कार्यपालिका सदस्य र वडा अध्यक्षले बैठकमै मेयरको टाउको फुटाए

 मङ्लबार, असार ३, २०७६ | onlinenews
Share this

रामेछापः मन्थली नगर कार्यपालिकाको बैठकमै नगर प्रमुख रमेशकुमार बस्नेतमाथि आक्रमण भएको छ ।
सोमबार बसेको नगर कार्यपालिका बैठकमा कार्यपालिका सदस्य उद्धव रम्तेल, मन्थली नगरपालिका वडा नम्बर ५ का अध्यक्ष रामबहादुर कार्की र १२ नम्बर वडाका अध्यक्ष कृष्णहरी अधिकारीले आफूमाथि आक्रमण गरेको नगर प्रमुख बस्नेतले बताए ।
कार्यपालिका सदस्य र वडा अध्यक्षको आक्रमणबाट नगर प्रमुख बस्नेतको टाउकोमा चोट लागेको छ । गत आर्थिक वर्षमा मन्थली नगरपालिका–५ मा गएको १ करोड १५ लाख बजेट मध्य काम हुन नसकेपछि ७८ लाख रुपैयाँ संचित कोषमा फिर्ता भएको थियो ।
गत आर्थिक वर्षमा काम हुन नसकेर फिर्ता आएको रकम जस्ताकोजस्तै वडामा जानु पर्ने र योजना कार्यान्वयन हुनुपर्ने वडा नम्बर ५ का अध्यक्ष रामबहादुर कार्कीले चालू आर्थिक वर्ष सुरु भएदेखिनै माग गर्दै आएको र त्यो विषयले सधैभरी कार्यपालिकाको बैठकमा तनाव उत्पन्न हुने गरेको नगर प्रमुख बस्नेतले बताए ।


एक आर्थिक वर्षमा काम हुन नसकेर संचित कोषमा फिर्ता भएको रकम नयाँ आर्थिक वर्ष सुरु भएपछि नगरयोजना बनाएर खर्च गर्नुपर्ने भएकाले वडाले माग गरेजस्तो गत आर्थिक वर्षमा काम हुन नसकेर फिर्ता भएको बजेट जस्ताकोतस्तै दिन नसकिएको नगरप्रमुख बस्नेतले बताए ।
वडा नम्बर ५ बाट गत आर्थिक वर्षमा काम हुन नसकेका योजनाहरुको भुक्तानी हुनुपर्ने माग कार्यपालिकाको बैठकमा पटक–पटक उठेपछि कार्यपालिकाको २१ औं बैठकले पाँच सदस्यीय कार्यदल गठन गरेर वडाले गरेको कामको स्थलगत निरीक्षण गराएको थियो ।
कार्यदलले निरीक्षण गरेको १५ वटा योजनाहरु मध्ये ७ वटा योजनामा काम भएको, ७ वटा मध्य एउटा योजनामा उपलब्धीबिहीन काम भएको र अन्य योजनाहरुको प्रक्रिया नमिलेको प्रतिवेदन नगरपालिकामा पेश गरेको थियो ।
कार्यदलको प्रतिवेदनको आधारमा कार्यपालिकाको २२ औं बैठकले कामको आधारमा प्रक्रिया मिलाएर मुक्तानी दिने निर्णय गरेको थियो नगरप्रमुख बस्नेतले भने । तर वडा अध्यक्षले तत्कालै भुक्तानी दिनुपर्ने भन्दै आक्रमण गरेको बस्नेतको भनाई छ ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले प्रक्रिया नपुगेको योजनाको मुक्तनी दिन नमिल्ने बताउँदै टेबुल ठोकेपछि बैठकमै नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई लक्षित गरि आक्रमण भएको नगरपालिकाले जनाएको छ ।

Share this

प्रतिकृया

Add