उद्योग बाणिज्य संघको निर्वाचनसँग जोडिएका केही सवालहरु

 शुक्रबार, माघ १०, २०७६ | onlinenews

१० माघ, रामेछाप– यहि माघ ५ गते सम्पन्न भएको रामेछाप उद्योग बाणिज्य संघको निर्वाचनको विषय अहिले रामेछाप जिल्लामा हटकेक बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ब्यवसायिको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका जेएन दाहालले निर्वाचनमा पराजय भोगेपछि यो विषयले रामेछाप जिल्ला र विशेषगरी मन्थली बजार तातेको छ । चिया पसल, चोक, चौतारी र गल्छीहरुमा रामेछाप उद्योग बाणिज्य संघको निर्वाचनकै चर्चापरिचर्चा भइरहेको छ । निर्वाचनको विषयलाई राजनीतिक बृत्तमा समेत बहसको विषय बनाइएको छ । नेकपा पार्टीभित्र अन्तर्घातको आरोप प्रत्यारोप भइरहेको छ । नेकपाका कार्यकर्ताहरु आफ्नै पार्टीका नेताहरुलाई आक्षेप लगाउँदै सामाजिक सञ्जालमा छाएका छन् । सामाजिक सञ्जाल मार्फत नेकपाका केही कार्यकर्ताहरुद्धारा आफ्नै नेताको चरित्रहत्या गर्ने काम भइरहेको छ । नेकपाका एकाथारी नेताहरु अर्कोथरी नेताहरुको विरुद्धमा मिडीया हाउससम्म पुगेका छन् । सामाजिक सञ्जाल र मिडियासम्म पुगेका नेकपाका नेता कार्यकर्ताहरुले विशेषगरी पूर्व एमाले र पूर्व माओवादी भनेर कित्ताकाट गरेर प्रचारबाजी गरेको पाइन्छ । एक पक्षले अर्कोपक्षलाई आरोप लगाएर आपूm पानीमाथिको ओभानो हुन खोजिरहेको देखिन्छ । उद्योग बाणिज्य संघको निर्वाचनमा पूर्व माओवादीले अन्तर्घात गरेको भनि सामाजिक सञ्जाल र मिडियामा समेत नेता कार्यकर्ताहरुले आफ्नो भर्षन दिइरहेका छन् । अन्तर्घात गरेको भन्दै संविधानसभा सदस्य तारानारायण श्रेष्ठलाई दोषी करार गर्ने कोसिस भइरहेको छ । विषयबस्तुको गहिराइमा पुग्नु भन्दा पनि आवेश र इगो लिएर प्रचारबाजी भइरहेको पाइन्छ । उद्योग बाणिज्य संघको निर्वाचनको विषयलाई लिएर पार्टीभित्र क्याम्पिङ्गको खेल भइरहेको प्रष्ट बुझ्न सकिन्छ ।

किन हारे जेएन दाहालले चुनाव ?

निर्वाचन जित र हारको खेल हो । निर्वाचनमा जति धेरै उम्मेदवार भए पनि एक पदमा एक जना निर्वाचित हुने हो । निर्वाचन आफ्नो नेता वा नेतृत्व छान्ने गोप्य प्रक्रिया हो । यसमा कसलाई जिताउने र कसलाई हराउने मतदाताको हातमा हुन्छ । कहिलेकही आपूmसँग बहुमत मतदाता संख्या हुँदाहुदै पनि निर्वाचनमा पराजय हुन्छ । त्यसैको दरिलो उदाहरण हो रामेछाप उद्योग बाणिज्य संघको निर्वाचन । संगठन बलियो भएर मात्रै चुनाव जितिने हैन । उम्मेदवारको मतदातासँगको सम्बन्ध, उम्मेदवारको प्रभाव, ब्यक्तित्व र आचरणले पनि चुनाव जित्नु वा हार्नुमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । उम्मेदवारले सबै पक्षलाई समेट्न सक्नुपर्छ । चुनाव हार जितको खेल भएकाले उम्मेदवार सही हुँदाहुँदै पनि हार भएको उदाहरणहरु पनि थुप्रै छन् । म सबैले रुचाएको मान्छे, मैले जे गरेपनि हुन्छ र म बाहेक अन्त मतदान हुँदैन भन्ने उम्मेदवारको घमण्डले पनि चुनाव हार्ने अवस्था आउन सक्छ । केही मतदाता वा केही ब्यक्ति चिढिँदैमा केही फरक पर्दैन भन्ने सोच नेतृत्वमा हावी हुँदा पनि चुनाव हार्ने अवस्था आउन सक्छ । रामेछाप उद्योग बाणिज्य संघको निर्वाचनमा अध्यक्षको उम्मेदवारले हार्नुको मुख्य कारण मध्य एक यो पनि हो । यसमा उम्मेदवारको मात्र दोष छैन । यो निर्वाचन हार्नुमा उम्मेदवारको भन्दा उसको नेतृत्व गर्ने पार्टी र नेता पूर्णजिम्मेवार छन् । जजसले निर्वाचनमा अन्तर्घात भयो भनेर प्रचार गरिरहेका छन् निर्वाचन हार्नुमा उनीहरु पनि हिस्सेदार छन् । किनभने नेतृत्वलाई गलत निर्णय गराउन काउकुती लगाउने उनीहरु नै हुन् । सोझो भाषामा भन्दा उम्मेदवार चयनको प्रक्रियामा सबै पक्षलाई समेट्न नसक्नु, आफ्नै भित्रका एकाथरी ब्यवसायिहरुलाई पोष्टर बनाएर अगाडि बढुनुले पनि यो परिणाम आउनुमा केही भूमिका खेलेको छ । मानिसमा महत्वकांक्षा हुन्छ, त्यो स्वभाविक कुरा हो । योग्यता पुगेको मानिसले म उम्मेदवार हुनुपर्छ भन्नु गैरकानूनी कुरा होइन । यो लोकतान्त्रिक प्रक्रिया हो । ब्यक्तिले इच्छा राख्दैमा र चाहँदैमा सबै उम्मेदवार बन्छन् भन्ने कुरा पनि सत्य होइन । तर, उम्मेदवार छनौटको प्रक्रिया भने पारदर्शी हुनु आवश्यक छ । निर्वाचन हार्नुको अर्को कारक उम्मेदवार चयन प्रक्रियामा अपारदर्शीता, कप्ट्याई र छलकपट हो । उद्योग बाणिज्य संघको निर्वाचनमा प्रष्ट दुई पार्टीको प्यालन थियो । राजनीतिक आस्था र विचारको आधारमा उम्मेदवारहरुको प्यानल खडा गरिएपछि राजनीतिक पार्टीहरुले चासो राख्नुलाई अनौठो मान्नुपर्ने कुरा छैन । पार्टीगत रुपमा प्यानल खडा भएपछि नेकपा पार्टीले पनि निर्वाचनमा चासो राख्नु र आफ्ना पक्षका उम्मेदवारलाई जिताउन लविङ्ग गर्नु स्वाभाविकै थियो । उम्मेदवार चयनको प्रक्रियामा असन्तुष्ट बनेको पक्षले छलफलको माग गर्दा पार्टी नेतृत्व छलफलबाट भाग्नु चाँही महाभूल थियो । पार्टी नेतृत्वले उम्मेदवारी चयन गर्ने क्रममा ब्यवसायिको निर्वाचन हो पार्टीले हस्तक्षेप गर्नु हुँदै भनि पन्छनु र उम्मेदवारी दर्ता भएसँगै पार्टीले बैठक बोलाएर ह्वीप जारी गर्नु दोश्रो ठूलो भूल थियो । तेश्रो भूल उम्मेदवारीप्रति असन्तुष्ट पक्षलाई तिमीहरुसँग भोट नै छैन केका लागि तिम्रो चुरिपूmरी भनेर पार्टी नेतृत्वले निरंकुशता लाद्ने दुस्साहस गर्नु थियो । यो ब्यवसायिहरुको निर्वाचन हो भने पार्टीले निरंकुश भएर हस्तक्षेप गर्नुपर्ने कुनै कारण थिएन र कारबाही गर्ने कुराको पनि औचित्य छैन । रामेछाप उद्योग बाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार जेएन दाहालले निर्वाचन हार्नुमा पार्टीको नेतृत्व पूर्णतहः जिम्मेवार छ । पार्टी नेतृत्वको अदूरदर्शीता र असक्षमताकै कारण रामेछाप उद्योग बाणिज्य संघको निर्वाचनमा हार्नु परेको हो । पार्टी नेतृत्वले गुटको राजनीति गरेकै कारण यो निर्वाचनमा जेएन दाहालको हार भएको हो । यसको जिम्मेवारी कार्यकारी नेतृत्वको हिसाबमा जिल्ला पार्टी अध्यक्षले लिनुपर्छ । पार्टी नेतृत्वले निर्वाचन हार्नुमा अरुलाई दोष लगाएर भाग्न खोज्नु भनेको आफ्नो थैलीको मुख खुल्ला राखेर अरुलाई चोर दोष लगाउनु जस्तै हो । जहाँसम्म पार्टीभित्रैबाट अन्तर्घात भएको र अन्तर्घातिलाई कारबाहीको कुरा चर्चामा छ, यसमा कारबाहीको पहिलो भागिदार जिल्ला पर्टीको नेतृत्व हुनुपर्छ । आफ्नो बहुमत मतदाता हुँदाहुँदै पनि आफ्नो उम्मेदवारलाई हराउने नेतृत्व हुनसक्छ ? आफ्ना कार्यकर्तालाई मिलाउन नसक्ने र परिचालन गर्न नजान्ने नेतृत्व हुनसक्छ ? आफ्ना गुटको स्वार्थको लागि पार्टी राजनीति र विचारलाई तिलाञ्जली दिन तयार हुने ब्यक्ति पार्टीको नेता हुनसक्छ ? यो यक्ष प्रश्नको जवाफ खोज्न जरुरी छ । असन्तुष्ट पक्षले छलफलको माग गर्दा तिमीहरुसँग ४ भोट छैन केका लागि छलफल भन्ने नेतृत्वले डेढसय मत विपक्षलाई जादा चार भोटेहरुले अन्तर्घात ग¥यो भन्न लाज लाग्नुपर्ने हो । अर्को कुरा पार्टीलाई कसरी भयो अन्तर्घात ? के उद्योग बाणिज्य संघको निर्वाचनमा सूर्य चिन्ह र रुख चिन्हमा चुनाव लडेको हो ? पार्टीको चुनाव चिन्हमा चुनाव लडेर विपक्षी पार्टीलाई भोट हालेको भए पार्टीमाथिको अन्तर्घात हुन्छ । ब्यक्तिको नाममा ब्यवसायिक चुनाव लड्ने अनि पार्टीमा अन्तर्घात कसरी हुन्छ ? ब्यवसायिहरुले रुचाएका उम्मेदवारहरुले चुनाव जितेको र ब्यवसायिले नरुचाएकाले चुनाव हारेको कुरा प्रष्ट छ ।
निर्वाचन पार्टी नेतृत्वकै रवैयाको कारण हारिएको हो । ‘बगेको खोला फर्कदैन, समय आउँछ पर्खदैन’ भनेझै समय छउञ्जेल चुनाव जितिहालिन्छ भनेर असन्तुष्ट पक्षलाई वाइपास गरेर अगाडि बढिरहे जब समय घड्किसकेको थियो, त्यसपछि पार्टी नेतृत्वको घैँटोमा घाम लाग्यो र छलफलको आयोजना ग¥यो । छलफलको आयोजना गर्दा समयले नेटो काटिसकेको थियो । जेएन दाहालले चुनाव हार्ने संकेत देखिसकेपछि निर्वाचनको अघिल्लो साँझ संविधानसभा सदस्य तारानारायण श्रेष्ठको विशेष पहलमा छलफलको आयोजना गरिएको थियो र असन्तुष्ट ब्यवसायिहरुलाई आफ्ना उम्मेदवारलाई मतदान गर्न ह्वीप जारि गरिएको थियो । तर, त्यो समय निकै ढिला भइसकेको थियो । निर्वाचनको अघिल्लो दिन गरेको छलफल चुनावको तीन दिन अघि गरेको भए वामपन्थी प्यानलले अध्यक्ष पद गुमाउनु पर्ने थिएन । अन्तिम घडिमा भएको छलफलमा पनि अध्यक्षका उम्मेदवार जेएन दाहालले आपूmले चुनाव जितिसकेको बताएका थिए । दाहालको भनाई असन्तुष्ट पक्षले सहयोग नगरेपनि आपूm विजयी हुनेतर्फ लक्षित थियो । जेएन दाहालले आफ्नो विजय सुनिश्चित भएको दावि गरिरहँदा पूर्व एमालेका ब्यवसायि नेताले भने हाम्रो अध्यक्षको उम्मेदवार कम्जोर छ भनिरहेका थिए । जेएन दाहाल नेतृत्व क्षमताको हिसाबले कम्जोर उम्मेदवार होइनन् तर मानिससँग जोडिएर आउने केही सवालहरुले कम्जोर बनाउन सक्छ । पूर्व माओवादीको असहयोगको कारण मात्रै जेएन दाहाल कम्जोर भएका होइनन् । पूर्व माओवादीबाट आएका ब्यवसायिहरुले मत क्रस गरेको आरोप लागिरहँदा मत क्रस भएको परिणामले पूर्व माओवादी र पूर्व एमाले दुबै पक्षबाट मत क्रस भएको प्रष्टै देख्न सकिन्छ । यद्यपि पार्टीभित्रको समीक्षाको निष्कर्ष र आधिकारिक धारणा भने बाहिर आइसकेको छैन । अन्तर्घात गर्नेलाई कारबाही हुनुपर्छ भन्नेमा नेकपा पार्टीभित्र विमती नहोला तर पार्टीको आधिकारीक धारणा सार्वजनिक नहुँदै नेकपा रामेछापका अध्यक्ष मैनकुमार मोक्तान निकट मानिने जिल्ला पार्टी सचिवालय सदस्य प्रज्ञान खड्काले सार्वजनिक मिडियामा संविधानसभा सदस्य तारानाराण श्रेष्ठले अन्तर्घातको नेतृत्व गरेको भनि किटानीका साथ दिएको अभिब्यक्तिले पार्टीभित्र गम्भीर बहसको विषय बनाएको छ ।
नाम किटान गरेर अन्तर्घात ग¥यो भन्न सक्ने रामेछाप जिल्लाको नेता र नेतृत्वसँग यदि दम छ र हैसियत राख्छ भने अन्तर्घात गर्नेको पहिचान गरेर कारबाही गर्न सक्नुपर्छ । नेता र नेतृत्वले जिब्रो चपाएर विनाआधार, विना तथ्य आरोपमात्रै लगाउने हो भने आरोप खेप्नेहरु अन्यायमा पर्नसक्छन् । रामेछापको नेताहरुमा उनीहरुकै भाषामा अन्तर्घातिलाई कारबाही गर्ने हिम्मत छैन भने ब्यक्तिको चरित्रहत्या गर्ने अधिकार पनि उसलाई हुदैन । अन्तर्घात गरेका भनिएका ब्यवसायिहरुले पार्टीलाई अन्तर्घात गरेको हैन, ब्यक्तिलाई भोट नदिएको मात्र हो । आफ्ना प्यानलमा मत जाहेर नगर्नेलाई कारबाही हुन्छ भनेर केही नेताहरुले मिडियामा बोलेका छन् । उनीहरुमाथि पनि अनुसन्धान हुन जरुरी छ । पहिलो कुरा उद्योग बाणिज्य संघको निर्वाचनमा पार्टीमाथि अन्तर्घात होइन, ब्यक्तिमाथिको अन्तर्घात हो । यदि त्यसलाई नेकपाले पार्टीमाथिको अन्तर्घात मान्ने हो भने पहिलो छानविन पार्टी नेतृत्वमाथि हुनुपर्छ । किनकी बहुमत मतदाता संख्या आफ्नो पक्षमा हुँदाहुँदै पनि निर्वाचन हार्नु भनेको नेतृत्वको असक्षमता हो । नेकपाका नेताहरुले रामेछापको उद्योग बाणिज्य संघको निर्वाचनबाट सबक सिक्न जरुरी छ । पार्टीलाई एक ढिक्का बनाएर लैजाने कि गुट–उपगुटमा विभाजन गर्ने यो नेताहरुको काँधमा छ । रामेछाप उद्योग बाणिज्य संघको निर्वाचनबाट नेकपा रामेछापको नेतृत्वको लागि अर्को अग्नी परीक्षा सुरु भएको छ । पास हुने नहुने नेता र नेतृत्वमा निहीत हुने छ ।

प्रतिकृया

Add