बस्नेतले जानकारी दिए ।

प्रतिकृया

Add