रवि लामिछानेलाई पुनः ५ दिन थुनामा राख्न आदेश

 मङ्लबार, भदौ ३, २०७६ | onlinenews
Share this

चितवन– पत्रकार रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत चितवनले मंगलबार रवि लामिछाने सहित ३ जनालाई फेरि ५ दिन म्याद थपेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।
जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले लामिछाने सहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको हो ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार पक्राउ गरेको थियो ।
यसअघि चितवन अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले लामिछानेलाई अनुसन्धानका लागि बिहीबारदेखि लागू हुनेगरी ५ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको थियो । यो पटक पनि रविलाई थप पाँच थुनामै राख्ने आदेश भएको हो ।
मुलुकी फौजदारी संहिता अन्तर्गत आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा लामिछाने अनुसन्धानका लागि पक्राउ परेका थिए । पुडासैनीले आत्महत्याअघि खिचेको भिडियोमा लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीको नाम लिएका थिए । गत बिहीबार काठमाडौंबाट पक्राउ गरेर लामिछानेसहित तीनैलाई चितवन लगिएको थियो । चितवनको नारायणढस्थित पोखरा बसपार्कस्थित होटेल कंगारुमा पुडासैनी साउन २० गते झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । त्यसपछि पुडासैनीका परिवारले रविसहित तीनै जना विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

Share this

प्रतिकृया

Add