वासिङ्गटन डिसीमा हजारौं उत्रिए प्रदर्शनमा

 आइतवार, जेष्ठ २५, २०७७ | onlinenews

२५ जेठ, काठमाडौ– अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा दशौँ हजार मानिसले प्रदर्शन गरेका छन् । मिनेसोटाको मिनियापोलिसमा अश्वेत व्यक्ति जर्ज फ्लोयडको प्रहरी हिरासतमा मृत्यु भएको विरोधमा शुरु भएको प्रदर्शनले संस्थागत रुपमा रहेको रंगभेद र प्रहरी ज्यादती विरोधी आन्दोलनको रुपमा लिएको छ ।
अमेरिकामा लगातार १२ दिनदेखि प्रदर्शन भइरहेको छ । फ्लोयडको गएको मे २५ मा प्रहरी हिरासतमै मृत्यु भएको थियो । उनलाई स्थानीय प्रहरी अधिकारीले पक्राउ गर्ने क्रममा घुँडाले घाँटीमा लगातार झण्डै नौ मिनेट थिचेका थिए । फ्लोयडले ‘मैले सास फेर्न सकिरहेको छैन’ भन्दा पनि प्रहरी अधिकारीले घाँटीबाट घुँडा हटाएका थिएनन् । त्यसको केही समयपछि फ्लोयडको मृत्यु भएको थियो । त्यो घटनाको भिडियो सार्वजनिक भएपछि अमेरिकासहित विश्वभर रंगभेद विरुद्ध प्रदर्शन भइरहेको छ ।
प्रदर्शनको क्रममा केही स्थानमा लुटपाट, तोडफोड तथा आगजनी समेत भएका छन् । तर शान्तिपूर्ण प्रदर्शनमै पनि सत्ताको बलमा प्रहरीले ज्यादती गरेको भन्दै तीव्र आलोचना भइरहेको छ । अमेरिकासहित अरु देशमा पनि रंगभेदविरुद्ध प्रदर्शन भएको छ । बेलायतमा पनि हजारौँ मानिस सहभागी भएर प्रदर्शन गरेका छन् ।

प्रतिकृया

Add