जनताको बलिदानबाट आएको ब्यवस्था फेर्ने सपना नदेखे हुन्छः प्रचण्ड

 आइतवार, साउन १९, २०७६ | onlinenews
Share this

रामेछाप– पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको त्याग र ठूलो बलिदानीबाट आएको अहिलेको ब्यवस्था पर्ने सपना कसैले पनि नदेख्न चेतावनी दिएका छन् ।
यदि कोही कसैले अहिलेको व्यवस्था फेर्छु भन्ने सपना देखेको छ भने त्यो संभव छैन अध्यक्ष प्रचण्डले भने । जनताले बलिदानबाट ल्याएको ब्यवस्था फेर्ने कसैले सोचेको छ भने त्यसको हविगत कल्पना गर्नै नसक्ने हुने पनि प्रचण्डले चेतावनी दिए ।
अहिले कोहीकोहीले यो सरकार हैन अहिलेको व्यवस्था नै फेर्नुपर्छ भनेर नानाभाती कुरा गर्दै हिडेको सुनेको छु, मैले मात्र हैन तपाइहरुले पनि सुन्नु भएको होला, यो सम्भव छैन उनले भने ।
अहिले हाम्रो पार्टीको तर्फबाट प्रधानमन्त्री हुनुभएका केपी ओली त्यसै देशको प्रधानमन्त्री हुनुभएको हैन्, उहाँले १० वर्ष जेलनेलको सजाय भोगेर आउनु भएको हो । कुनै दलाल र सामन्तवादले केपी ओलीलाई प्रधानमन्त्री बनाएका हैनन्, यसतर्फ सरकारको विरोध गर्नेहरुले एकपल्ट सोच्नु जरुरी छ प्रचण्डको भनाई थियो ।
खैरेनीघाट स्थित सुनकोसी नदीमा निर्माण गरिएको रामेछाप र सिन्धुलीलाई जोड्ने पक्की पुलको आइतबार उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको व्यवस्था जनताको त्याग र बलिदानीबाट आएको भन्दै सरकारको विरुद्धमा बकबक नगर्न पूर्वराज ज्ञानेन्द्र लगायतलाई चेतावनी दिएका छन् ।
अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएका ज्ञानेन्द्र शाहलाई अहिलेको व्यवस्था फेर्छु भन्दै बकबक गरेर हिड्ने अधिकार नभएको भन्दै बकबक गर्दै हिडे जनताले नागार्जुनबाट पनि निकाल्ने चेतावनी दिए ।
११ बर्षअघिबाट शुरु भएको रामेछाप सिन्धुली जोड्ने खैरेनीघाटको पुल निर्माणको जिम्मा लामा–खन्पाचे–कन्काई जेभीका प्रोपाइटर राम मैनालीले लिएका थिए । ११ वर्ष वित्दा पनि पुल निर्माणको काम सम्पन्न नगरि अलपत्र छाडेपछि सरकारले पुलको काम गर्ने जिम्मेवारी लिएका निर्माण व्यवसायीको फर्म कालोसुचीमा राख्ने सूचना समेत प्रकाशन गरेको थियो । सरकारले निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने सूचना जारी गरेपछि निर्माण ब्यवसायिले बाध्य भएर सो पुलको काम ११ वर्षपछि सम्पन्न गरेका हुन् ।
पुल सञ्चालनमा आएसँगै राजधानी काठमाडांैबाट विपी राजमार्ग हुँदै खैरनीघाटबाट रामेछापको खाँडादेवी गाउँपालिकाको केन्द्रमा पुग्न ४ घन्टाको दुरीमा सहजै पुगिने भएको छ । करिव ३ वर्ष अघिनै सडक निर्माण गरिएको भए पनि पुल निमार्ण हुन नसक्दा सवारी साधन सञ्चालन हुन सकेको थिएन ।

Share this

प्रतिकृया

Add