‘कुवेतमा हुने कामदारको पिडा– तीन महिनादेखि एक छाक खाएर जीवन धानिरहेका छौं’

 बुधबार, असार १७, २०७७ | onlinenews

१७ असार, रामेछाप– बिदेश जाने सवैले कमाउने सपना देखेका हुन्छन् ।  कमाउन गएको मानिस आफैं भोकभोकै बस्नुपर्ला भनेर कसले सोचेको हुन्छ र ? साहुसँग ऋण काढेर भविष्यका लागि चाहिने सम्पत्तिको जोहो गर्न सपनाको सहर जानेहरुले पक्कै पनि अभावको जीन्दगी सोचेकै हुँदैनन् ।

तर कहिलेकाहीँ नसोचेकै भइदिन्छ । कुवेत पुगेका मकवानपुरका अदिप कुमार मोक्तान लगायत अरु नौ जनाको अवस्था अहिले यस्तै छ ।

कुवेतको फरवानियाँ भन्ने ठाउँ । तीन महिना अघिसम्म बेकरी पसलमा उनीहरुको दैनिकी बित्थ्यो । तर अप्रिल १२ मा लकडाउन भएदेखि सबैजना एउटा बन्द कोठाभित्र लकडाउन खुल्ने आशमा दिन गनेर बसिरहेका छ । यी तीन महिनामा भोको पेटसँग सम्झौता गर्नुपरेको छ, दिनमा एक छाक मात्र खाएर ।

‘यो तीन महिनाको जस्तो समस्या त जीवनमा कहिले पनि भोगेको  थिइनँ’ अदिप भन्छन्, ‘तीन महिनादेखि एक छाक मात्र खाएर जीवन धानिरहेका छौं ।’

नेपालमा हुँदा रोजगारी नभए पनि यसरी पेटसँग सम्झौता गरेर बस्नु परेको थिएन । तर कुवेत पुगेपछि अहिले तीन महिनाको अवधिमा जीवनको नमिठो स्वाद भोगिरहेका छन् । अदिप लगायत सबैजनाले ।

साहुले हेरेनन्, दूतावासले पनि सुनेन

साहुले केही सहयोग गरेको भए एक छाक खानुपर्ने अवस्था आउँदैनथियो भन्ने लाग्छ अदिपलाई । सबैजना एउटै कम्पनी, बेकरी फ्याक्ट्रीमा काम गर्थे । कुवेत सरकाले देशव्यापी लकडाउन घोषणा गरेपछि बेकरी बन्द भयो । बेकरी बन्द भएपछि साहुले पनि हेर्न छाडे । साथमा भएको पैसा सकियो । खान समस्या भयो भनेर फोन गर्दा साहुले फोन उठाउन छोड्यो । त्यसपछि सुरु भयो भय र भोकको दैनिकी ।

‘लकडाउन हुनुभन्दा पहिले पनि साहुले दुई महिनाको एक पटक तलब दिन्थे’ अदीप भन्छन्, ‘लकडाउन भएपछि त तलब दिएकै छैन, काम गरेको दुई तीन महिनाको तलब रोकेर राखेको छ हामीहरुको ।’

सुरुमा त लकडाउन मात्र थियो । पछि त्यस क्षेत्रमा कोरोना सङ्क्रमित धेरै देखिएपछि कुवेत सरकाले त्यो ठाउँलाई नै सिल गरिदियो । कर्रफ्यू पनि लगायो । त्यसपछि समस्यामाथि झन् समस्या थपिए । अब त कसैलाई सहयोग मागौं भने पनि न कोही त्यो ठाउँसम्म आउन सक्थे, न त त्यो ठाउँबाट बाहिर नै जान मिल्थ्यो ।

दूतावासबाट भन्न लगाएर जसोतसो एकपटक साहुले एक सय कुवेती दिनार त दिए । तर त्यति रकमले नौ जनालाई खान बस्न कति दिन चल्थ्यो र ? साहुले दिएको एकसय केही दिनमै सकियो । बीचमा लकडाउनले गर्दा खानेकुराको भाउ आकासियो । त्यतिबेला खानेकुराको जोहो गर्दा सवैको गोजी रित्तियो ।

त्यसपछि साहुले फोन उठाउनै छाडे । सबैजना निकै आत्तिए । पराईको देश आत्तिनु पनि स्वभाविक हो । अर्काको ठाउँ, त्यो पनि कफ्र्यु लागेको बेला । साथमा पैसा छैन, खाद्यान्न सकियो । भोकभोकै मरिने हो कि भन्ने चिन्ताले पिरोल्न थाल्यो ।

सहयोगको लागि उनीहरुले नेपाली दूतावासमा फोन गरे । तर दूतावासले एकले अर्कोलाई, अर्कोले अर्कोलाई फोन गर्न मात्र लगाइरहे । आफ्नो गुनासो सम्बोधन भएन भन्नुहुन्छ अदिप ।

फेसबुकमार्फत पाइयो राहत

त्यसपछि के गर्ने ? कसैसँग पनि केहि उपाय थिएन । भोको पेटले न उपाय सुल्झाउँछ न त हौसला नै दिन्छ ।

अब फेसबुकमा हारगुहार गर्नुको विकल्प नै थिएन । त्यसपछि सबैजनाले आफू समस्यामा परेको भनेर फेसबुकमा राखेपछि ‘कुवेत रेस्पोन्स’ले समस्या सुन्यो ।

‘कुवेतमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने एक समूह रहेछ, उहाँहरुले नै हाम्रो समस्या बुझ्नुभयो र यहाँसम्म पुगेर राहत दिएर जानुभयो’, त्यो दिन सम्झेर अझै पनि अनुहारमा मुस्कान छाउँछ अदिपको । यसरी सहयोग नपाएको भए अहिलेसम्म अवस्था कस्तो हुन्छ, उनीहरु सोच्न पनि सक्दैनन् ।

राहतमा २५ किलो चामल, आधा किलो दाल, पास्ता र केही यस्तै फास्टफुड पाउनुभएको थियो । दिनमा एक छाक खाएर जसोतसो आजसम्म चल्यो, अब त्यो पनि सकिन थालिसक्यो । फेरि अब के गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ उनीहरुलाई ।

कोठाबाट निकालिने डर

खान बस्न निःशुल्क भन्ने शर्तमा सबैजना कुवेत पुगेका हुन् । त्यही अनुसार थियो पनि । सबैजना साहुले भाडामा लिएर राखेको फ्ल्याटमा बस्थे । तर लकडाउन भएपछि साहुले फ्ल्याटको भाडा नतिरिदिँदा फ्ल्याट साहुले बिजुलीको तार, वाइफाइ काटिदिने गरेको अदिप सुनाउँछन् ।

कुवेतको ५० डिग्रीको गर्मीमा बिजुली बिना बस्नुपर्दाको पीडा झन् सम्झनै नसकिने बताउँछन् । तर पछिल्लो समय त्यहाँको सरकारले लकडाउनको अवधिभर बिजुली नकाटिदिनु भनेपछि केही राहत भएको भए पनि साहुले भाडा नतिरिदिने हो भने आफूहरुको बिचल्ली हुने उनीहरु बताउँछन् ।

दूतावासको सूचीमा नाम त आयो, तर जाने कसरी ?

उनीहरुको समस्या थाहा पाएपछि दूतावासले फर्किनेको सूचीमा नाम राखिदिएको छ । अब दूतावासले निर्णय गरेर फर्किने दिन पनि तोक्छ । तर आफूहरुसँग एक छाक टार्नसमेत समस्या भइरहेको बेला त्यति महंगो भाडा तिरेर घर फर्किन नसक्ने बताउँछन्, अदिप ।

अदिपले काम गरेको डेढ महिनाको तलब एकसय ६० कुवेती दिनार लिन बाँकी छ । त्यँहा बस्ने कसैको दुई महिनाको तलब लिन बाँकी छ । त्यो पैसा साहुले दियो भने त जान हुन्थ्यो भन्ने लागेको छ सबैलाई । तर साहूले फोन नै उठाउँदैन, यही कुराले त्याँहा बस्नेहरु सबै निराश छन् ।

‘ १ सय ३० केडी भाडा तोकेको छ जहाजको, हामीसँग एक कौडी पनि छैन’, अदिप भन्छन्, ‘साहूले काम गरेको महिनाको तलब दियो भने त्यसैमा जान हुन्थ्यो, तर साहु पनि फोनै उठाउँदैन ।’

आम माफीमा सहभागी भएकाहरुलाई त त्यहाँको सरकारले आफ्नै खर्चमा नेपालसम्म ल्याइदिएको छ । तर आफूजस्तै समस्या भएकाहरुलाई सरकारले के गरिरहेको छ अदिपलाई थाहा छैन ।

पैसा तिरेर टिकट काट्न नसक्नेहरुलाई सरकारले निःशुल्क ल्याइदिने भनिए पनि कहिले हुन्छ र त्यसमा आफू पनि परिने हो कि होइन कुनै भर नभएको जस्तो लाग्छ अदिपलाई ।

सरकारले विदेशमा गएर एक वर्षभन्दा कम समय भएकाहरुलाई मात्र फर्काउने भन्ने सुनेको भए पनि त्यसभित्र आफू परिंदैन भन्ने अदिपलाई थाहा छ । किनकी उहाँ कुवेतमा जानुभएको दुई वर्ष पुग्न लाग्यो ।

अन्तिम भरोसा भनेको साहु नै भए पनि उसले आफूले बेकरी बेचिसकें तिमीहरु जे गर्छौ गर भनेर फोन उठाउन छाडेपछि अदिप लगायत सबै जना आत्तिएका छन् ।

‘न त सरकारले नै केही गर्छ न त साहु नै जिम्मेवार छ’, अदिप प्रश्न गर्छन्, ‘के अब हामी भोकभोकै छटपटाएर मर्ने त ?’

प्रतिकृया

Add