मधेसी मोर्चालाई चुनावमा ल्याउने बारे चारदलबीच छलफल

 मङ्लबार, चैत्र ८, २०७३ | onlinenews

८ चैत, काठमाडौं । मधेसी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागि गराउनले बारेमा ठूला ४ राजनीतिक दलबीच छलफल भएको छ । वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा मधेसी मोर्चालाई कसरी सहभागि गराउन सकिन्छ भन्ने बारेमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाकोबीचमा छलफल भएको हो ।
प्रमुख चार दल भने घोषित मितिमै निर्वाचन गर्नेमा प्रतिबद्ध भएका छन् । नेपाली कांग्रेस, एमाले, माओवादी र राप्रपाका शीर्ष नेताहरुबीच सोमबार साँझ भएको छलफलमा वैशाख ३१ को चुनाव मिलेर सम्पन्न गर्ने र निर्वाचन गरे वापत उत्पन्न हुने समस्याको पनि मिलेर नै समना गर्ने समझदारी समेत भएको छ ।
मधेसी मोर्चाको असन्तुष्टि सम्बोधन गर्दै चुनावमा ल्याउन पहल गर्ने पनि चार दलको बीचमा समझदारी भएको छ । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले वैशाख ३१ को चुनाव कुनै हालतमा हुने भन्दै शंका नगर्न आग्रह गरेका थिए ।
सिंगो देश चुनावको समर्थनमा रहेको र तराई मधेसका जनता पनि चुनावको पक्षमा भएको आफ्नो बुझाई रहेको प्रधानमन्त्री प्रचण्डले बताए । आपूmले मधेसी मोर्चा र गठबन्धनलाई पनि यही कुरा भनेको भन्दै चुनाव गरेरै छड्ने बताए ।
सीमांकन बाहेकका विषय सम्बोधन गरेपछि मधेसी मोर्चा चुनावमा जान तयार हो कि होइन भन्ने बारेमा समेत मोर्चासँग छलफल गरेको प्रधानमन्त्री प्रचण्डले बताएको छलफलमा सहभागि एक नेताले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस नेताहरुले संविधान चार दलले मिलेर बनाएको भन्दै यसको कार्यान्वयन गर्ने जिम्मा पनि चार दलकै भएको बताएका छन् । साथै चार दल मिलेर नै मोर्चाको असन्तुष्टिहरुलाई सम्बोधन गर्नु पर्नेमा कांग्रेसको जोड छ ।
प्रमुख प्रतिपक्षी दल एमलेका नेताहरुले भने सीमांकन बाहेकका अन्य विषयमा छलफल गर्न सकिने संकेत दिएका छन् ।
सत्तारुढ दल र मधेसी मोर्चाको फरक फरक धारणा आइरहेको भन्दै एमाले नेता सुवास नेम्वाङले तपाईहरुले के कुरा गर्नु भएको छ ? के गर्दा उहाँहरु चुनावमा भाग लिनु हुन्छ भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए । यसक्रममा मधेसी मोर्चा र गठवन्धनलाई कसरी सम्बोधन गर्ने भनेर गृहकार्य गर्ने प्रचण्डले बताएको भन्दै सरकारले आवश्यक गृहकार्य गरेपछि आफूहरु छलफलमा बस्ने एमाले नेता नेम्वाङले बताए ।

प्रतिकृया

Add