महेशलाल प्रधानको अर्को बदमासी, लकडाउनको मौका छापेर कर्तुत लुकाउने षड्यन्त्र

 आइतवार, बैशाख ७, २०७७ | onlinenews
Share this

७ वैशाख, रामेछाप– रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा सञ्चालीत ६ वटा खनेपानी आयोजनाहरुमा भएको अनियमिततामा मुछिएका महेशलाल प्रधानले फेरि पनि बद्मासी सुरु गरेका छन् ।
आयोजनामा अनियमितता भएको भनि स्थानीयले जिल्ला प्रशासन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा उजुरी दिएपछि छानविनको लागि काम स्थगित गरिएको ठोसे खानेपानी योजनामा स्थानीयलाई काम गर्न लगाएका छन् ।
महेशलाल प्रधानले लकडाउनको मौका छोपी सिंगटी खानेपानी आयोजनाको पाइप ठोसे खानेपानी आयोजनाको पाइपलाइनमा पुर्न लगाएको स्थानीयले बताए । १ करोड ५२ लाखको ठोसे खानेपानी आयोजना सम्पन्न भएको प्रतिवेदन प्रदेश खानेपानी कार्यालय रामेछाप मन्थलीमा पेश भइसेकेको छ । तर, योजना भने अधुरै रहेको छ ।
लकडाउनको मौका छोपी अधुरो रहेको ठोसे खानेपानी आयोजनामा सिंगटी खानेपानी आयोजनाको पाइप लगेर गाड्ने काममा स्थानीयलाई जबर्जस्ती परिचालन गरेर महेशलालले आफ्नो कर्तुत ढाकछोप गर्न अर्को गल्ती दोहो¥याएको स्थानीयको भनाई छ ।
अनियमितता भएको उजुरी पछि कार्य मूल्यांकनको लागि काम स्थगित गरिएको अस्थामा गोकुलगंगा गाउँपालिका–२ का कार्यवाहक अध्यक्ष बेदबहादुर कार्कीसँगको मिलेमतोमा अनुगमन टोली जानु अगाडि नै ठोसे खानेपानी योजनाको ट्यांकीमा पानी हाली अनुगमन टोलीको आँखामा छारो हाल्ने नियतले लुकीछिपी काम अगाडि बढाएको स्थानीय बताउछन् ।
यसअघि जिल्ला प्रशासन कार्यालयबाट अनुगमन टोली पुग्दा ट्यांकीमा पानी हालिएको थिएन र अहिलेसम्म पानी हालिएको छैन । महेशलाल प्रधानले सो खानेपानी आयोजनाका अध्यक्ष बुद्धिमान श्रेष्ठलाई आयोजनाको बजेट २७ लाखमात्र भएको भनि झुक्याएका थिए । २७ लाख रुपैयाँ बजेट सकिएपछि आयोजना तीन वर्षदेखि अलपत्र रहेको थियो ।


विवादीत आयोजनामा महेशलाल प्रधानले आपूmखुसी काम गरेको भनि त्यहाँका स्थानीयले जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी समेत दिएका छन् । कार्यबाहक वडा अध्यक्ष कार्कीले ठोसे बजारमा पानीको हाहाकार भएकाले काम गरेको जवाफ दिएका छन् ।
ठोसे बजार खानेपानीका अध्यक्ष गौतम श्रेष्ठले भने बजारमा पानीको समस्या नरहेको बताए । विवादीत योजनामा लकडाउनको बेल केहि ब्यक्तिहरूले आफूखुसी काम गरेको पनि उनले बताए । कतैबाट परिचालित भएर अदृश्य स्वार्थ पूरा गर्नको लागि वडा सदस्य बेदबहादुर कार्कीले झुठ बोलेको भए मलाई थाहा छैन तर अहिले ठोसे बजारमा खानेपानीको हाहाकार भएको भन्ने कुरा सत्य होइन, यहाँको स्थानीयसँग बुझ्दा पनि हुन्छ श्रेष्ठले भने । सो विषयमा वडा अध्यक्ष शेखरमान श्रेष्ठसँग बुझ्दा आफू लकडाउनका कारण मन्थलीमा रहेको र सो खानेपानी आयोजनाको काम अगाडि बढाउने विषयमा आफूसँग कुनै समन्वय र जानकारी नभएको बताए ।
क्रमागत योजना अन्तर्गत सञ्चालीत ठोसे खानेपानी आयोजनामा चालू आर्थिक वर्षमा ५ लाख रुपैयाँ बजेट परेको स्थानीय डबलबहादुर श्रेष्ठले जानकारी दिए । डबलबहादुर श्रेष्ठका अनुसार चालू आर्थिक वर्षको ५ लाख रुपैयाँ बजेट पनि निकासा भइसकेको छ ।
सिंगटी खानेपानी आयोजना पनि विवादमा रहेकाले आयोजनाको लागि खरिद गरिएको पाइप तत्काल प्रयाग नगर्नु भनि वडा कार्यालयको जिम्मामा राखिएकोमा कार्यबाहक वडा अध्यक्ष कार्कीको मिलेमतोमा ठोसो खानेपानी आयोजनामा प्रयोग गरिएको हो ।
गोकुलगंगा गाउँपालिका–२ ठोसेमा सञ्चालीत लिसे, ठोसे, एकामफेदी, गोब्रेटार र सिंगटी लगायत ६ वटा खानेपानी आयोजनामा आपूmले बजेट पारेको भन्दै महेशलाल प्रधानले उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षलाई चेकमा हस्ताक्षर गर्न लगाई भुक्तानी लिएर तीन वर्षसम्म एकसय पचास भन्दा बढी मजदुरलाई समेत पारिश्रमिक नदिएर योजना अलपत्र पारेपछि गत पौषमा प्रधानको विरूद्धमा मजदुरले जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी दिएका थिए ।
उजुरीपछि तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराई नेतृत्वको टोलीले स्थलगत अनुगमन गरि मजदुरलाई पारिश्रमिक दिन निर्देशन दिएका थिए । राष्ट्रिय सञ्चार माध्यममा समेत सो खबर प्रसारण भएपछि महेशलाल प्रधान र खानेपानी आयोजनाहरुका कोषाध्यक्ष आशाकाजी श्रेष्ठले केही मजदुरलाई पूरै पारिश्रमिक र केहीलाई आधा पारिश्रमिक दिएका थिए ।
महेशको गलत गतिविधिको स्थानीयले विरोध गर्दा आफ्नो राजनीतिक पहुँच भएको भनि विरोध गर्नेलाई ठेगान लगाइदिन्छु भनि धम्क्याउने गरेको स्थानीयको गुनासो छ । दुई महिना अघि काम गरेको पारिश्रमिक माग्न जाँदा स्थानीय श्रीबहादुर बस्नेतलाई महेशलाल प्रधानले हातपात गरि ढुङ्गा समेत प्रहार गरेको भनि जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । जिल्ला प्रहरी कार्यालयमा आएर उनले माफि मागेपछि मजदुरको पारिश्रमिक दिने सर्तमा उनलाई छोडिएको थियो । तर पीडितले अहिलेसम्म पनि पैसा नपाएको गुनासो गरेका छन् ।
महेशलाल प्रधान र कार्यवाहक वडा अध्यक्ष बेदबहादुर कार्की विरूद्ध मृतक ब्यक्तिको लगत कट्टा नगरी बृद्धा भत्ता आपूmहरुले बुझेको र आफन्तलाई दोहोरो सामाजिक सुरक्षा भत्ता दिएको विषयमा समेत हरिबहादुर कार्कीले उजुरी दिएका छन् । हाल उजुरीमाथि छानबिन भइरहेको छ ।

Share this

प्रतिकृया

Add