पिउने पानीको अनुगमन गर

 शुक्रबार, असार २०, २०७६ | onlinenews

रामेछापको सदरमुकाम मन्थलीबाट प्रशोधित हुने अक्वा शैलुङ्ग पिउने पानीको शिल गरिएको बोतलभित्र धुलोको कण र लामखुट्टे भेटिएको भन्दै बजारमा गुनासो आइरहेको छ । रामेछाप जिल्ला बाहिरको उपभोक्ताहरुले समेत रामेछापका पत्रकारलाई फोन मार्फत अक्वा शैलुङ्ग पिउने पानी, पिउनको लागि अयोग्य देखिएको भनि गुनासो गर्ने गरेका छन् । शैलुङ्ग स्प्रिङ्ग वाटर इन्डस्ट्रिजले प्रशोधन गरेको अक्वा शैलुङ्ग प्रशोधित पिउने पानीमा यस भन्दा पहिले पनि यस्तै समस्या देखिएको र परीक्षण गराउँदा उपभोग गर्न अयोग्य ठहरिएपछि केही समय प्रशोधन कार्य बन्द समेत भएको थियो । अक्वा शैलुङ्ग पिउने पानी प्रशोधनमा फेरि पनि लापर्वाही भएको देखिएको छ । मानिसको स्वास्थ्यसँग सरोकार राख्ने पिउँने पानीमा प्रशोधन गर्ने कम्पनीले लापर्वाही गर्नु भनेको मानव स्वास्थ्यमाथि खेलवाड गर्नु हो । मानव स्वास्थ्यमाथि खेलवाड गर्नु भनेको पानी प्रशोधन गर्ने कम्पनीको कमजोरी मात्र नभएर यो एउटा जघन्य अपराध सरह हो ।
स्थानीय प्रशासनले अन्य खाद्य बस्तुको अनुगमनमा कडाई गरे पनि पिउने पानीको अनुगमनमा ध्यान नदिएको उपभोक्ताको गुनासो छ । सदरमुकाम मन्थलीका प्रायजसो होटलहरुमा अक्वा शैलुङ्ग पानीकै प्रयोग भइरहेको छ । स्थानीय सरकार, जिल्लास्थित सरकारी कार्यालय तथा गैरसरकारी संघसंस्थाहरुले गर्ने कार्यक्रम, गोष्ठि, सम्मेलन तथा बैठकहरुमा पनि शैलुङ्ग प्रशोधित पानी नै प्रयोग भइरहेका हुन्छन् । यस्तो कार्यक्रमहरुमा पनि शैलुङ्ग पिउने पानीको बारे प्रश्नहरु उठ्ने गरेको पाइन्छ । तर, कसैले पनि मुख फोर्ने आँट गर्दैनन् । पानी खान योग्य नभएको भनि टिप्पणी गर्न कानेखुसी गर्ने तर मुख फोरेर बोल्न आँट नगर्ने । जसको कारण पानी प्रशोधन गर्ने कम्पनीले झन् बढि लापर्वाही गरिरहेको छ । पानी पिउन योग्य भए नभएको ल्याव टेष्ट गरेपछि प्रमाणणित होला । तर शिल गरिएको पानीमा धुलो कण र लामखुट्टे मात्रै होइन, लेउजस्तो पदार्थ पनि पानीमा भेटिएको छ । लेउजस्तो पदार्थ भएको शिलबन्दी पानीको बोतल यो पंक्तिकारसँग सुरक्षित छ । आवश्यक परेमा प्रमाणको लागि सरोरकावाला निकायसामु पेश गर्न सकिने छ ।
सरोकारवाला निकायले अक्वा शैलुङ्ग प्रशोधित पिउने पानीको बारेमा अनुगमन गर्नु आवश्यक देखिएको छ । अनुगमन मात्र होइन, शिल गरिएको पानी पिउनको लागि योग्य छ कि छैन भन्ने बारेमा परीक्षण गराउन पनि आवश्यक छ ।

प्रतिकृया

Add