रामेछाप नगरपालिकामा भलिबल मैदान सहितको कवर्ड हल बन्दै

 आइतवार, पुस २६, २०७७ | onlinenews

रामेछाप– रामेछाप नगरपालिका–७ सुकाजोरमा निर्माण हुन लागेको कवर्ड हलको शिलान्यास गरिएको छ । १ सय ९ फिट लम्वाई र ८६ फिट चौडाई रहने कवर्ड हलको शिलान्यास आइतबार रामेछाप नगरपालिका प्रमुख नर बहादुर थापामगरले गरेका हुन् ।
शिलान्यास कार्यक्रमलाई संवोधन गर्दै नगर प्रमुख नरबहादुर थापामगरले रामेछाप नगरपालिकाको रणनैतिक योजना अन्तर्गत कवर्ड हल निर्माण हुन लागेको बताए ।
कवर्ड हलको डिपीआर गर्ने क्रममा नगरपालिकाले विशेष भूमिका निर्वाह गर्नु परेको स्मरण गर्दै नगर प्रमुख मगरले भने–डिपीआर नभएको भए यस्तो सुविधा सम्पन्न कवर्ड हल निर्माण गर्नु सम्भव थिए । नगरपालिकाले मात्रै यो कवर्ड हल निर्माण गर्नु सम्भव थिए डिपीआर भएकै कारण संघबाट समपुरक कार्यक्रम अन्तर्गत ५० प्रतिशत बजेट आएपछि कवर्ड हलको शिलान्यास गर्न सम्भव भएको हो नगर प्रमुख मगरले भने ।
नगरपालिकाको रणनैतिक योजना अन्तर्गत पर्यटकीय क्षेत्रमा भालुखोपमा भ्यूटार निर्माण भइरहेको र कवर्ड हल पनि नगरपालिकाको गौरवको आयोजना भएको बताए । नगरपालिकाको रणनैतिक योजना अन्तर्गत नै एक वडा एक खेल मैदान कार्यक्रम अनुसार प्रत्येक वडाहरुमा साना खेल मैदान निर्माणको काम भइरहेको पनि उनले जानकारी दिए । अन्य वडाहरुमा भने भौगोलिक तथा अन्य कारणहरुले सुविधान सम्पन्न कवर्ड हल बन्न नसक्ने नगर प्रमुख मगरको भनाई छ ।


त्यसैगरी रामेछाप नगरपालिका उपप्रमुख शृजना खड्काले नगरपालिकाले सोचे भन्दा पनि बृहत खालको कवर्ड हल बन्न लागेको भन्दै यो रामेछाप नगरबासीको लागि गैरवको कुरा भएको बताइन । भन्न त कसैले मैले बनाएको हो भन्लान तर यससलाई हामीले नगरको गैरवको आयोजनाको रुपमा लिएका छन् उपप्रमुख खड्काले भनिन् ।
कवर्ड हल निर्माण कार्यलाई तोकिएको समयमै सम्पन्न गर्नको लागि सबैको साथ सहयोग चाहिने भन्दै निर्माण ब्यवसायिलाई नगरपालिका र सम्बन्धित वडाको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने पनि उपप्रमुख खड्काले प्रतिवद्धता जनाएकी छन् ।
रामेछाप नगरपालिका वडा नं. ७ का अध्यक्ष समिर कार्कीले कुनै पनि कामको सुरुवा गर्नु भन्दा पनि अन्तिम रुप दिन महत्वपूर्ण हुने भन्दै निर्माण ब्यवसायिले कवर्ड हल निर्माण कार्य समयमै सम्पन्न गर्नेमा विश्वास ब्यक्त गरे । कवर्ड हल निर्माणको विषयलाई लिएर यस अघिका दिनमा तिता मिठा जेजस्ता कुरा भए पनि अब भने वडाको लागि खुसीको दिन सुरुवात भएको वडा अध्यक्ष कार्कीको भनाई थियो ।
कवर्ड हल भित्र ५ हजार ३ सय २२ स्क्वायर फिटको भलिबल मैदान, फिटनेश (जिम) कक्ष, दर्शक सिट र अथिति स्टेज रहने इन्जीनियर कुशुम भट्टराईले जानकारी दिए । त्यसैगरी महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय रहने पनि भट्टराईले बताए । कवर्ड हल निर्माणको जिम्मा ४ करोड ५३ लाख ६५ हजार ४ सय ३३ रुपैयाँमा सम्पन्न गर्ने गरि सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रा.लि.ले पाएको छ । तोकिएको समयमा निर्माण कार्य सम्पन्न भएमा २०७९ साल असार मसान्त सम्ममा कवर्ड हलले पूर्णता पाउने छ ।

प्रतिकृया

Add