जोखिम कम भएका देशमा श्रमिक पठाउने सरकारको तयारी

 बिहिबार, असार ११, २०७७ | onlinenews

११ असार, रामेछाप– कोरोना संक्रमणको जोखिम बढेसँगै बन्द भएको वैदेशिक रोजगारी सरकारले पुनः खुलाउने निर्णय गरेको छ । वैदेशिक रोजगारीबाट विदामा आएका तथा पहिलो पटक जान चाहनेलाई पनि श्रम स्वीकृति दिने निर्णय सरकारले गत शुक्रबार गरेको थियो ।
तर श्रम स्वीकृतिका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिस अनिवार्य चाहिने व्यवस्था गरेको छ । सरकारको निर्णयपछि श्रम मन्त्रालयले काम समेत थालिसकेको जनाएको छ ।
‘हामी समन्वय गरिरहेका छौं, तत्कालै श्रम स्वीकृति खुलाउनको लागि कार्यविधि र प्रक्रियाहरु निर्धारण गर्ने श्रम मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीमा जान चाहनेले स्वास्थ्यको मापदण्ड पालना गरेर जानुपर्ने हुन्छ, श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले भने– यो विषय तीन, चारवटा कुरासँग जोडिएको छ ।
कोरोना महामारीका कारण बिदामा घर फर्किएकाहरु फेरि कामका लागि विदेश फर्कन पाएका छैनन् । उनीहरुलाई पुनः श्रम स्वीकृति दिएर पठाउन सम्बन्धित देशको दूतावास तथा देशहरुसँग पनि समन्वय गर्नुपर्ने भएकाले यी सबै कुरा समन्वय हुनेगरी कार्य प्रक्रियाहरु निर्धारण गरिने प्रवक्ता घिमिरेले बताए । तत्कालको लागि कोरोना महामारीको जोखिम कम रहेका देशमा श्रमिक पठाउने सरकारको तयारी छ ।
प्रवक्ता घिमिरेले भने–‘मलेसियामा संक्रमणको दर निकै घटेको र त्यहाँको उद्योग व्यवसायहरु सामान्य अवस्थामा सञ्चालनमा आएको छ । जोखिम नहुने गरी वैदेशिक रोजगारीमा जाने कुरालाई व्यवस्थित गर्दै जानुपर्छ उनले भने ।
सरकारले वैदेशिक रोजगारीमा श्रमिकलाई जान दिने निर्णय गरे पनि नेपालीको मुख्य श्रम गन्तव्य देशले भने यात्रुलाई प्रवेशमा रोक नै लगाएका छन् । कतिपय देशमा अन्तर्राष्ट्रिय उडान बन्द नै छ भने खुलेका देशले पनि केही निश्चित यात्रु बाहेक अरुलाई प्रवेशमा रोक लगाएका छन् ।

प्रतिकृया

Add