सामाजिक जवाफदेहीताको औजारहरुको प्रभावकारी प्रयोग भएन

 बुधबार, कार्तिक ६, २०७६ | onlinenews
Share this

रामेछाप– सामाजिक जवाफदेहिताका औजारहरुलाई रामेछाप जिल्लाका सेवाप्रदायक कार्यालयहरुले कसरी प्रयोग गरिरहेका छन् भन्ने विषयमा अन्तरक्रिया गरिएको छ ।
सेवाप्रदायक निकायलाई सेवा प्रभावहमा जवाफदेहिता सहितको उत्तरदायि बनाउने, सेवा प्रवाहलाई प्रभावकारी, प्रतिफलमुखी बनाउने र सेवाग्राहीलाई सचेत गराई सुशासन तथा पारदर्शीता कायम गरि भ्रष्टाचार नियन्त्रण गर्न सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोग गरिन्छ ।
सामाजिक जवाफदेहिताको औजारहरुमा नागरिक बडापत्र, सूचना केन्द्र, नागरिक सञ्जाल, सूचनाको हक, सामुदायिक रेडियो, सुशासन कार्यान्वयन सर्वेक्षण, सार्वजनिक प्रतिवद्धता, सहभागिता मूलक योजना÷बजेट तर्जुमा तथा अनुगमन, सामाजिक लेखा परीक्षण, लोककल्याणकारी सन्देश, होडिङबोर्ड, जागरण भेला, सार्वजनिक सुनुवाई, सडक नाटक, आईईसि सामग्री अर्थात सूचना शिक्षा र सञ्चार सामग्री, गुनासो संकलन, सेवा प्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया, ई. गभर्नेन्स लगायतलाई लिइएको छ ।
सामाजिक सवाफदेहिताका औजारहरु सदरमुकाममा रहेका सेवाप्रदायक निकायहरुले प्रयोग गरेका छन् तर औजारहरुको एकाध कार्यालयहरु बाहेक प्रभावकारी प्रयोग हुन नसक्दा त्यसको प्रतिफल भने सोचेजस्तो आउन सकेको छैन् । धेरैजसो सेवा प्रदायक निकायहरुले सामाजिक जवाफदेहिताका औजारहरुलाई औपचारिकताका लागि मात्र प्रयोग गर्ने गरेका छन् ।
सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोगमा स्थानीय सरकार बढि जिम्मेवार भएर लाग्नुपर्ने देखिएको छ । स्थानीय सरकार प्रत्येक्ष जनतासँग जोडिएर सामाजिक तथा विकासका कामहरु हुने भएकाले स्थानीय सरकारहरुले सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोग गर्ने कुरामा बढि जोड दिनुपर्ने देखिन्छ ।
सामाजिक जवाफदेहिताका औजारहरु अधिकांश कार्यान्वयनमै आएका छैनन् । कार्यान्वयमा देखिएका सामाजिक लेखा परीक्षण, सार्वजनिक सुनुवाई, नागरिक बडापत्र, होडिङबोर्ड यी औजारहरु पनि औपचारिकताको लागिमत्र प्रयोगमा ल्याइएको छ । यसको प्रभाव र प्रतिफल भने देखिएको छैन ।
नागरिकले सूचनाको हकको प्रत्याभूत गर्न पाएका छैनन् । सार्वजनिक सुनुवाईमा उठेका समस्या र गुनासाहरुको सुनुवाई हुँदैन । सार्वजनिक सुनुवाई जवाफदेहि बन्ने भन्दा पनि अनियमितता भएको कामलाई अनुमोदन गर्ने थलोजस्तो भएको सरोकारवालाहरुको गुनासो छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मन्थलीमा आयोजना गरेको सामाजिक जवाफदेहिताको औजारहरु प्रयोग विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले यस्तो गुनासो गरेका हुन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जिल्लाका सरकारी कार्यालयले सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोग गरेको बताइन । औजारहरुको प्रयोग प्रभावकारी रुपमा हुन नसके पनि औजारहरुको प्रयोग भने भएको प्रजिअ पाण्डेको भनाई छ ।
सामाजिक जवाफदेहिताका औजारहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि सम्बन्धित कार्यालयहरुलाई प्रजिअ पाण्डेले निर्देशन दिएकी छन् । सामाजिक जवाफदेहितालाई प्रभावकारी बनाउन आम नागरिकको भूमिका पनि महत्पूर्ण हुने भएकाले सेवाग्राही पनि सामाजिक जवाफदेहितामा सचेत हुनुपर्ने उनले बताइन ।

Share this

प्रतिकृया

Add