विभेदको विरूद्ध विद्रोह हुनु स्वभाविक

 शनिबार, चैत्र ५, २०७३ | onlinenews

रामसुकुल मण्डल
अधिकारका लागि आन्दोलन गर्नु विश्वव्यापी मान्यता हो । जुन देशमा नागरिकलाई एक सम्मान अधिकार दिइँदैन अथवा सौतैला व्यवहार गर्छन् त्यहाँ विद्रोह हुनु स्वाभाविक हो । विश्वव्यापी मान्यता अनु्सार जहाँ विभेद हुन्छ त्यहाँ विद्रोह हुन्छ जहाँ विद्रोह हुन्छ त्यहाँ विस्फोट पनि हुन्छ भन्ने कुराको आत्मसात गर्नु अहिलेको मुख्य आवश्यकता हो । मधेशी जनता वर्षौंदेखि किन आन्दोलन गर्दै आएका छन्, किन नेपालमा हेपिएको महसुस गर्छन्, किन दोस्रो दर्जाको नागरिकसरह व्यवहार खेप्नुपर्छ ? लगायतका यावत् प्रश्नहरू छन् । जुन कुराका लागि नेपाल मधेशीहरूले अहिलेसम्म टाउको र छातीमा गोली खाँदै आएका छन् त्यो पूरा नहुनु समग्र नेपालकै लागि दुर्भाग्य हो । नेपालमा नश्लीयताको आधारमा राष्ट्रियताको परिभाषा गरिछ तर, मधेशीहरू अहिलेसम्म कुन–कुन ठाउँमा कहाँ–कहाँ राष्ट्रघात गरेका छन् भन्ने कुरा कसैले प्रमाणित गर्न सक्दैनन् । किनकि जहाँ राष्ट्रियताको सवाल आउँछ मधेशीहरू कहिल्यै पनि चुक्दैनन् । त्यसको ज्वलन्छ उदाहरण हो सप्तरीको तिलाठी घटना । जहाँ मधेशीले आफ्नो देशको एक इन्च जग्गा पनि विदेशीलाई छुन्नसम्म नदिने र त्यसको कडा प्रतिकार गरेका देवराम यादव हुन् । देवराम यादवले आफ्नो देशको भूमिका लागि कुटाइसमेत खाए र त्यसपछि राष्ट्रवादी भनाउँदाहरूले ठूलै गुनगाण गाए । यसबाट प्रष्टिन्छ कि नेपालको राष्ट्रियता भनेको भारतको विरोध गर्नु नै हो । तर, मधेशीहरू आफ्नो राष्ट्रियता प्रमाणित गर्नका लागि भारतीयसँग कुटाई खाएनन्, बल्कि नेपाली भूमिसँग भएको अन्यायको विरोधमा उत्रेका थिए । यहाँका राष्ट्रवादी भनाउँदाहरूले नै नेपालका नदीनाला बेचेका छन्, राष्ट्रघाती सम्झौता पनि गरेका छन् । तर, एउटा पनि उदाहरण छैन जुन सम्झौता मधेशी राष्ट्रघात गरेको होस् ।
तसर्थ मधेशीहरू नेपालका सच्चा देशभक्त हुन् र रहने पनि छन् । मधेशीको राष्ट्रियतामाथि प्रश्नचिन्ह खडा गर्नु भनुको नेपालको लागि अहितकर हुनेछन् । मधेशीहरू आफ्नो सम्मान, पहिचान र समान अधिकारका पटक–पटक सहादत दिँदै आएका छन् भन्ने कुरालाई नजरअन्दाज गरियो भने मुलुकको अखण्डतामा असर पर्न सक्छ । अहिले मुलुकमा उठेका पृथकतावादीहरूलाई बल पु¥याउने छ । किनकि मधेशी नेपालभित्रै आफ्नो पहिचान र अधिकार खोजेका छन् । मधेशीको धैर्यताको बाँध टुट्यो ने नेपालको नक्सा नै परिवर्तन हुन बेर लाग्दैन भन्ने कुराको उदाहरण अहिले सप्तरी घटनालाई लिन सकिन्छ ।
सप्तरी घटनालाई अध्ययन गर्ने हो भने एमाले र मधेशी मोर्चाको हठका कारण घटेको बुझ्न सकिन्छ । किनकि एमालेको मधेशमा पकड छैन भन्न गलत हुन्छ । जहाँ मधेशमा मधेशकेन्द्रित दलले जम्मा १२ स्थान जित हासिल गरेको छ भने त्यही एमालेले ४० स्थानमा जित हासिल गरेको छ । यसको मतलब एमाले मधेशमा बलियो र मोर्चा कमजोर भनेर विश्लेषण गरिएको छ । तर, मधेशी भावनामाथि ठेस पु¥याउने हो भने त्यसको विस्फोट सिंगो नेपालका लागि घातक प्रमाणित हुनेछ ।
नेपाली राज्यसत्ताको व्यवहार जहिले पनि मधेशसँग रंगभेदको आधारमा रहेको पाइन्छ । मधेशी यो देशको नागरिक नै होइन भन्ने खालका व्यवहार हुँदै आएको छ । जुन कुराको स्वीकारोक्ति स्वयम् सत्तापक्षले गर्दै आएको छ र विभिन्न कालखण्डमा सहमति र सम्झौतासमेत गर्दै आएको छ । नेपाल एउटा साझा र सबै नेपालीको राष्ट्र हो भन्ने कुराको बोध गराउन सक्नुपर्छ ।
तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशलाई अधिकार दिँदा देश टुक्रिन्छ भन्ने भ्रम फैलाइएको बताएका छन् । उनले मधेशी जनताले अधिकार मागेको तर, भ्रमात्मक प्रचारबाजी गरी देश नै टुक्र्याउन लागेको आरोप आफूहरूमाथि लागेको बताए । राजधानीमा आयोजित एक कार्यक्रम अध्यक्ष ठाकुरले आफूहरू कहिल्यै पनि देश विखण्डनको पक्षमा नरहेकोसमेत प्रष्ट्याएका छन् । उनले मधेशलाई अधिकार दिन नचाहनेहरू नै विखण्डनकारी रहेको जिकिर गरे । मधेशी जनताले परिवर्तन र अधिकारको माग राख्दा मधेश अलग्गै बनाउन खोजियो भनेर भ्रमात्मक प्रचार गरिएको भन्दै दुःख व्यक्त गरेका छन् ।
उनले भने, ‘मधेशलाई अधिकार दिँदा अलग्गै हुन्छ भन्ने भ्रम फैलाईएको छ, त्यो गलत सोच हो ।’ उनले मधेश सँधै आफ्नो प्रभावमा रहोस् भन्ने शासकहरूको चाहना रहेको जिकिर गरे ।
उनले भने, ‘राष्ट्रियताको नारा दिना साथ उनीहरूको औंला मधेशतिर हुन जान्छ, त्यस्तो परम्परा अब नेताहरूले त्याग्नुपर्छ ।’ उनले मधेशी मोर्चा वर्तमान सरकार विस्थापन गर्ने तयारीमा नरहेको समेत स्पष्ट पारे ।
यसैगरी, संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन दल र सुरक्षा निकायले योजनाबद्ध ढंगले सप्तरी घटना गराएको गम्भीर आरोप लगाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र सुरक्षा निकायले नियोजित रूपमा सप्तरी घटना गराएको यादवले आरोप लगाएका हुन् । अध्यक्ष यादवले प्रधानमन्त्री, गृह मन्त्री र एमालेका नेताहरूले पहिले नै योजना बनाएर सप्तरी घटना घटाएको भन्दै लोकतन्त्रमा एमालेले आमसभा गर्न पाउने र त्यसको विरोध अरूले पनि गर्न पाउने भएपनि मधेशी मोर्चाका कार्यकर्तालाई छानी छानी टाउकोमा गोली हान्नु योजनाबद्व रहेको खुलासा गरे । संघीय गठबन्धनका संयोजक समेत रहेका यादवले भने,– ‘सप्तरी घटनामा टाउको र छातीमा मधेशी मोर्चाका कार्यकर्तालाई गोली लाग्नु र प्रहरी तथा एमालेका एक जना पनि कार्यकर्ता घाइते नहुनेले घटना सुनियोजित भएको पुष्टि हुन्छ ।’ एमालेले आफना शीर्ष नेताको हत्या प्रयास भएको भन्ने प्रचार भ्रामक र घटनालाई अन्तै मोड्ने प्रयास भएको बताउँदै सुनियोजित रूपमा घटाइएको घटनाको जति निन्दा र विरोध गरेपनि कम हुने बताए । (मधेश दर्पण फिचर सेवा)

प्रतिकृया

Add