रामेछापको ८ पालिका मध्य सुनापतिको कार्य सम्पादन उत्कृष्ट छः धावा लामा

 शनिबार, मंसिर ७, २०७६ | onlinenews

६ मंसिर, रामेछप– सुनपाति गाउँपालिका अध्यक्ष धावा लामाले रामेछाप जिल्लाका ८ वटा स्थानीय तहहरु मध्यय सुनापति गाउँपालिकाको कार्य सम्पादन उत्कृष्ट रहेको दावि गरेका छन् ।
सुनापति गाउँपालिकाको टोलटोलमा सडक पुगेको र शिक्षामा पनि सुनापति गाउँपालिका जिल्लाकै उत्कृष्ट भएको बताए । अध्यक्ष लामाले भने– गएको दशैँमा काठमाडौंको कोटेश्वरबाट हिडेको ट्याक्सी घरघरमै पुग्यो । यदि कही कतै गाडी रोकियो भने पालिकालाई भन्नु डोजर आएर एक घण्टाभित्रमा सडक बनाउँछौं भनेका थियौं । सडकको कारण सवारी अवरुद्ध भएको खबर आएर किनभने सडक सबै ठाउँमा सहज थियो अध्यक्ष लामाले भने ।
उज्यालो सुनापति कार्यक्रम अन्तर्गत गाउँपालिकाको सबै ठाउँमा बत्ति पुगिसकेको छ । अब तीन सय वटा मिटरमा बत्ति बोल्नासाथ सुनापतिको प्रत्येक घरमा बिजुली बत्ति बल्ने छ लामाले भने । उनले थपे– सुनापति गाउँपालिकामा कसैले एउटा मात्रै काठको पोल देखाउछ भने १ लाख रुपैयाँ पुरस्कार राशी घोषणा गरेको थिए, त्यो पुरस्कार लिन कोही पनि आएनन् किनकी सुनापतिमा काठको बोल एउटा पनि छैन ।
शिक्षा क्षेत्रमा सुनापति गाउँपालिका जिल्लाकै उत्कृष्ट पालिका भएको बताए । २०७५ सालमा सञ्चालन गरिएको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय सुनापति गाउँपालिकामै रहेको उनले बताए । सुनापति गाउँपालिकाको एउटा विद्यालयमा इन्जीनियरिङ्ग र २ वटा विद्यालयमा बाली विज्ञान विषयको पढाई भइरहेको पनि अध्यक्ष लामाले जानकारी दिए ।


गाउँपालिकाको वडा नं. १ र ४ बाहेक सबै वडाहरुमा खानेपानीको ब्यवस्था भइसकेको र वडा नं. १ र ४ मा पनि खानेपानी तत्कालै ब्यवस्था हुने गरि काम भइरहेको बताए । गाउँपालिकामा स्वास्थ्य बाहेक दरबन्दी अनुसारका सबै कर्मचारीहरु रहेको पनि अध्यक्ष लामाले बताए ।
चालू आर्थिक वर्षमा कृषि र पर्यटनको क्षेत्रको विकासको योजना निर्माण गरे गाउँपालिका अघि बढेको गाउँपालिका अध्यक्ष लामाको भनाई छ । सुनापतिमा उत्पादन भएको तरकारी काठमाडौंमा बिक्री भइरहेको र तरकारीबाट कृषकहरुले राम्रो आम्दानी गर्न सफल भएको पनि बताए ।
गाउँपालिकाले गत वर्ष भैसीलाई दिएको सुत्केरी भत्ता भने कटौती गरेको छ । भैसीलाई सुत्केरी भत्ता दिने कार्यक्रम प्रभावकारी नभएकाले कटौती गरिएको अध्यक्ष लामाले जानकारी दिए । भैसीलाई दिने सुत्केरी भत्ता कटौती गरेर पशु बिमा सुरु गरिएको उनले बताए । पशुमात्रै नभएर पशु पालक कृषकको समेत बिमा गरिएको लामाले बताए । पशु बिमामा गाउँपालिकाको ९० प्रतिशत र पशु पालक कृषकको १० प्रतिशत लगानी रहेको छ । पशुपालक कृषकसँग एक सय रुपैयाँ लिएर गाउँपालिकाले कृषको २ लाख बराबरको बिमा गरिदिएको छ ।
गाउँपालिका अध्यक्ष लामाले सुनापति गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा प्रवाह गरेको सार्वजनिक सेवा तथा विकास निर्माणको कामको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई कार्यक्रमम यस्तो बताएका हुन् ।
सुनापति गाउँपालिका रामेछाप जिल्लाको ८ वटा पालिका मध्य सबैभन्दा कम बेरुजु भएको पालिका भएको पनि बताए । सुनापति गाउँपालिकामा रहेको ५ वडा वडाहरु मध्य २ वटा वडाहरुको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र अन्य वडाको लागि चालू आर्थिक वर्षमा टेण्डर हुने पनि जानकारी दिए । त्यसैगरी प्रहरी चौकीको भवन निर्माणको लागि पनि चालू आर्थिक वर्षमा टेण्डर हुने बताए । सुनापति गाउँपालिकामा पुनर्निर्माणको काम ९२ प्रतिशत सम्पन्न भएको पनि अध्यक्ष लामाले सार्वजनिक सुनुवाईमा जानकारी दिए ।
त्यसैगरी सुनापाति गाउँपालिका उपाध्यक्ष गीता विष्ट चौलागाईले आर्थिक वर्ष २०७५÷०७६ मा अघिल्लो आर्थिक वर्षमा भन्दा राजस्वमा बृद्धि गर्न सफल भएको बताइन । राजस्व परामर्स समितिको संयोजक समेत रहेकी विष्टले गत आर्थिक वर्षमा उद्देश्य राखिएको भन्दा बढी राजस्व संकलन भएको बताइन ।
त्यसैगरी न्यायिक समितिमा आउने मुद्दा तथा उजुरीहरुको प्रभावकारी रुपमा फैसला तथा मेलमिलाप गराएको बताइन । न्यायिक समितिले वडाहरुमा मेलमिलाप सम्बन्धि कार्यक्रमहरु सञ्चाल गएिको र मेलमिलापकर्ताहरुले पनि राम्रो काम गरेको बताइन । धेरैजसो उजुरीहरु मेलमिलाप कर्ताहरुले नै मिलाउने भएकाले गाउँपालिकामा उजुरीहरु कमै आउने गरेको बताइन ।
गाउँपालिका उपाध्यक्ष विष्टले गाउँपालिकाको आन्तरिक आय बृद्धि गर्नको लागि कृषि र पर्यटनको विकास गर्नुपर्नेमा जोड दिइन । गाउँपालिकामा प्याराग्लाइडिङ्ग परीक्षण सफल भएको भन्दै पर्यटन विकासको लागि गाउँपालिका लागि परेको पनि बताइन । जनयुद्धको बेला पूर्वमा पहिलो फौजी आक्रमण भएको पानीघाटलाई पर्यटकी क्षेत्रको रुपमा जति विकास गर्नुपर्ने हो त्यो हुन नसकेको बताइन । पानीघाटलाई राष्ट्रिय स्तरको पर्यटन स्थलका रुपमा विकास गर्नुपर्ने पनि उनले बताइन ।
गाउँपालिकाका महिलाहरुले बेरोजगार बस्नु नपरोस् भनेर महिला उद्यम सञ्चालन गरिएको पनि उपाध्यक्ष विष्टले बताइन ।
त्यसैगरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले आर्थिक वर्ष २०७५÷०७६ मा गाउँपालिकामा सञ्चाल भएका योजनाहरु र प्रगतिको बारेमा जानकारी गराएका थिए । गाउँपालिकामा २०७५ साल साउन १९ गते बसेको विषेश गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रमहरुको १ लक्ष्य ११ उद्देश्यहरु अनुसार गाउँपालिकाले योजना तथा कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।
“हाम्रो चाहना समृद्ध र सुखी सुनापति, कृषि, पर्यटन र पूर्वाधार अमूल्य सम्पत्ती” भन्ने गाउँपालिकाको मूल नारा अनुसार पाँच वर्षभित्रमा कृषि, पर्यटनको विकास र आधारभूत पूर्वाधारहरुको निर्माण गरि समृद्ध सुनापति बनाउने उद्देश्य अनुरुप कार्यक्रमहरु सञ्चालन भइरहेको पनि प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए ।
आर्थिक वर्ष २०७५÷७६ मा गाउँपालिकाले १५ लाख रुपैयाँ राजस्व संकलन गर्ने उद्देश्य लिएकोमा २७ लाख १० हजार ४ सय रुपैयाँ राजस्व संकलन गरेको बताए । राजस्व अनुमानीत आँकलन भन्दा १ सय ८० प्रतिशत बढी संकलन भए पनि गाउँपालिकाको दीगो विकासको लागि भने यो राजस्व एकदमै न्यून भएको पनि निरौलाले बताए । उठेको राजस्वले चालू खर्च पनि नधानेको निरौलाको भनाई छ ।
राजस्वलाई बृद्धि गर्न नसकिने हो भने स्थानीय सरकार र जनताले देखेको समृद्ध सुनापतिको सपना पूरा हुन नसक्ने उनले बताए । गत आर्थिक वर्षमा गाउँपालिकामा सञ्चालन भएको योजनाहरुमा १ लाख भन्दा कमको योजना १५ वटा, १ लाखदेखि ५ लाख सम्मका १ सय ४९ वटा, १० लाखसम्मका ६५ वटा रहेको छन् । त्यसैगरी १० लाख भन्दा माथिका योजना गाउँपालिका स्तरमा २५ वटा र वडा स्तरमा १३ वटा योजनाहरु सञ्चाल भएको निरौलाले जानकारी दिए ।
त्यस्तै गाउँपालिकामा २ सय ७६ किलोमिटर कच्ची सडक निर्माण भएको, १८ वटा खानेपानी योजना, २१ वटा सिंचाई योजना, १ वटा पोखरी, १ वटा झोलुङ्गे पूल र १ पक्की पूल निर्माण भएको निरौलाले बताए । समपुरक योजना अन्तर्गत ३२ वटा योजनाहरु रहेकामा १२ वटा ठेक्का प्रक्रियाबाट र अन्य उपभोक्ता समिति मार्फत काम भएको बताए । समपुरक योजना अन्तर्गत ८ वटा योजनाहरु पालिका स्तरमा सञ्चालन भएका थिए ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत वडा १ मा ८३ जना, २ मा ६७ जना, ३ मा ५२ जना, ४ मा ६८ जना र वडा नम्ब ५ मा ४५ जना गरि ३ सय ५ जना स्वरोगार भएको उनले बताए । त्यसैगरी गत वर्ष गाउँपालिकाको ५ वटै वडाहरुको माटो परीक्षण गरिएको र चालू आर्थिक वर्षमा सोही अनुसार कृषिका कार्यक्रमहरु निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए । गाउँपालिकाको गत आर्थिक वर्षको कुल आम्दानी ४४ करोड, ४५ लाख, ९४ हजार रहेकोमा ४० करोड, ५८ लाख ७० हजार रुपैयाँ खर्च भएको निरौलाले जानकारी दिए । गाउँपालिकामा ५ वटा क्रमागत योजनाहरु रहेका छन् । क्रमागत योजना अन्तर्गत १ करोड ५३ लाख क्रमागत योजनामा सरेको उनले बताए ।
राजस्व बाँडाफाडबाट ९० लाख र प्रदेश सरकारबाट प्राप्त हुनुपर्ने २५ लाख रुपैयाँ गरि १ करोड १५ लाख रुपैयाँ गाउँपालिकालाई प्राप्त हुन बाँकी रहेको प्रमुख प्रशासकीय अधिकृत निरौलाले बताए ।

प्रतिकृया

Add