जगदीश दाइसँगको सिकाई

 मङ्लबार, असार २३, २०७७ | onlinenews

डा.सुमन कर्माचार्य


जगदीश घिमिरेसँग दिलले दिल चिनेको बि.सं २०४६ सालदेखि हो । मेरो पेशागत कामको गुरु तथा समाज कल्याणमा लाग्ने प्रेरणा बि.सं २०५० सालदेखि प्राप्त भयो । साहित्य पढने मात्र होइन लेख्ने प्रेरणा बि.सं २०६४ देखि प्राप्त गरे । उहाँसँगको अन्तरंग सम्वन्धका बारेमा अभिब्यक्ति, जगदीश स्मृति अंक, पूर्णांक १७३, भदौ असोज २०७१ मा नगेन्द्रराज शर्मा दाइको प्रेरणाबाट लेखे । तर यहाँ अलि भिन्न बिषय, समाजमा पछाडि पारिएका समुदाय र नागरिकहरुलाई, उहाँको दुरदृष्टिले कसरी सामाजिक र आर्थिक प्रगति गर्न सहयोगी भयो । मलाई कसरी खासमा मानिस बन्न मद्दत गर्यो भन्ने बारेमा संक्षिप्त बिबेचना गर्न चाहन्छु ।
तामाकोशी सेवा समितिको स्थापनाको मुल ध्येय हो, अशक्तलाइ सशक्त बनाउने । त्यस अनुरुप समुदायका नागरिकहरु खासगरी महिलाहरुको आर्थिक उन्नतिका लागि रामेछाप जिल्लाका १२० भन्दा बढी महिलाहरुको समूहहरुमा बचत तथा ऋणको सुभारम्भ भएर हाल धेरै सहकारी संस्थाहरुको स्थापना भएका छन् । यसमध्ये मन्थली बचत तथा ऋण सहकारी संस्था रामेछापको अग्रणी संस्थाको रुपमा रहेको छ, जसले तामाकोशी अस्पतालको स्थापना कालदेखि झण्डै १२ बर्षसम्म अनवरत आर्थिक सहयोग गरिरहयो ।
जनसंख्यामा आधा भन्दा बढी महिलाहरु रहेको र उनीहरुको स्वास्थ्य, शिक्षा,, पिउनेपानी ,चर्पी आदि समस्याहरुलाइ निराकरण गर्न तासेसले साक्षरता, खानेपानी, दीगो कृषि, चर्पी निर्माण र आधारभूत स्वास्थ्यको ब्यबस्था गर्याे । जो“जगदीश सामुदायिक विकास”को मुल मन्त्र हो । जुन अनुरुप रामेछापका गाउँ बस्तीले अहिलेसम्म आइपुग्दा राहत महसुस गरेका छन् । यस्ता लक्ष्य परिपूर्तिका लागि मन्थली बचत तथा ऋण सहकारी संस्था लि, तामाकोशी अस्पताल, जगदीश घिमिरे प्रतिष्ठान, तामाकोशी पुस्तकालय आदि संस्थाहरुको जन्म भएका हुन् ।
तामाकोशी सेवा समितिको ग्रामिण बस्तीमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने मूल उद्देश्यलाई अगाडि बढाउन म बि.सं २०५० सालदेखि सम्लग्न छु । जगदीश दाइको मार्ग निर्देशनमा मलाई विश्व विद्यालयले नपढाएको शिक्षा तर जो ब्यबहारिक, पेशागत र दैनिक जीवनका लागि आवश्यक पर्दछ, त्यो सिक्ने मौका पाएँ । स्वास्थ्य सेवा कार्यक्रमको लक्षित बर्ग ग्रामिण महिलाहरु थिए । हरेक महिनामा उनीहरुको टोलमा पुगेर स्वास्थ्य शिक्षा, आधारभूत स्वास्थ्य, परिवार नियोजन सेवा र आयआर्जन सिकाउने मुख्य काम थियो । किनभने त्यसबखत रामेछाप जिल्लाका महिलाहरुको औसत आयु ४९ बर्ष र साक्षरता ५ प्रतिशत मात्र थियो । बि.सं २०५७ सालमा महिला र शिशुहरुको मृत्युदर घटाउन रामेछाप जिल्लाका विभिन्न १२ स्थानहरुका लक्षित समुदायमा झण्डै ३ घण्टा पैदल यात्राको दुरीमा भेटिने गरि अनमी सहितको स्वास्थ्य केन्द्रको स्थापना भएको थियो तर देशको राजनीतिक द्वन्दका कारणले यो निरन्तर रहन सकेन ।
तामाकोशी सेवा समितिको स्थापनाकालदेखि नै मन्थलीको जगदीश दाइको घरको कोठाको बाकसबाट सञ्चालित स्वास्थ्य केन्द्र कच्ची एकतले घर पार गर्दै बि.सं २०५७ सालमा अहिलेको अस्पताल भवनमा आएपछि सानो अस्पतालको रुप लियो ।
राजनीतिक द्वन्व्दका कारण गाउँमा स्वास्थ्य केन्द्र सञ्चालन गर्न कठिनाइ भएपछि ती स्वास्थ्यकर्मीहरु यस अस्पतालमा संलग्न भएर पन्ध्र बेड हुँदै हाल २५ बेड अस्पतालका रुपमा सञ्चालीत छ । यस अस्पतालमा हाल विभिन्न उपकरणहरुको प्रयोगबाट बर्षेनी सालाखाला ३० हजार बिरामीहरुको रोगको निदान, उपचार, रेफर साथ साथै समय समयमा विशेषज्ञ सेवा उपलब्ध हुन्छ । ग्रामिण भेकमा निःशूल्क स्वास्थ्य शिविरहरु अनवरत सञ्चालीत छन् र उनीहरुलाइबाट छनोट भएर आएका बिरामीहरुलाई बिशेषज्ञ सेवा आवश्यकता पर्ने भएमा यही अस्पतालमा उपलब्ध गराइन्छ । यो कार्य जगदीश दाइको मनले भनेको अशक्तहरुलाई सहयोग गर्ने बिचारलाई कार्यरुप दिनका लागि हो, नेपालको संविधानले भनेको आधारभूत स्वास्थ्य सेवा निःशूल्क र घरदैलोमा पुर्याउने अभियान र प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाको दायित्व पूरा गर्ने र नागरिक र रोगहरुको नजिक पुग्ने कार्यक्रम हो ।
पाठेघर खसेका महिलाहरु पनि यसरी नै छनोट हुन्छन् । आज भन्दा २० बर्ष पहिले झण्डै ३० प्रतिशतका हाराहारीमा यो समस्या भेटिन्थ्यो । यसमा तत्कालिन जिविस, एसडीसी स्वीस संस्था, नारी निकुञ्ज, अष्टेलिया, (दुर्गा घिमिरेको सहयोगमा प्राप्त) मन्थली साकोस, तासेस लगायतका संस्थाहरुको प्रायोजन रहेको थियो । यो नेपालको पहिलो नमूना कार्यक्रम थियो । बि.सं २०६० सालबाट प्रारम्भ गरेर हालसम्म ५ सय महिलाहरुले निःशूल्क अपरेशन सेवा प्राप्त गरिसकेका छन् । तिलगंगा आँखा प्रतिष्ठान, (जसको स्थापना जगदीश घिमिरे र डा. सन्द्रुक रुइतले गर्नु भएको थियो) बाट बि.सं २०५८ देखि सञ्चालीत जिल्ला सामुदायिक आँखा केन्द्रले समुदाय र तामाकोशी अस्पतालमा झण्डै ४ हजार मोतियाबिन्दुको अपरेशन गरिसकेको छ ।
जगदीश घिमिरेका एक मित्र अष्ट्रेलियाका राजदुतका रुपमा नेपाल आउनु भएको थियो । उहाँको प्रयासमा ल्यावमा अटोमेटिक एनालाइजर, अल्टासाउण्ड, माइक्रोस्कोप, जेनेरेटर जस्ता सामग्रीहरु उपलब्ध भएका थिए । वि.सं २०६३ देखि धुलिखेल अस्पतालका डा. रामकण्ठ श्रेष्ठको सहयोगले जर्मन रोटरी भोलेन्टियर डाक्टर्सहरुको अनवरत सेवामा संलग्नता, रोटरी मित्र डा इल्मारको मद्दतले जर्मन रोटरी फाउण्डेशनको सहयोग र हाम्रो रोटरी क्लब, रोटरी क्लव अफ काभ्रे बनेपाको सहयोगले गुणस्तरीय दाँत सेवा र इमर्जेन्सी सेवालाई गुणस्तरीय बनाउन सकिएको छ । डा. इल्मारको रोटरी क्लबले एउटा एम्वुलेन्स र हाम्रा अर्का रोटरी मित्र डा. क्लेमेन्स र धुलिखेल रोटरी क्लवको सहयोगले स्वास्थ्य शिविर जानका लागि गाडीको बन्दोबस्त भयो ।
रुरल एसिस्टेण्ट नेपाल, युके, हेल्थ एक्चेन्ज, नेपाल, युके,र द लिटिल थिंग्स, युकेसंगको मेरो सम्वन्धले इण्डोष्कोपी, इको, टिएमटी मेशिन र सेवा प्राप्त हुनाका साथै युरोप, एशिया, अष्टेलियाका विभिन्न बिश्वविद्यालयबाट बर्षेनी झण्डै ३० जना मेडिकल स्टुडेण्टहरु स्वयंसेवी इलेक्टिभ र अनुसन्धानका लागि आउदछन् । दुर्गम क्षेत्रहरुमा स्वास्थ्य सेवा पुर्याउन सहयोग पुर्याउछन् । त्यस्तै नेपालका स्वास्थ्य सेवा ब्यबस्थापन बिषयका बिद्यार्थीहरु हाम्रो असल प्राक्टिसहरुको अनुसन्धानका लागि आउने गर्दछन् । यी सबै कार्यहरुले अस्पताल र ग्रामिण स्वास्थ्य शिविरहरुलाइ दीगो बनाउन मद्दत गरेको छ ।
यी केही तथ्यांकहरुको आधारमा, मेरो २७ बर्षको अनुभव र भोगाइहरु तथा जगदीश दाइको सामिप्यताले नेपालको लागि यो उपयुक्त प्राथमिक स्वास्थ्य सेवाको मोडलका रुपमा बिकास हुदैछ । मैले भन्ने गरेको “जगदीश सामुदायिक विकास खुल्ला विश्वविद्यालय” मा यो मोडेललाई नेपाल र नेपाल जस्ता तेस्रो विश्वका मुलुकका लागि प्राथमिक स्वास्थ्य सेवा मोडेलका रुपमा विकास गर्न सकिन्छ । यो मोडेल नेपालका पहाडी र हिमाली जिल्ला अस्पतालहरुका लागि पनि उपयोगी हुनसक्छ । यो मोडेलले ब्यवहारिक सिकाइलाई सिद्धान्तहरुमा लिपीबद्ध गर्दछ र अन्य अभावका स्थानहरुमा अनुसरण गर्न सिकाउछ र गरिरहेको पनि छ ।
प्राथमिक स्वास्थ्य सेवा मोडेल का निम्न ५ ब्यबहारिक र सैद्धान्तिक आधारहरु रहनेछन्ः
१. अहिलेको तामाकोशी अस्पतालबाट प्राप्त भएजस्तै स्वास्थ्य सेवा प्रदान गर्नेछ तथा सम्भव भएसम्मका विशेषज्ञ गुणस्तरीय सेवाहरु ग्रामिण बस्तीका नागरिकहरुको पहुँचमा पुर्याउनु पर्नेछ । सकेसम्म रोग होइन, अस्पताल हिडनु पर्दछ र सेवा गुणस्तरीय हुनुपर्दछ, भन्ने आशयको हुनेछ । यसमा सेवाको दीगोपनाका लागि स्वास्थ्य बिमा कार्यक्रम, दाताहरु, बिरामी, स्थानीय सरकार, कसै न कसैको योगदान रहनेछ । यसले गाउँलाई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्था, सरकार, स्थानीय सरकार र ब्यक्तिहरुसँग जोडने काम गर्नेछ । यसले अन्तर्राष्ट्रिय तथा देशका विद्यार्थीहरुलाई अनुसन्धान र सिकाइका लागि मद्दत गर्नेछ ।
२. रोगबाट ग्रसित नागरिकहरुको घरदैलोमा पुगेर राष्ट्रिय तथा अन्तराष्ट्रिय विशेषज्ञहरु र साधन श्रोतको उपयोग गरी ग्रामिण नागरिकहरुको स्वास्थ्य समस्याहरु र यसमा प्रभाव पार्ने तत्वहरुको उत्खनन, जागरण, प्रसारण, सरोकारवालाहरुसँग योजना तर्जुमा, कार्यान्वयन, मूल्याकंन गर्ने र सिकाइहरु अन्य स्थानहरुमा बिस्तार गर्नेछ । यस अनुरुप हरेक बर्ष झण्डै ३ हजार रोगीहरुको जाँच, उपचार, परामर्श र रेफर गरिन्छ र यसमा स्थानीय क्लव, संस्थाहरु, स्वयंसेवीहरु, स्थानीय सरकारहरुको प्रत्यक्ष संलग्नता रहन्छ । यसले आफ्नो समुदायको स्वास्थ्य सेवामा आफै जिम्मेवार ढंगले स्वयंसेवा गर्ने र समुदायलाई मायाँ गर्ने बानीको विकास भएको छ र स्वयंसेवी अभियानलाई टेवा पुर्याएको छ ।
३. दुर्गम स्थानहरु जहाँ स्वास्थ्य सेवा पुर्याउन सकिएको छैन, स्थानीय संस्थाहरु र सरकारहरुसँग मिलेर स्वास्थ्य संस्थाहरुको निर्माणमा सहयोग गर्नेछ । हालसम्म मन्थली केन्द्रको सेवा घेराभित्र पर्ने सिन्धुली, रामेछाप र ओखलढुङ्गाको ४ स्थानहरुमा तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्रको मद्दतले ग्रामिण आँखा क्लिनिकहरु र एक स्थानमा विद्यालय भित्र दाँत अस्पतालको विस्तार गरिएको छ, जुन नेपालकै पहिलो नमूनाको रुपमा रहेको छ । दाँत अस्पतालका लागि रोटरी मित्र जर्मन डेन्टिस डा. जोन एडर्सनको ब्यक्तिगत तथा उनको रोटरी क्लव मिल्टेन बर्ग र हाम्रो रोटरी क्लव काभ्रे बनेपाको सहयोग प्राप्त छ । समाज कल्याणका लागि आपूmले सिकेको सिकाइहरुलाई विस्तार गर्दै अपुग स्थानहरुमा सेवा गर्न मद्दत गर्नुपर्दछ ।
त्यस्तै यहाँको सिकाइबाट सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँ पालिकामा इटालियन संस्थाको सहयोगमा जयनेपाल नामक संस्थाले वोडगाउँ स्वास्थ्य केन्द्र सञ्चालीत छ । जसमा मेरो संलग्नता बोर्ड अफ डिरेक्टर (सल्लाहकार) का रुपमा रहेको छ । यस संस्थाले गाउँको स्वास्थ्यमा प्रभाव पार्ने सबै अवयवहरुमा गाउँकै युवापुस्ताहरुको स्वयंसेवी भूमिका मार्फत कार्य गरिरहेको छ । जुन एक अनुकरणीय कार्यक्रमका रुपमा विकसित हुदैछ । हाल रामेछाप नगरपालिकाबाट सञ्चालीत समुदायमा आधारित स्वास्थ्य कार्यक्रमहरु तथा अन्य साना ठूला स्वास्थ्य संस्थाहरुमा सल्लाह प्रदान गरिरहको छौ । अन्य स्थानीय संस्थाहरुबाट सञ्चालीत साना स्वास्थ्य संस्थाहरु र योजना बनाइरहेका संस्थाहरुलाई प्राबिधिक तथा ब्यबस्थापकीय सरसल्लाह र सहयोग प्रदान गरिरहेको छांै ।
४. नेपालमा स्वास्थ्य सेवा ब्यबस्थापन बिषयको स्नातकोत्तर अध्यापन हुने पोखरा विश्वबिद्यालयको एक मात्र कलेज नेशनल ओपन कलेज तथा स्नातक विषयका विद्यार्थीहरुलाई म बाह्य परीक्षकको हैसियतले र अध्यापन गर्ने र परीक्षा लिने तथा स्वास्थ्य सेवा ब्यबस्थापन विभागको सल्लाहकारका रुपमा कार्य गर्दैछु । यो विषयमा देशभरका विभिन्न ठूला तथा साना अस्पतालहरुका विशेषज्ञ चिकित्सकहरु तथा स्वास्थ्य ब्यबस्थापन विषयका विद्यार्थीहरु जो निर्देशकका भूमिकामा छन्, या भूमिका निर्वाह गर्न लागेका छन् , लगायत अन्य विषयका विद्यार्थीहरु अध्ययनका लागि आउदछन् । मेरो रामेछापका अनुभवहरुको सम्प्रेशणबाट उहाँहरुलाई अर्को किसिमको प्रेरणा प्राप्त भएको महसुस गरिएको छ ।
Think Globally Act Locally भन्ने बिचारलाइ चरितार्थ गर्न यो मोडेलको महत्व छ । यसरी विश्वविद्यालयहरुमा हाम्रा भोगाइ र सफल सिकाइहरुलाइ पढाएर राष्ट्रलाई योगदान गर्ने पनि यो मोडेलको लक्ष्य हो ।
५. मेरो सधै मान्यता रहन्छ कि मैले दिने समयहरु र कामले संस्थाको आर्थिक दीगोपनालाई टेवा दिनुपर्दछ । जुन जगदीश दाइको विकासको सिद्दान्तको सबै भन्दा महत्वपूर्ण दर्शनका रुपमा रहेको छ, हरेक विकास आफैमा दिगो हुने संकल्प र योजनासाथ जन्मनु पर्दछ । यस अनुरुप मेरो लक्ष्य कम्तीमा दिन, महिना र बर्षमा किटान छन् ।
हरेक दिन हरेक क्षणमा मेरो कामले कति उपलब्धी दिनुपर्दछ, त्यो प्राप्ति भयो भएन भनेर म आफैलाई मूल्यांकन गर्दछु । मैले प्राप्त गर्ने आर्थिक लाभ कुनै न कुनै किसिमले मैले संस्थालाई निरन्तर उपलब्ध गराइरहनु पर्दछ , तब संस्थाले मलाई दिन सक्दछ भन्ने मेरो विश्वास हो । हरेक दिनको, महिनाको र बर्षको आफ्नो लक्ष्यलाइ मैले नियाली रहन्छु र निरन्तर यसको परिमार्जन आवश्यक भए, त्यसलाइ सच्याउछु । संस्थाका हरेक विभागहरु र त्यसमा कार्यरत कर्मठ कर्मीहरुले यसो गरोस भन्ने मेरो कामना रहन्छ । हरेक कर्मीको कर्मले आपूmलाई पाल्ने आम्दानी, या संस्थाको ध्येयको परिपूर्ति, अथवा प्रत्यक्ष समाज कल्याणको कार्य गर्नु पर्दछ । यो महत्वपुर्ण दर्शनका रुपमा रहनेछ र यसले कालान्तरसम्म हरेक संस्थाहरुलाई दीगो राख्नेछ ।
कुनै पनि दिन यदि मैले गरिरहेको काम र अनुभवबाट नयाँ बिचार उमार्न सकिन, त्यसलाई प्रस्ताव पत्रमा ढाल्न सकिन र मेरो स्वदेशी र बिदेशी मित्रहरुलाइ संप्रेशण गर्न सकिन भने मलाई त्यो रात निद्रा कम आउँछ । त्यस्तै यो प्रयासले मेरो अस्पतालभित्रको कामबाट प्राप्त आम्दानी बाहेक महिनाको सालाखाला २ देखि ५ लाख बराबरको योगदान अस्पताललाई दिन सकिन भने बर्षको अन्तमा खल्लो महसुस हुन्छ । तर कसैकसैलाई मेरो कामका बारेमा गलत टिका टिप्पणी गर्न नपाएको दिन रातमा निद्रा नपरेको पनि भान हुन्छ । तर म सकारात्मक बिचारहरुको सदैव स्वागत गर्छु र सो अनुरुप अघि बढछु । किनभने मलाई म भन्दा मिसन प्यारो छ ।
२० बर्ष अघि बर्षको डेड लाखको हिसाव किताब भएको अस्पतालमा तासेस, मन्थली बचत तथा ऋण सहकारी संस्था र सबै स्वदेशी तथा बिदेशी मित्र र संस्थाहरुको सहयोगले कुनै दिन डेढलाखको हिसाब नाघेको देख्दा सन्तुष्टी मिल्छ । नेपालमा अस्पताललाई दीगो रुपमा चलाउन कठिन भएको परिप्रेक्ष्यमा यो दुर्गम भागमा पनि अस्पताल यो रुपमा आइपुग्दा सफलताको महसुुस हुन्छ । तर यी टिकाटिप्पणीहरु मेरो ब्यक्तित्व र सीप विकासका लागि उर्जा प्रदान गर्ने र भगवानको बरदान जस्तो सावित भएको छ । प्रयास असल मानिस हुने हो, ठूलो मानिस होइन । जगदीश दाइले पनि कामका सिलसिलामा धेरै नै बाधाहरु र टिकाटिप्पणी भोग्नु परेको अन्तर्मनको यात्रा पढदा पनि थाहा लाग्दछ र हामीलाई पनि ब्यक्त गर्नु हुन्थ्यो । यो हरेक समाजको एउटा नियति होला जस्तो लाग्छ ।
संक्षेपमा, तामाकोशी सेवा समितिले दीगो विकासको रामेछाप नमूनालाई देशको कुनाकाप्चा फैलाउदै प्रेरणा दिनुपर्दछ र अझै नयाँ मोडेलको बिस्तारसँगै ग्रामिण बस्तीहरुमा प्रबेश गर्नुपर्दछ । यसले जन्माएका मन्थली बचत तथा ऋण सहकारी संस्थाले जनताको आर्थिक उन्नतिको साथी बन्न अग्रणी भूमिका निभाउनु पर्दछ । तामाकोशी अस्पतालले गरिब जनताहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै नेपालका ग्रामिण भेकमा यस्ता सेवा विस्तारमा प्रेरक बन्नु पर्दछ । जगदीश घिमिरे प्रतिष्ठानले देशको साहित्य र कलाको उत्थान साथै जगदीश घिमिरेका तिखा कलमले जस्तै समाजको बिसंगति बिरुद्ध आवाज उठाउनु पर्दछ र तामाकोशी पुस्तकालयले ग्रामिण पुस्तकालयहरु खोल्न प्रेरणा र टेवा प्रदान गर्न सक्नु पर्दछ जसलबाट जगदीश मिसन सफल हुनेछ ।
(लेखकः तामाकोशी अस्पतालका निर्देशक, स्वास्थ्य सेवा ब्यवस्थापन विशेषज्ञ हुन् ।) मन्थली, रामेछाप, २०७६ पुस, फोन नं ९८४१ ४००२७१, [email protected]_

प्रतिकृया

Add