चरन क्षेत्रको अभावमा शैलुङ्गको चौरी पालन ब्यवसाय संकटमा

 बुधबार, कार्तिक ५, २०७७ | onlinenews
Share this

५ कार्तिक, रामेछाप– दोरम्बा गाउँपालिकामा पर्ने शैलुङ्ग क्षेत्रमा वर्षौदेखि चौरी पालन गर्दै आएका किसानहरु चरन क्षेत्रको अभावले समस्यामा परेका छन् । चरन क्षेत्रको रुपमा प्रयोग गर्दै आएको स्थानीय गोदावरी सामुदायिक बन र कालिन्चोक सामुदायिक बनले चरिचरणमा रोक लगाएपछि चौरी पालक किसानहरु समस्यामा परेका हुन् ।
किसानले निजी खरबारीलाई चरन क्षेत्र बनाए पनि चरन क्षेत्र पर्याप्त नहुँदा शैलुङ्ग क्षेत्रमा चौरी पालन ब्यवसाय नै लोप हुने अवस्थामा पुगेको छ । शैलुङ्ग क्षेत्रमा आलू बाहेकको अन्नबाली नहुने भएकाले पुस्तौंदेखि चौरीको दूध, घ्यू, छुर्पी, चिज लगायतका दूधबाट उत्पादन हुने परिकार बिक्री गरेर घर चलाउदै आएका त्यस क्षेत्रका स्थानीयको रोजीरोटी नै संकटमा परेको छ । चौरीको लागि चरन क्षेत्र पर्याप्त नहुँदा चौरी पालन ब्यवसाय नै छोड्नु पर्ने अवस्था आएको त्यहाँका चौरी पालक किसान लालबहादुर योञ्जनले बताए ।
शैलुङ्ग क्षेत्रका किसानहरुले ब्यवसायिक रुपमा ३ सय वटा चौरी गाई पाल्दै आएका छन् । चरन क्षेत्र बन्द भएपछि ब्यवसायिक रुपमा चौरी पाल गर्न सकिने अवस्था नरहेको किसानको गुनासो छ ।
गत आर्थिक वर्षमा पनि चौरी पालन ब्यवसायिको लागि बजेट विनियोजन गरेर कार्यान्वयन भएको र चालू आर्थिक वर्षमा चौरी पालनको लागि सहयोग गर्न गाउँपालिकाले बजेट विनयोजन गरेको दोरम्बा गाउँपालिका उपाध्यक्ष कृशला घिसिङले बताइन । आवश्यकता हेरेर चौरीको गोठ निर्माण र चरन क्षेत्रको तत्काल व्यवस्थापन गर्ने पनि गाउँपालिकाले पहल गर्ने उपाध्यक्ष घिसिङले बताइन ।
चौरी पालन ब्यवसायमा स्थानीय सरकारले सहयोग गरेको बताइरहँदा चौरी पालक किसानले भने सरकारले बेवास्ता गरेको गुनासो गरेका छन् ।

Share this

प्रतिकृया

Add