वडामा आउँन नसक्ने जनतालाई घरघरमै पुगेर सेवा दिने गरेको छः वडा अध्यक्ष मगर

 शनिबार, मंसिर २१, २०७६ | onlinenews

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष चन्द्रबहादुर मगर टलकसँग गरिएको कुराकानीको सम्पादीत अंशः

यहाँहरु निर्वाचित भएको साढे दुई वर्ष भइसकेको छ । यो अवधिमा नयाँ काम के गर्नुभयो ?

हाम्रो साँढे दुई वर्षको अवधिमा केही नयाँ काम भएका छन् । गौश्वारा रामेछाप जिल्लाको विकट र दुर्गम ठाउँ हो । यहाँ जनजातिको बाहुल्यता रहेको छ । यो ठाउँको विकासको लागि विगतका दिनहरुमा निकै चुनौती थियो । त्यो चुनौतिको सामना गर्दै हामीले जनहितको लागि सुशासन राष्ट्रिय अभियान सञ्चालन ग¥यौं । त्यो अभियान समाजमा भएका विकृति विसंगतिको विरुद्धमा र मदिरा नियन्त्रणको उद्देश्यले चलाएको थियो । मदीरा निशेध नै त भएन तर नियन्त्रण भएको छ । पहिलो काम त्यही नै हो ।

वडाको विकास निर्माणमा चाहिँ यहाँ निर्वाचित भएर आउँनु भन्दा पहिले र अहिलेमा के फरक छ ?

स्थानीय सरकार आइसकेपछि पहिले र अहिलेको विकासको अवस्थामा फरक पन आएको छ । स्थानीय सरकार आउँनु पहिले वडा कार्यालय थियो तर वडा कार्यालयबाट सेवा सञ्चालन हुन सकेको थिएन ।

अहिले सञ्चालनमा आएको छ । वडा कार्यालयबाट सेवाग्राहीहरुले सहज रुपमा सेवा लिन सकेका छन् । वडा कार्यालयसम्म आउन नसक्नेहरुको लागि वडाले घरघरमै गएर सिफारिस लगायतका सेवाहरु प्रदान गर्दै आएको छ । स्वास्थ्य र शिक्षामा पनि सुधार आएको छ । विगतका दिनमा वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई राम्रोसँग सञ्चालनमा ल्याउन सकिएको थिएन । अहिले हामीले नयाँ स्वास्थ्य इकाई पनि ल्याएका छौं । आलू सित भण्डारको लागि भवन निर्माणको काम भइरहेको छ । केही समयमा सम्पन्न हुनेछ । सडकलाई स्थायित्व दिन नसके पनि वडाको प्रायः सबै ठाउँमा सडक पुगेको छ । सडक लगायत विविध कामहरु गरिरहेका छौं । विगतको भन्दा अहिले गौश्वारामा निकै फरक र विकासको लहर आएको छ ।

वडाको शिक्षा र स्वास्थ्यको अवस्था चाहिँ कस्तो छ ?

शिक्षा र स्वास्थ्य क्षेत्रमा पहिलेको भन्दा अहिले धेरै नै सुधार आएको छ । शिक्षा र स्वास्थ्य हिजोका दिनमा चल्न त चलेकै थियो तर जनप्रतिनिधि आए पनि सेवामा हिजोको भन्दा निकै सुधार आएको छ । हिजो नागरिकले सहज स्वास्थ्य सेवा पाउँने अवस्था थिएन, अहिले सहज रुपमा सेवा पाएका छन् । हिजो गाउँका स्वास्थ्य चौकीहरुमा औषधी पाउँन गाह्रो थियो । अहिले स्थानीय सरकारले औषधीको ब्यवस्था गरेर सहज बनाएको छ । शैक्षिक क्षेत्रमा पठन पाठनको लागि सहज वातावरण बनेको छ । दरबन्दीहरु नभएको ठाउँमा दरबन्दीहरु ल्याएको छ । स्थानीय सरकार आएपछि स्थानीयले शिक्षा, स्वास्थ्य र विकास निर्माणको क्षेत्रमा सुधार आएको र विकासको नयाँ लहर आएको स्थानीयले महशुस गरेका छन् ।

 अहिले सडकको अवस्था चाहिँ कस्तो छ ?

गौश्वार भौगोलिक हिसाबले विकट र पिछडिएको ठाउँ हो । यहाँ विकासको लागि निकै चुनौतिपूर्ण छ । गौश्वाराको लागि महत्वपूर्ण पक्ष भनेकै सडक हो । यहाँ हामीले सडकलाई स्थायित्व दिन सकेका छैनौं । सडक अस्थायी रुपमा चलिरहेको छ । सडकको नाला निर्माण गर्न सकिएको छैन । हाम्रो कार्यकालमा सडकहरु ग्राभेल गर्ने, नालाहरु निर्माण गर्ने र सडकलाई स्थायि रुपमा सञ्चालन हुने बनाएर यहाँका नागरिकलाई बाह्रै महिना यातायातको सुविधा दिने सोचका साथ काम गरिरहेका छौं ।

 यो वडाको मुख्य खेती वा मुख्य आम्दानीको श्रोत भने आलू नै देखिन्छ । आलू खेतीको ब्यवस्थापन र बजारीकरणको लागि वडाले के गरिरहेको छ ?

ठूलो शैलुङ्गको फेदीमा रहेको बस्तीको लागि मुख्य आम्दानीको श्रोत र मुख्य बाली भनेको आलू खेती हो । चौरीखोला क्षेत्रमा सुन्तला खेती छ । वडाको माथिल्लो क्षेत्रको आलू र चौरीखोला क्षेत्रको महत्वपूर्ण आयश्रोत भनेको सुन्तला हो । आलूले राम्रो बजार भाऊ पाएको अवस्था छैन । आलूको ब्यवस्थापन र स्थानीयले गरेको श्रमको मूल्य पाउनको लागि आलू सित भण्डार निर्माणको लागि संघीय सांसद श्यामकुमार श्रेष्ठले बजेट विनियोजन गरिदिनु भएको छ । आलू सित भण्डार निर्माण भइरहेको छ तर त्यसलाई हामीले सम्पन्न गर्न सकिरहेका छैनौं । सित भण्डार सम्पन्न भइसकेपछि हामी आलूलाई भण्डारण गर्ने छौं र आलूको भाउ आउने मौसममा बिक्री गरेर यहाँको स्थानीयको आयश्रोतमा बृद्धि गर्नेछौं । हामी त्यसको तयारी गरिरहेका छौं ।

 यो वडा भौगोलिक रुपमा ठूलो र विकट पनि छ । वडाका सेवाग्राहीलाई सेवा कसरी दिइरहनु भएको छ ?

तपाईहरु शहरबाट आउँदा यहाँको सडक भिरजस्तो लाग्न सक्छ । तर पहिलेको तुलनामा यहाँको सडक हामीलाई अहिले पिचजस्तो लाग्छ । तर पनि हामीले गर्न चाहेको जति गर्न सकेका छैनौं र जनताले खोजेको जति विकास अझै पाउँन सकेको अवस्था छैन । काम गर्न जति कठिनाई भए पनि जनताले निर्वाचित (अनुमोदन) गरेर पठाइसकेपछि जनतालाई सेवा दिन हाम्रो दायित्व र कतब्र्य हो । हामीले जनताको काम बाहेक अरु केही सोचेका छौं । हामीले जनतालाई घरघरमै पुगेर पनि सेवा दिएका छौं ।

भनेपछि तपाई वडाले दिने सिफारिको लागि घरघरमै पुग्नु हुन्छ ?

वडा कार्यालयसम्म आउँन सक्नेहरुलाई वडा कार्यालयमा आउनु भनेर अनुरोध गर्ने गरेका छौं । र वडा कार्यालयसम्म आउन नसक्ने ज्येष्ठ नारिक, अपाङ्गता र अशक्तहरुलाई घरमै पुगेर हामीले सिफारिस लगायतको सेवाहरु दिने गरेका छौं ।

धार्मिक पर्यटन र पर्यटकीय हिसावले ठूलो शैलुङ्ग र सानो शैलुङ्ग दुवै यही वडामा पर्दछ । धार्मिक र पर्यटक विकासलाई वडाले कसरी लिएको छ ?

ठूलो शैलुङ्ग र सानो शैलुङ्ग भनेको यो वडाको मात्रै नभएर देशकै चर्चित ठाउँ हो । यो क्षेत्रलाई सरकारले पर्यटन क्षेत्र घोषणा गरेको छ । तर पर्यटन विकासको लागि गर्नु पर्ने धेरै कामहरु बाँकी छन् ।

स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले यसमा चासो दिन आवश्यक छ । स्थानीय सरकारबाट मात्रै यसको विकास सम्भव छैन । प्रदेश सरकार र संघीय सरकार नै लाग्नु पर्छ । पर्यटकहरुको लागि होमस्टेहरु निर्माण गरेका छौं तर त्यो पर्याप्त छैन । सानो शैलुङ्गदेखि ठूलो शैलुङ्ग पुग्नको लागि पदमार्ग निर्माण गर्नु आवश्यक छ । यसलाई हामीले स्थानीय सरकारको नीतिमा समेटेका पनि छौं । सानो शैलुङ्गबाट ठूलो शैलुङ्ग जान र बस्के भन्ने स्थानमा गल्फ खेल मैदान निर्माणको लागि डिपिआर गरेर निर्माण गर्ने र त्यहाँ रिसोर्ट बनाउने साथै पैदमार्ग निर्माण गर्ने हो भने पर्यटकहरुलाई आर्षण गर्न सकिन्छ । यो काम पूरा गर्न सके दोरम्बा गाउँपालिका समृद्ध बन्छ जस्तो मलाई लाग्छ ।

 अहिलेको अवस्थामा बडाको मुख्य आम्दानीको श्रोत के हो ?

यहाँको मुख्य आम्दानीको श्रोत भनेको आलू नै हो । हाम्रो गौश्वारामा फलेको आलूलाई मुडेको आलू भनेर बिक्री गरिरहेको छ । मुडेको भनेर बेच्चे गरेका आलू सबै यही गौश्वाराबाटै जाने हो । यहाँ मुख्य आम्दानीको श्रोत आलू नै हो । आलूलाई बजारीकरण गर्न सकिएमा यहाँको नागरिकहरुले सहजै जिविकोपार्जन गर्न सक्नेछन् ।

वडाको मुख्य समस्या र चुनौती के छन् ?

यहाँको मुख्य समस्या भनेको सडक नै हो । सडकलाई हिउद बर्खा नै चल्ने गरि स्थायित्व दिन सकिएको छैन । सडकलाई स्थायित्व दिन सके यहाँका नागरिकले सहजै सेवा सुविधा पाउने थिए । अर्को चुनौती भनेको यहाँको स्थानीयको आयश्रोत कम्जोर छ । जसको कारण यहाँका बालकालिकाहरुले एसइई भन्दा माथिल्लो लेभवमा पढ्न पाएका छैनन् । गाउँ बाहिर राखेर पढाउन सक्ने अवस्था छैन । यहाँ पायक पर्ने ठाउँका कक्षा १० भन्दा माथिको पढाई हुने विद्यालय छैन । ताम्चेत माध्यमिक विद्यालयमा कक्षा १२ सम्म पढाउने ब्यवस्था गर्न पाए यहाँका बालबच्चाहरुले माध्यमिक तहसम्म पढ्न पाउँने थिए । स्थानीय सरकार, प्रदेश र संघीय सरकारले यति काम गरिदिए यहाँको स्थानीयलाई ठूलो राहत मिल्ने थियो । यस वडामा प्रसूति सेवा छैन । प्रसूति सेवाको अत्यन्तै आवश्यक छ । त्यसैगरी कक्षा १२ सम्मको पढाई सञ्चालन गर्नु आवश्यक छ । यी नै कुराहरु यहाँका मुख्य चुनौती हुन् ।

 यहाँको अन्तमा भन्नु पर्ने केही छ ?

वडा कार्यालयले कतिपय बेलामा भनेको सेवा दिन सकिएन होला । समय दिन सकिए होला । कहिलेकही कम्जोरी भयो होला । विद्धानहरुको भनाई छ, गल्ती नगर्ने मानिस हुँदै र गल्ती नगर्ने मानिस जन्मिदैन, जसले गल्तीलाई स्वीकार गरेर अगाडि बढ्छ त्यही नै महान् मान्छे बन्छ । मबाट पनि गल्ती हुन गयोहोला त्यसको लागि म क्षमा माग्न चाहन्छु । आगामी दिनमा वडा कार्यालयबाट दिने सेवाहरु सहज रुपमा प्रदान गर्नुका साथै वडाको विकासको लागि हरतरहले लागिरहने प्रतिवद्धता पनि ब्यक्ति गर्न चाहन्छु ।

प्रतिकृया

Add