कृषकलाई मल दिने नाउमा सहकारीको ठगि धन्दा

 आइतवार, असार २८, २०७७ | onlinenews

२८ असार, रामेछाप– खाँडादेवि गाउँपालिका–४ का कृषकलाई यूरिया मल घरघरमै ल्याइदिने भन्दै स्थानीय सहकारीले पैसा उठाएर मल नदिएको कृषकहरुले गुनासो गरेका छन् । मकैमा हाल्नको लागि घरघरमै मल ल्याइदिने भनि चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड पकरबासले गत चैत्र महिनामा कृषकहरुसँग पैसा उठाएको थियो ।
सहकारीले ५० केजीको मल प्रतिबोरा १ हजार रुपैयाँको दरले घरमै ल्याइदिने भन्दै स्थानीय कृषकहरुसँग २ लाख ५२ हजार रुपैयाँ पैसा उठाएको स्थानीय कृषक लक्ष्मीप्रसाद कडेलले बताए । सहकारीले पैसा उठाए पनि मल नदिएको उनको गुनासो छ ।
सहकारीले घरघरमै मल ल्याइदिने भनेपछि हामीले पैसा दियौं तर आजसम्म पनि मल आएको छैन अर्का कृषक कृष्णप्रसाद सिवाकोटीले भने । मकैमा हाल्नको लागि मल ल्याइदिने भनेर पैसा उठाए, मकै भित्र्याउने बेलामा पनि मल नआउने भयो, शिवाकोटीले गुनासो गरे ।
घरमै मल आउने भयो भनेर सहकारीलाई पैसा दिंदा आपूmहरु ठगिमा परेको कृषकहरुको गुनासो छ । कृषकसँग उठाएको पैसाबाट सहकारीले मल ल्याएको तर पैसा तिर्ने कृषकलाई नदिएर अरुलाई नै बिक्री गरेको कृषकहरुको आरोप छ ।
मल ल्याएर पनि सहकारीले पैसा तिर्ने कृषकहरुलाई नदिएपछि आपूmहरु एक बोरा मललाई १ हजार ८ सय रुपैयाँसम्म तिरेर किन्न बाध्य भएको कृषक लक्ष्मीप्रसाद कडेलले बताए । उनले भने– सहकारीले हामीसँग पैसा उठाएको बेलामा बोराको १ हजार रुपैयाँमा बजारमा मल किन्न जतिपनि पाइन्थ्यो तर पछि हामीले १ हजार ८ सय रुपैयाँ तिरेर मल किन्नुप¥यो ।
सहकारीले ल्याएको मल केही ब्यक्तिहरुलाई दिइयो त्यो पनि एक हजार तिर्नेलाई १० केजी र दुई हजार तिर्नेलाई २० केजी दिइयो उनले भने ।
सहकारीले स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गरेर पैसा उठाएको थियो । पत्येक टोलका एकजना ब्यक्तिलाई प्रतिनिधि तोकेर पैसा संकलन गरिएको थियो । टोलबाट उठाएको पैसा स्वास्थ्य स्वयंसेविका मार्फत सहकारीलाई बुझाइएको पकरबास पुरानागाउँ टोलका पैसा संकलक राजमीप्रसाद खरेलले बताए । आफूले टोलबाट २५ हजार रुपैयाँ पैसा उठाएर सहकारीलाई दिएको उनको भनाई छ । सहकारीले पैसा लगेर मल नदिंदा टोलमा आपूmलाई अप्ठ्यारो भएको खरेलले बताए ।
मकैमा मल हाल्ने बेलासम्म पनि सहकारीले मल नदिएपछि एक बोरा मलको १ हजार ८ सय रुपैयाँ तिरेर खरिद गर्नुपरेको कृषक बासुदेव कडेलले गुनासो गरे । पैसा नहुने कृषकहरुले छीमेकीसँग पैँचो लिएर मकैमा मल हाले तर सहकारीले मकै भित्र्याउने बेलासम्म पनि मल दिएको छैन उनले भने । आपूmसँग भएको पैसा मल घरमै आउने आशमा सहकारीलाई दिइयो, अहिले मल किन्ने पैसा नभएर छीमेकीसँग लिएको पैँचो मल समेत फिर्ता गर्न सकिएको छैन कृष्णप्रसाद शिवाकोटीले दुखेसो गरे ।
कृषकहरुसँग पैसा उठाएर मल दिन नसकेको सहकारीकी अध्यक्ष रमा भण्डारीले स्वीकार गरिन् । कृषकहरुसँग २ लाख ५२ हजार रुपैयाँ पैसा  संकलन गरिएको स्वीकार गर्दै अध्यक्ष भण्डारीले भनिन् लकडाउनको कारण हामीले कृषकलाई मल दिन सकेनौ ।
मकैको लागि मल दिन नसके पनि धानको लागि मल दिने उनले बताइन । साथै कृषकहरुले पैसा फिर्ता लान चाहेमा पैसा फिर्ता गर्न पनि सहकारी तयार रहेको उनले बताइन ।
बचत तथा ऋण सहकारी संस्थाले मल खरिद बिक्री गर्नु अवैधानिक हुन्छ । बचत तथा ऋण सहकारी संस्थाले मल खरिद बिक्री गर्न पाउँने कानूनी ब्यवस्था नभएको भन्दै सहकारीले कृषकलाई मल दिने नाउँमा गठि धन्दा चलाएको स्थानीयको आरोप छ ।

प्रतिकृया

Add