विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो

५० लाखभन्दा बढी निको भए, करिब ५ लाखको मृत्यु

 आइतवार, असार १४, २०७७ | onlinenews

असार १४, रामेछाप,

कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । जोन्स होप्किन्स विश्व विद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार आईतबार दिउँसो कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड नाघेको हो ।

यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा संक्रमितको संख्या एक करोड एक हजार ५ सय २७ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ९९ हजार १ सय २४ रहेको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये ५० लाख ६५ हजारभन्दा बढी निको भएका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा बिश्वकै बढी प्रभावित अमेरिकामा आइतबार दिउँसोसम्म २५ लाखभन्दा बढी मानिसहरु संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा एक लाख २५ हजारभन्दा बढी मानिसहरुको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब ६ लाख ८० हजार रहेको छ ।

त्यस्तै अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलमा करिब १३ लाख १३ हजार संक्रमित भएका छन् भने करिब ५७ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ७ लाख २७ हजारभन्दा बढी मानिसहरु यस संक्रमणबाट निको भएका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेको रुसमा संक्रमितको संख्या करिब ६ लाख ३३ हजार नाघेको छ । रुसमा कोरोना संक्रमणबाट ९ हजार ६० जनाको मृत्यु भएको छ । रुसका ३ लाख ९८ हजारभन्दा बढी निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणको हिसाबले अमेरिका, ब्राजिल र रुसपछि चौथो स्थानमा भारत  रहेको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख २८ हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब ३ लाख ९ हजार निको भएका छन् ।

विश्वका विभिन्न देशमा लकडाउन खुकुलो गरेसँगै कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठनले संक्रमण अझ बढ्न सक्ने चेतावनी दिँदै पूर्वसावधानी अपनाउन आग्रह गरेको छ ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । कोरोना भाईरसको कारण मृत्यु हुनेको संख्या २८ पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल पनि संक्रमणको उच्च जोखिममा रहेको बताउँदै आएको छ ।

प्रतिकृया

Add