मधेशी मोर्चाको माग बारे अस्पष्टता मधेशको लागि अभिषाप

 सोमवार, चैत्र ७, २०७३ | onlinenews

बिपी साह
पहिलो मधेश आन्दोलनको मुख्य माग थियो ‘आत्म निर्णयसहितको स्वायक्त मधेश एक प्रदेश’ । यसै नाराले राजावादीबाट एमाले र एमालेबाट माओवादी भएका उपेन्द्र यादवलाई मधेशको मसिहा बनायो । मधेशको नाममा खोलिएको एनजीओ मधेशी जनअधिकार फोरम रातारात पार्टीको रूपमा रूपन्तार भयो । उपेन्द्र यादव एउटा एजेण्डामा अडिग रहन नसक्ने र मधेशीप्रति उत्तरदायि हुनुभन्दा बढी व्यक्तिगत महत्वकांक्षी भएको भन्दै मधेशमा तराई मधेश लोकतान्त्रिक पार्टीको गठन भयो । भारतले नेपाली काँग्रेस र राप्रपामा रहेका आफ्ना विश्वास पात्रहरूलाई राखेर सुन्योजित रूपमा तमलोपा गठन गरेको आरोप पनि छ ।
यता स्व.गजेन्द्रनारायण सिंहको उत्तराधिकारी बन्ने दाउमा सद्भावना टुक्रा टुक्रामा विभक्त थियो । आन्दोलनमा उसले पनि मलजल पायो र राजेन्द्र महतो ठूलो नेता भए । दोस्रो मधेश आन्दोलन पश्चान सुरू भएको मधेशी नेताहरूको गठजोर अर्थात मधेशी मोर्चाले जहिले पनि नेताहरूको रक्षा गरेको छ मधेशी जनताको होइन । मधेशवादी दललाई सरकारले वा सरकार पक्षीय दलले सोधखोज गर्न छोडे पछि वा सरकारको लागि भागबण्डा चाहिएको बेला मोर्चा सक्रिय हुने गरेको छ । अहिलेसम्म मधेशी मोर्चा मधेशको माग बारे प्रष्ट हुन नसक्नु मधेशीका लागि लाजमर्दो कुरा हो । हालसम्म मधेशी मोर्चाले उठाएका माग र गरेका कामको उदाहरण हेरौं ।
उपेन्द्र यादव आत्म निर्णयसहितको स्वायक्त मधेश प्रदेशको आन्दोलनबाट नेता भए । उनले मधेशी जनअधिकार फोरम गठन गरी मधेशको भावनालाई साथ गरे ।
उपेन्द्र यादवले आत्म निर्णयको अधिकारको माग छोडे । स्वायक्त मधेश प्रदेश पनि छोडे र एक मधेश एक प्रदेशको माग पनि छोडे । त्यती मात्र होइन मधेशीको भावना जोडिएको मधेशी फोरम भन्ने संगठनबाट मधेशलाई नै फाले । मधेशको भावना जोडिएको फोरमलाई जातीय संगठन बनाए ।
महन्थ ठाकुरले ‘सत्ता नही प्रभु सत्ता चाहिए’ जस्ता नारा लगाए । मधेशमा कम्युनिष्ट फाप्दैन भन्दै प्रजातान्त्रिक धार खडा गर्ने आश्वासन दिलाए । स्वच्छ छवीको सन्त नेता भएर आए । प्रभु सत्ता त टाँढाको कुरो सत्ता मै जान पार्टी विभाजन गराए । जातीय राजनीतिलाई प्रसय दिए । कम्युनिष्ट फाप्दैन भन्दै आएको तमलोपा कम्युनिष्ट सरकारमा सहभागी भए र अहिले पनि त्यसैलाई समर्थन गर्दैछ । ठाकुरले आफ्नो स्वच्छ छवी पनि जोगाउन सकेन । छोरीको विहेभन्दा अगाडि दाईजो स्वरूप सम्धनीलाई सभासद पद बाँडे र विहे पछि सम्धीलाई पार्टीको पदाधिकारी ।
मधेशको सबभन्दा पुरानो पार्टी र नेपालमा संघीयताको माग गर्ने श्रय बोकेको राजेन्द्र महतोको अवस्था के छ त ? नागरिकता, समावेशीताको आवाज उठाउने पार्टी । संविधानसभा र संसदबाट राजिनामा गरेको पार्टी । केन्द्रीय कार्यालय मधेशमा सारेको पार्टी । राजेन्द्र महतोले पार्टी यत्ति टुक्रा गरे कि नेपाली कम्युनिष्ट पार्टीहरूलाई पनि पछाडि छाडे । स्व.गजेन्द्रनारायण सिंहको मुल्यमान्यता भन्दा कोसौं पर लगेर पार्टीलाई प्राईभेट कम्पनी बनाए । श्रीमतिलाई सांसद बनाएर आफ्नो साख नै गिराए । संविधानसभा र संसदबाट राजिनामा दिएको घोषणा गरे तर भोली पल्टै बोली फेरे । संसदबाट तलबभत्ता अहिलेसम्म खाँदैछ ।
ठूलो हल्लीखल्ली मचाउँदै पार्टी केन्द्रीय कार्यालय मधेशमा सारेको राजेन्द्र महतोले रातारात कार्यालय मधेशबाट काठमाडौं सारे । केपी ओलीलाई आन्दोलनमा गाली गर्दै माग पुरा नभएसम्म काठमाडौं नफर्किने भनेका महतो ओलीले चिया खान बोलाएपछि रातारात काठमाडौं झरे । माग पुरा हुनु त परैको कुरा मधेशी आन्दोलनकारीमाथि लागेको मुद्दासमेत फिर्ता भएन । पहिलो र दोस्रो मधेश आन्दोलनबाट उठेका अन्य मागहरू मध्ये नेपाली सेनामा दश हजार मधेशीलाई प्रवेश गराउनु एउटा मुख्य माग थियो ।
दश हजार मधेशीलाई नेपाली सेनामा प्रवेश गराउनु त परैको कुरा कपाल काट्न, भाँडा माज्न नेपाली सेनामा प्रवेश गर्ने मधेशीहरूको संख्या झन् घट्दै गएको छ । तीनवटै मधेश आन्दोलनमा सहिद भएका परिवारको एक जनालाई रोजगारी, मुद्दा फिर्ता र दोषीलाई कारवाहीको माग मोर्चाले गरेको थियो । पहिलो मधेश आन्दोलनका सहिद बीरेन्द्र ठाकुर(धनुषा बीरेन्द्रबजार) को आन्दोलनको क्रममा नेपाल प्रहरीद्धारा हत्या भएपछि उनकी आमा सडकमा भिख मागेर गुजारा गरिन् । हठाकठा देखिने उनकी आमा एक मात्र छोरा मारिएको वियोगमा केही वर्ष्मित्रै स्वर्गबास भइन् । बीरन्द्र एउटा उदहारण मात्र हुन् । यस्ता करिब डेढ सय सहिद परिवारको अवस्था यस्तै छ । र, मोर्चाका नेताहरूले काठमाडौंमा महलमाथि महल थप्दैछ । दोषी सुरक्षा अधिकारीलाई कारवाही गर्ने कुरा परै जाओस् मधेशी मोर्चा सरकारमा हुँदा मधेश आन्दोलनका पहिलो सहिद रमेश महतोका हत्यारालाई राजदुतको सिफारिस गरेका थिए ।
तेस्रो मधेश आन्दोलन एक वर्षसम्म चल्यो । सरकारमा सहभागी नहुने, समानान्तर सरकार चलाउने जस्ता कुरा मोर्चाका नेताहरूले गरे । उपेन्द्र यादवले त सडकबाटै संविधान घोषणा गर्ने भाषण ठोक्दै हिडे । अवस्था यस्तै रहे नेपालबाट मधेश टुक्रिन सक्ने चेतावनी मधेशी मोर्चाका सबै नेताहरूले दिएका थिए । उपेन्द्र यादवले ठूलै मिडियामा मधेश टुक्रिन सक्ने बताए । महन्थ ठाकुरले मधेशलाई अलग हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिए ।
राजेन्द्र महतोले सबभन्दा पहिले भनेका थिए, अव मधेशी जनताको मुड परिर्वतन हुँदैन स्वतन्त्र मधेश माग्दैछ । महेन्द्र यादवले देशको नक्सा परिर्वतन हुन सक्ने बीरगञ्जमा बताए । शरत् सिंह भण्डारीले विभेदबाट विद्रोह र विद्रोहबाट विखण्डन हुने बताउँदै अब विखण्डन हुने चेतावनी दिए । समानान्तर सरकार चलाउने धम्की दिएको मोर्चाले आन्दोलन जारी रहँदा सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन मतदान गर्न गए । आन्दोलनताका स्वतन्त्र मधेशको पक्षमा आफुहरू पनि रहेको देखाउने मधेशी मोर्चाका नेताहरू लाहान घटना पछि स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई कारवाही गर्न सरकारलाई दबाब दिए । (मधेश दर्पण फिचर सेवा)

प्रतिकृया

Add