अपचलन गरिएको रकम फिर्ता भएपछि पारित भयो लेखापरीक्षण प्रतिवेदन

 मङ्लबार, फाल्गुन १८, २०७७ | onlinenews
Share this

रामेछाप– विद्यालयको रकम अपचलन भएपछि ९ वर्षदेखि पारित हुन नसकेको काकलिङ्ग माध्यमिक विद्यालय दोरम्बाको लेखा परीक्षण प्रतिवेदन पारित भएको छ । अपचलन भएको विद्यालयको रकम फिर्ता भएपछि अभिभावकहरुको आम भेलाले विद्यालयको लेखा परीक्षण प्रतिवेदन पारित गरेको हो । सार्वजनिक लेखा परीक्षण मार्फत अनुमोदन गरिएको विद्यालयको लेखा प्रतिवेदनमा अपचलन भएको विद्यालयको रकम फिर्ता भएको उल्लेख छ ।
लेखा परीक्षण प्रतिवेदनमा तत्कालीन प्रधानाध्यापक कविन्द्र तामाङले ७ लाख १ हजार ५ सय रुपैयाँ हिनामिना गरेको रकम मध्य ३ लाख रुपैयाँ विद्यालयको खातामा फिर्ता गरिसकेको र बाँकी ४ लाख १ हजार ५ सय रुपैयाँ उनको तलबको ५० प्रतिशतका दरले कटाई असुलउपर गरिने उल्लेख छ ।
त्यसैगरी काकलिङ्ग माध्यमिक विद्यालयको तत्कालीन लेखापाल हरिराम योञ्जनको नाममा बेरुजु रहेको ६ लाख ५४ हजार १ सय ८१ रुपैयाँ पनि विद्यालयको खातामा फिर्ता भइसकेको सार्वजनिक लेखा परीक्षण कार्यक्रममा जानकारी गराइएको छ । २०६९ सालामा विद्यालयको भवन निर्माणको लागि तत्कालीन जिल्ला शिक्षा कार्यालय मार्फत गएको २४ लाख रुपैयाँ बजेटबाट तत्कालीन प्रधानाध्यापक र लेखापालले १३ लाख ५५ हजार ६ सय ८१ रुपैयाँ बजेट अपचलन गरेका थिए ।
उक्त रकम मध्य ९ लाख ५४ हजार १ सय ८१ रुपैयाँ विद्यालयको खतामा फिर्ता भइसकेको र बाँकी ४ लाख १ हजार ५ सय रुपैयाँ तत्कालीन प्रधानाध्यापक कविन्द्र तामाङको मासिक तलबबाट ५० प्रतिशतका दरले कटाएर असुलउपर गरिने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनलाल योञ्जनले जानकारी दिए ।
गाउँपालिका भित्रको धेरै विद्यालयहरुमा आर्थिक अनियमितता भएको कुरा आउने गरेको भन्दै त्यसले गाउँपालिकालाई निकै चिन्चित बनाउने गरेको दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिं मोक्तानले बताए । विद्यालय ब्यवस्थापन समिति गठन नुहँदा र अभिभावकले विद्यालयमा निगरानी नराख्दा आर्थिक हिनामिना हुने र शैक्षिक गुणस्तर कम्जोर हुने गरेको गाउँपालिका अध्यक्ष मोक्तानको भनाई छ ।
विद्यालयलाई पारदर्शी र शैक्षिक गुणस्तरको लागि विद्यार्थी अनुशासीत, शिक्षकहरु जिम्मेवारपूर्ण हुनुका साथै अभिभावकले पनि शैक्षिक तथा आर्थिक गतिविधिमा निगरानी गर्नुपर्ने अध्यक्ष मोक्तानको भनाई छ । लामो समयपछि भए पनि काकलिङ्ग माध्यमिक विद्यालय दोरम्बाको आर्थिक हिसाबकिताब परादर्शी भएको भन्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनलाल योञ्जनलाई अध्यक्ष मोक्तानले धन्यवाद ज्ञापन गरे ।
२०७२ सालको भूकम्पले क्षति भएको दोरम्बा गाउँपालिकाभित्र रहेका विद्यालयहरुको पुनर्निर्माणको काम आगामी एक वर्षभित्रमा पूर्णरुपमा सम्पन्न भइसक्ने पनि अध्यक्ष मोक्तानले बताए । विवादीत बनेको विद्यालयको आर्थिक पक्ष पारदर्शी भएको भन्दै आगामी दिनमा विद्यायल शैक्षिक गुणस्तर बृद्धिमा लागिपर्ने प्रधानाध्यापक सुजन श्रेष्ठले बताए । आर्थिक रुपमा पारदर्शी भएपछि अब विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुने अभिभावक तथा स्थानीय सरोकारवालाहरुको भनाई छ ।

Share this

प्रतिकृया

Add