सडक निर्माणमा अनुदान भन्दा बढी उपभोक्ताको लगानी

 मङ्लबार, चैत्र ८, २०७३ | onlinenews

रामेछाप÷ रामेछापको सदरमुकाम मन्थलीबाट ३५ कि.मि पूर्वदक्षिणमा पर्ने रामपुरको लिना टोलमा गाविसको अनुदान भन्दा बढी रकम जुटाएर स्थानीयले सडक निर्माण गरेका छन् ।
स्थानीयले रामपुरको चारघरे गरतार घुम्तीबाट लिनाटोलसम्म २ किलोमिटर सडक निर्माण गरेका हुन् । विकास निर्माणमा पछि परेको सो मगर बस्ती पृथ्वीनारायण शाहले वि.स. १८२६ को नेपाल एकीकरण पूर्व भोटबाट एकघर पिठाकोटे मगर आई लिनामा बस्ती बसालेका थिए ।
अहिले सो टोलमा ३६ घरधुरी मगर समुदायको बसोबास छ । बस्तीको दायाँ र बाँया रहेको चारघरे र रामपुर भञ्ज्याङको विकासले फड्को मारे पनि प्राचिन बस्तीको रुपमा परिचीत लिना बस्तीको अवस्था भने जहाँको त्यही छ ।
८ वर्ष पहिले नै रामपुर भञ्ज्यांङ्ग र ६ वर्ष  पहिले चारघरेसम्म सडक सञ्जाल जोडिनुका साथै विद्युत लाइन पनि बिस्तार भइसकेको छ । लिना बस्तीमा गत फागुनमा सडक पुगे पनि विद्युत भने अझै विस्तार हुन सकेको छैन ।
पाँच वर्ष पहिले नै लिनाबासीले सडक निर्माणको प्रयास गरेका भए पनि  जग्गा विवादको कारण सडक निर्माण हुन सकिरहेको थिएन । भूकम्पपछि पुनःनिर्माणको सामाग्रि ढुवानीको क्रममा कठिनाई भएपछि लिनाबासी आफैले सडक निर्माणमा चासो दिएका हुन् ।
सो सडक निर्माण गर्न ८ लाख ४६ हजार २ सय ६५ रुपैयाँ लागेको सडक निर्माण उपभोक्ता समितिले बताएको छ । जसमा ४ लाख रुपैयाँ तत्कालीन गाविसबाट विनियोजन गरिएको थियो भने बाँकी ४ लाख ४६ हजार २ सय ६५ रुपैयाँ स्थानीय आफैले जुटाएको पनि समितिले जनाएको छ ।
सडक निर्माणको लागि वैदेशिक रोजगारीमा रहेका तौले मगर र दिपक मगरले प्रतिब्यक्ति ५० हजार रुपैयाँ नगद सहयोग गरेका छन् । त्यसैगरी झगरेशिद्ध सामुदायिक बनले ५० हजार, जागरुक यूवा समाजले २५ हजार रुपैयाँ सहयोग गरेको छ । बाँकी अपुग रकम भने उपभोक्ता आफैले जुटाएकको उपभोक्ता समितिका सचिव हिरालाल मगरले बताए ।
सडक निर्माण पछि अहिले दैनिक चारपाँच वटा ट्याक्टर गुड्ने गरेकोे मगरले बताए । पुनःनिर्माणको लागि बालुवा, सिमेन्ट, गिटी, रड लगायतका निर्माण सामाग्री ढुवानीमा सडकले मद्दत पु¥याएको पनि उनले बताए ।
घर निर्माणको लागि सदरमुकामबाट ट्यांकरमा पानी ढुवानी गर्दै आएका लिनाबासीको लागि गाउँमा सडक पुगेपछि झार्ती खोलाको पानी पुनःनिर्र्माणमा प्रयोग गर्न सकिने समितिका अध्यक्ष कोमलदाश श्रेष्ठले बताए । गाउँमै सडक पुगेपछि उत्साहित भएका स्थानीयले स्काभेटर लगाएर धमाधम घडेरी खार्ने र घर निर्माणको काममा समेत जुटेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

प्रतिकृया

Add