गुणस्तरीय शिक्षाको लागि सरोकारवालासँग अन्तरक्रिया

 शनिबार, पुस १९, २०७६ | onlinenews
Share this

१९ पौष, रामेछाप– रामेछाप पोलिटेक्निक इन्ष्टिच्यूटले दिंदै आएको शिक्षालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउने विषयमा सरोकारवालाबीच छलफल गरिएको छ । पोलिटेक्निक इन्ष्टिच्यूटले गर्दै आएको शैक्षिक गतिविधि, स्थानीय सरकार तथा सरोकारवासँग गर्न सकिने समन्वय र सहकार्य साथै पोलिटेक्निक इन्ष्टिच्यूटले पु¥याउन सक्ने थप योगदानको बारेमा छलफल गरिएको हो ।
रामेछाप पोलिटेक्निक इन्ष्टिच्यूटले अहिले बाली विज्ञान र पशु विज्ञान विधामा अध्यापन गराउँदै आएको छ । बाली विज्ञान अन्तर्गत ब्यवसायिक च्याऊ खेती, कौसी खेती, ब्यवसायिक तरकारी खेती, नर्सरी ब्यवस्थापन र सु–स्वागत प्रोजेक्ट गरि ५ वटा प्रोजेक्ट अन्तर्गत अध्ययन, अनुसन्धान र अध्यापन भइरहेको छ ।


कौसी खेती अन्तर्गत घरको छतमा प्लाष्टिको ड्रममा तरकारी तथा खोर्सानी खेती गर्ने विषयमा अध्यापन गराइन्छ भने ब्यवसायिक तरकारी खेती अन्तर्गत गोलभेडा, आलू लगायतका तरकारी बाली लगाउने तरिका र बजार ब्यवस्थापनको विषयमा अध्ययापन भइरहेको शिक्षालयले जनाएको छ । त्यसैगरी उत्पादन भएको तरकारिले तत्कालै बजार नपाएको अवस्थामा सुरक्षित गोदाम कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि अध्ययन अध्यापन भइरहेको छ । सु–स्वागत योजना अन्तर्गत मूत्र संकलन गरेर कम्पोष्ट मल बनाउने तरिकाको बारेमा अध्ययन अध्यापन भइरहेको छ ।


तरकारी बारीमा लाग्ने रोग नियन्त्रणको लागि स्थानीय झारपातबाटै विषादी तयार गर्ने गरिएको छ । शिक्षालयले विषादीरहित तरकारी उत्पादन गर्नेतर्फत विद्यार्थीलाई प्रेरीत गरिरहेको छ ।
विद्यार्थीलाई अभ्यासको लागि जग्गा अपर्याप्त भएको शिक्षालय प्रमुख हरि पौडेलले बताए । शिक्षालयको लागि सामुदायिक बनले २ सय रोपनी र मन्थली माध्यमिक विद्यालयले ५५ रोपनी जग्गा दिएको भए पनि सो जग्गा अभ्यासको लागि पर्याप्त नभएको उनको भनाई छ ।
त्यसैगरी अर्को समस्याको रुपमा खानेपानी रहेको शिक्षालयको भनाई छ । शिक्षालय क्षेत्रको घेराबार, कर्मचारी र विद्यार्थीको लागि बस्ने ब्यवस्था गर्नु आवश्यक रहेको शिक्षालय प्रमुख पौडेलले बताए । शिक्षालयको समस्या समाधानको लागि बजेट विनियोजन गरिदिन पौडेलले मन्थली नगरपालिकालाई अनुरोध समेत गरेका छन् ।


अन्तरक्रिया कार्यक्रममा आफ्ना भनाई राख्दै मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले कार्यक्रम बनाएर नगरपालिकामा पेश गर्न आग्रह गर्दै आगामी वर्षको बजेटमा शिक्षालयलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताएका छन् । अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले बन र हाइड्रोपावरको विषय पनि अध्यापन गराउनु पर्ने धारणा राखेका थिए । जिल्लाको प्राविधिक र कृषि क्षेत्रको विकासको लागि शिक्षालयसँग सहकार्य गरे अगाडि बढ्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका थिए ।

Share this

प्रतिकृया

Add