टाटा स्टिलद्वारा बेलायत सरकारसँग वार्ताको तयारी

 बिहिबार, असार ११, २०७७ | onlinenews

११ असार, काठमाडौं–बेलायतको सबैभन्दा ठूलो स्टिल निर्माता कम्पनी टाटा स्टिलले त्यहाँको सरकारसँग वित्तीय उद्धारका लागि वार्ता गरेको छ । सरकारबाट करोडौं पाउन्ड बराबरको वित्तीय उद्धार प्राप्त गर्ने क्रममा टाटा स्टिल रहेको समाचार सार्वजनिक भइरहेकै बेला कम्पनीले वार्ताको पुष्टि गरेको हो ।
स्थानीय पत्रिका फाइनान्सियल टाइम्सका अनुसार केही दिन भित्रै वित्तीय उद्धारसम्बन्धी सम्झौतामा सहमति हुन सक्नेछ । यसले करीब ८ हजार बेलायती रोजगारी बचाउनेछ ।
कोरोना भाइरसको महामारी आउनुभन्दा अगाडि नै स्टिल उद्योग समस्यामा थियो । तर महामारीका कारण अहिले माग थप घटेको छ । ‘हामीहरुले बेलायत र हामीले व्यवसाय सञ्चालन गरिरहेका क्षेत्रका सरकारसँग निरन्तर सहयोग खोजिरहेका थियौं,’ टाटाले भनेको छ ।
अहिले सरकारहरुसँग भइरहेको छलफलबारे प्रतिक्रिया दिनु उपयुक्त नहुने कम्पनीको भनाइ छ । फाइनान्सियल टाइम्सका अनुसार वित्तीय उद्धार कर्जाको स्वरुपमा हुनेछ ।
तर पछि केही गरी कम्पनीले यसको भुक्तानी गर्न सकेन भने यसलाई शेयरमा परिणत गर्न सकिने छ । यसको अर्थ ३० वर्षमा पहिलो पटक ब्रिटिश स्टिलमा सरकारको स्वामित्व हुनेछ ।
कर्जाले कम्पनीको बेलायती व्यवसायलाई टेवा दिनेछ । कम्पनीले ५० करोड पाउन्ड बराबरको सरकारी कर्जा खोजिरहेको थियो । सरकारले स्टिल मात्रै होइन अन्य विविध क्षेत्रका कम्पनीहरुसँग समेत नियमित वार्ता गरिरहेको छ ।

प्रतिकृया

Add