लक्ष्मी आयल स्टोर्सको कालो धन्दा, जहाजमा प्रयोग भइसकेको इन्धन पेट्रोलमा मिसाएर बिक्री, प्रशासनले लगायो पम्पमा ताला

 बिहिबार, जेष्ठ ८, २०७७ | onlinenews

८ जेठ, रामेछाप– मन्थलीस्थित भैसेश्वरमा सञ्चालीत लक्ष्मी आयल स्टोर्सले पेट्रोलियम पदार्थमा मिसावट गरेको खुलासा भएको छ । विगत चार दिन यता लक्ष्मी आयल स्टोर्समा पेट्रोल हालेका करिब एकसय वटा मोटरसाइकलमा समस्या आएको छ ।
लक्ष्मी आयल स्टोर्समा पेट्रोल हालेपछि मोटरसाइकलको इन्जीन स्टार्ट नहुने, स्टार्ट भइहाले पनि पिकआप नदिनेजस्ता समस्या आएको मोटरसाइकल चालकहरुले बताएका छन् । कतिपय मोटरसाइकलहरुका इन्जीनमा समेत समस्या आएको बताइएको छ ।
गएको मंगलबार मन्थली नगरपालिका–४ का बिमल काफ्लेले लक्ष्मी आयल स्टोर्समा पेट्रोल हालेका थिए । उनको मोटरसाइकलमा पेट्रोल रिर्जभमा आएपछि लक्ष्मी आयल स्टोरमा गएर १ हजार ५ सय रुपैयाँको पेट्रोल हालेका थिए । पेट्रोल भरेर केही समय गुडेपछि मोटरसाइकलको स्टार्ट बन्द भएको काफ्लेले बताए । मोटरसाइकल स्टार्ट नभएपछि कार्पेटर र प्लग समेत फेर्दा पनि स्टार्ट नभएपछि मात्रै पेट्रोलको खराबि भएको पत्ता लागेको काफ्लेले बताए । पेट्रोलमा खराबि भएको थाहा भएपछि पेट्रोल फिर्ता गरेर पैसा लिएर आएँ उनले भने ।
त्यस्तै मन्थली नगरपालिका–५ का राजु श्रेष्ठले पनि लक्ष्मी आयल स्टोर्समा पेट्रोल हालेपछि मोटरसाइकलमा समस्या आएको बताए । लक्ष्मी आयल स्टोरमा हालेको पेट्रोल निकालेर अर्को पेट्रोल हालेपछि मोटरसाइकल चलेको उनले बताए ।


मन्थलीमा ब्यापार ब्यवसाय गर्दै आएका सुरेन्द्र ठाकुरले मोटरसाइकलको ट्यांकीभरि पेट्रोल भएर पनि इन्जीन स्टार्ट नभएरपछि पेट्रोल निकालेर हेर्दा पेट्रोलको कलर नै फरक पाइएको बताए । पेट्रोल भुइमा पोखिदा एकैछिनमा उडेर जान्छ तर त्यो घण्टौसम्म पनि भुइमा चिसो दाग बनेर बसिरहन्छ ठाकुरले भने ।
सर्वसाधारण नगरिकको मोटरसाइकलमा मात्र होइन प्रहरीको मोटरसाइकलमा समेत त्यो समस्या आएको थियो । लक्ष्मी आयल स्टोर्समा पेट्रोल हालेपछि मोटरसाइकल स्टार्ट नहुने र पिकअप नआउने समस्या भएपछि त्यो पेट्रोल फिर्ता गरेर अर्कै पम्पमा गएर पेट्रोल हालेको अनौपचारिक संवादको क्रममा एक प्रहरीले बताए ।
केहीदिन यता मोटरसाइकलको ट्यांकीको कार्पेटरमा समस्या भएर बनाउन आउनेको संख्या बढिरहेकोे मन्थलीस्थित मोटरसाइकल वर्कशपहरुले बताएका छन् । समस्या आएको मोटरसाइकलको पेट्रोल निकालेर हेर्दा एक पटक प्रयोग भइसकेको हवाई इन्धन मिसावट गरिएको पाइएको सम्बन्धित क्षेत्रका जानकारहरुले दावि गरेका छन् ।
तीन हजार लिटर पेट्रोलमा १ हजार पाँचसय लिटरसम्म हावाई इन्धन मिसावट गर्दा थाहा नपाइने भएपनि लक्ष्मी आएर स्टोर्सबाट हालेको पेट्रोलमा ५० प्रतिशतजस्तै मिसावट रहेको जानकारहरुको भनाई छ ।
यस विषयमा लक्ष्मी आयल स्टोरका सञ्चालक केशवप्रसाद घिमिरेले भने पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरको च्याम्बर लिग भएर डिजेल र पेट्रोलमा मिसिन पुगेको बताए । जानाजानी नभई ट्यांकर लिग भएको कारण समस्या आएको घिमिरेको भनाई छ । तर त्यस क्षेत्रका अन्य ब्यवसायिका अनुसार ट्यांकरको च्याम्बर लिग हुने कुनै सम्भावना नै रहँदै ।
पेट्रोलियम पर्दाथमा मिसावट भएको सूचना बाहिर आएपछि जिल्ला प्रशासन कार्यालय रामेछापले सो पेट्रोल पम्प अनुगमन समेत गरेको छ । अनगुमनको क्रममा पेट्रोल पम्पको नोजल बिग्रिएको पाइएको र स्याम्पल लिन नसकिएकाले मिस्त्री झिकाएर नजोल नबनाउनजेल सम्मको लागि पम्पमा अनुगमन टोलीले ताला लगाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए ।

प्रतिकृया

Add